✍️ महेश पौड्याल
किवहरू कि पूरै रुमानी हुन्छन् र हार्दिकताको जगमा कल्पनाशीलता बोकेर उभिन्छन् । सौन्दर्यसँग रमाउँछन्, भावनाको संसारमा विचरण गर्छन्, प्रकृतिको रङ्गमा रँगिन्छन्, भावतरङ्गहरूमा तरङ्गित हुन्छन् र रसहरूको सन्धान गर्छन् । कोही भने यथार्थवादी हुन्छन् र तर्कहरूको जगमा जीवन र जगतको तद्रूप चित्रण बोकेर उभिन्छन् । तर्क गर्छन्, विद्रोह गर्छन्, विचार बोक्छन्, प्रश्न गर्छन्, प्रहार र उच्छेदन गर्छन् । थोरै कवि आफूलाई यी दुवै पटमा हिँडाउँछन्, उभ्याउँछन् । तिनमा हृदय विलास र मस्तिष्क विलासको अनौठो संयोजन भेटिन्छ । मेरो मूल्याङ्कनमा यी दुई वैचारिक मार्गमा समानान्तर उभिने एक कवि हुन् राधिका कल्पित ।
राधिका कल्पितलाई हाम्रो समयले लामो समयदेखि पढ्दै आएको छ । तर उनको कविताहरूको एकीकृति स्वरूप भने ‘बरफका कोइलाहरू’ शीर्षकको कविता–सङ्ग्रह बनेर हामीसामु आएको छ । विपर्यास अलङ्कारको एउटा सुन्दर मिसाल हो पुस्तकको शीर्षक ‘बरफका कोइलाहरू’ आफैँमा । यस्तो संयोजनलाई अङ्ग्रेजीमा ‘ओक्जिमोरोन’ पनि भन्छन् र यो विपर्यासको एउटा सुन्दर प्रयोग हो ।
स्वच्छन्द र यथार्थवादी, यानि भावप्रधान र तर्कप्रधान दुवै थरिका कविता बोकेर आएको हुनाले ‘बरफका कोइलाहरू’ ले हामीलाई कवि राधिका कल्पितका दुई काव्यिक पटहकरूको तुलनात्मक अध्ययन गर्ने मौका पनि दिन्छ, र पाठकसँग त्यो स्वतन्त्रता छ नै । उनका कवितामाथि सर्सरी एउटा विहगको जस्तो दृष्टिक्षेप गर्दा के देखिन्छ भने, उनका भावप्रधान कविता थोरै छन्, तर कला, बुनोट, सौन्दर्य र कथ्यका दृष्टिले ती नै यस सङ्ग्रहका सुन्दरतम कविता हुन् । तर्कप्रधान, यानि यर्थावादी कविता विशेषतः लैङ्गिक सम्बन्ध र नारी अस्तिमा र अधिकारका वरिपरि बुनिएका छन्, र उनका धेरैजसो यस्ता कविताहरू थुप्रै प्रश्नहरू लिएर उभिएका छन् । तर तिनमा वैचारिक सन्तुलन र तटस्थताको अभाव छ ।
जहाँसम्म स्वच्छन्द, रुमानी र भावप्रधान कविताको प्रश्न छ, राधिका कल्पितभित्रको कवित्वलाई यस्ता कविताले बढीभन्दा बढी न्याय गर्न सकेको प्रतीत हुन्छ । यस्ता केही प्रतिनिधि कविताको विवेचना गरौँ । ‘आँसुका बीउहरू’ शीर्षकको एउटा भावनात्मक कविता छ सङ्ग्रहमा, जो सूक्ष्म भएर पनि सङ्ग्रहभरिकै एक उत्कृष्ट कविता हो । प्रतीकात्मक र बहुअर्थी यस कवितामा, राधिका कल्पितको कल्पना र कलाको अनुपम संयोजन पाइन्छ । कविता यस्तो छ –
उहिल्यै
कतै नपाएर लुकाउने ठाउँ
खोस्रेर माटो पुरिदिएथेँ
एक पसर आँसुका बीउहरू ।
आहा! कति सुन्दर भई
फक्रिएछन्
बगैँचाभरि फूल बनेर ।
अहिले
डराउँदै–डराउँदै
ओल्टाइपल्टाई हेरिरहेछु
कतै लागेका त छैनन्
फूलका बोटमा
आँसुका दाना ?
