✍️ विनेश राई ‘मिन्जाई’
गीत – एक
अप्सरा नै भन्छौ भने मख्खै परिदिउँला
तर जिस्क्याउन आयौ भने आँखा तरिदिउँला
यति धेरै आँखाहरू कस्को रोजूँ पैले
एउटालाई त रोज्नै पर्छ जिन्दगीमा मैले
कोहिनूर नै भन्छौ भने दङ्गै परिदिउँला
तर जिस्क्याउन आयौ भने आँखा तरिदिउँला
मन मिल्ने सहयात्री भेटिने हो कैले
तर मलाई डोली चढ्ने छैन रहर अैले !
मोनोलिसा नै भन्छौ भने मख्खै परिदिउँला
तर जिस्क्याउन आयौ भने आँखा तरिदिउँला
गीत – दुई
टाढा हुनु कसरी दुईदिन माया लाएर
संगै जिउने मर्ने बाचा कसम खाएर !
नागबेली भई आउने तिम्रा सम्झनाहरू
सम्हाल्न सक्दिन म ती मृगतृष्णाहरू !
कहाँ सुसाउँ म एक्लै खोलाझैं गीत गाएर
संगै जिउने मर्ने बाचा कसम खाएर !
दुई पाइला भएपनि सँगसँगै हिडूँ भन्छु
मायाका सागरहरू सँगसँगै तरुँ भन्छु !
कहाँ रमाउँ म एक्लै कुन सहरमा गएर
सँगै जिउने मर्ने बाचा कसम खाएर !
प्रतिक्रिया
-
४