आँसु लुकाउनुमा कुनै पनि प्राप्ति छैन वास्तवमा, तर लुकाएका आँसु कतै कुनै माध्यमबाट सतहमा आए वा प्रदर्शित भए जे नहोस् भनिएको हुन्छ, त्यही हुने डर पनि हुन्छ । यो प्रायः सबै मान्छेको यथार्थ हो । यति सूक्ष्म आकारमा एउटा शाश्वत मानवीय भयलाई यस कवितामार्फत काव्यिक अभिव्यक्ति दिइएको छ । ‘नबन्नू नदी’ शीर्षकको अर्को कविता छ । प्रवाहमान भएर पनि आफ्ना किनार छोड्दै बग्ने नदीलाई गतिशील भएर पनि आफ्नो धरातल छोड्ने मन्छेहरूसँग परोक्ष रूपमा तुलना गरिएको छ । बहनुको नाममा सततः अग्रगामी हुने नदीले वास्तवमा आफूले छोडेका किनार, आफूले छुँदै बगेका मिनार, आफूले हात समातेर बगेका बुट्यानहरू, र आफूले लपेर टुक्रा टुक्रा पारेका बालुका कणहरूको सम्झना नै राखेको हुँदैन ।
प्रस्टै भनिएको छ – ‘नदीले कहिल्यै बुझेन÷बग्नुको अर्थ मुहान बर्सिनु होइन ।’ कविको तर्क छ- हिँडिरहेको मान्छेसँग आफ्नो र आफन्तको गरी दुईवटा छाया हुन्छन्, तर नदीसँग दुवै हुँदैन । नदीका अन्य गुण अनुकरणीय होलान्, तर आफ्नै बाटो बिर्संदै बग्ने नदीको बानी मान्छेको स्वभावमा आउनु हुँदैन भन्ने कविताको आशय पूर्णतः तर्कसङ्गत र सुन्दर छ । ‘विधवा र वर्षा’ शीर्षकको कवितामा पातला सेता वस्त्रबाट हिउँदे वर्षा छल्ने दुष्प्रयास गरिरहेकी एक निरीह विधवाको चित्रण गरिएको छ, र प्रभावशाली ढङ्गले भनिएको छ –
कता कता ढाकोस्
एकजोर हातले ?
सडक गल्लीबाट हेरिरहेछन् रमितेहरू
मानौँ सर्कस लागिरहेछ सडकमा यसरी
जसरी उग्र पर्खाइमा छन् दुर्योधन र दुशासन
द्रौपदीको सारीको फोरो सकियोस्
र उदाङ्गो बनून् उनका यौनाङ्ग ।
पातलो सेतो वस्त्रमा उभिएकी विधवा र आसन्न वर्षाबीचको द्वन्द्वलाई एक विधवाको असुरक्षित अस्तित्व र आक्रामक समाजको दुर्नियतको प्रतीकको रूपमा कविताले प्रस्तुत गरेको छ । ‘आँसु किन जम्दैन ?’ शीर्षकको अर्को कविता छ, जसले उठाएको मूलभूत प्रश्न हो- ‘के फरक छ आकाश रुनु र आँखा रुनुमा ? के फरक छ जलधारा र अश्रुधारामा ?’ कविताको पटाक्षेपमा सूक्तिमय तरिकाबाट भनिएको छः
जति चिसिए पनि यो मन
किन जम्दैन आँसु हृदयमा ?
आवरणमा सामान्य जस्ता लाग्ने यी दुई हरफमा मन्छेको भावसंसारको विचित्र स्वभाव, र दुःखको अविराम शृङ्खलाले विलक्षण अभिव्यक्ति पाएको छ ।
कल्पितका रुमानी कवितामा मान्छेको दुःखपक्षको चित्रणमात्रै छ भन्ने होइन । जीवनका संयोग र सुखहरूको पनि उस्तै मार्मिक चित्रण छ । ‘तिमीलाई भेटेपछि’ शीर्षकको कवितामा संयोगहरूको अनुष्ठान छ, तथा मिलनको जादुयी प्रभावको चित्रण छ । आवरणमा भाव सामान्य छ- माया गर्ने मान्छेलाई भेटेपछिको आह्लाद । तर यस सामान्य घटनामा टेकेर असामान्य अभिव्यक्तिहरू यस कवितकोे हाँगा हाँगामा फुलेका छन् । कतै भनिएको छ- ‘ऐनासँगको पुरानो दुस्मनी मेटिएको÷तिमीसँग नगर जुधेपछि हो ।’ अन्यत्र फेरि भनिएको छ-
आज निदाइदिऊँ एक सिङ्गो शताब्दी
ओछ्याएर यही कुरूप मानव सभ्यता
र देखौँ सुनौला सपनाहरू प्रत्येक रात
र अन्त्यमा सँगै ब्यूँझौँ
चराहरूको जीवन लिएर
उनीहरूकै आकाशमुन्तिर
जहाँ
प्रेमिल बनेर बाँच्नलाई
सोचिरहनु पर्दैन ।
वाह! प्रेमिल बनेर बाँच्न पनि सोच्नु प¥यो भने तर्क गर्नुपर्छ, वितर्क गर्नुपर्छ । अनि त्यसो भयो भने, कवि वर्डस्वर्थले भनेजस्तो हुन्छ- ‘वी डाइसेक्ट टु मर्डर’, यानि, हामी हत्या गर्नैका लागि कुनै कुराको छिद्र केलाउँछौँ । यानि, बढी सोच्छौँ, वा तर्क गर्छौं । भावनाको उच्चतम भूगोलमा तर्कको स्थान बलियो हुँदैन ।
‘म नभएको घर’ कल्पितको अर्को कल्पनाशील सिर्जना हो, जसले उनको कला र कल्पनाशक्तिको उत्कर्ष पाठकसामु प्रस्तुत गर्दछ । कवितामा कविले आफ्नै मृत्युको कल्पना गरेकी छिन्, र उनी बाँचेको हुँदा उनी जिउँदो हुनुको महत्ता नबुझ्नेहरू उनको अनुपस्थितिमा उनले धानिदिएको संसार कसरी अव्यवस्थित बन्दै गएको छ भन्ने कुराको बोध गरिरहेका छन् । जिउँदो छँदा कसैले महत्त्व नदिएकी कवि, मरेपछि जताततै विद्यमान रहेको अनुभूति हुन्छ-छोरीका आँखाभारि, छोराका मनभरि, पतिको शयनकक्षभरि । तर पनि, घर बत्ती निभेको महलजस्तै छ चकमन्न, अनि छाएको छ जताततै निःशब्द सन्नाटा ।
एउटी महिलाले, ‘अन्सङ हिरो’ भएर कसरी घरपरिवारमा प्राण भरिरहेकी हुन्छिन्, र उनको अभाव परिवारमा कसरी अस्तव्यस्तता बर्साएर जान्छ, यस कविताले बताउँछ । ‘नियति’ शीर्षकको एउटा छोटोे कविता छ जसको सौन्दर्य त्यसको शाब्दिक घनत्व र कथ्यगत स्पष्टतामा खोजिनुपर्छ । कवितामा एउटा फूलको नियतिको कल्पना गरिएको छ, जसको आभा र सौन्दर्यको प्रशंसा गरेर थाक्दैन दुनियाँ । तर कुनै दिन, जब फूल थलिन्छ, त्यसको आभा र सौन्दर्य हराउँछ, र ऊ कक्रक्क परेर फत्रक्क झर्छ, न माली उसको मलामी जान्छ, न भमराहरूले बरखी बार्छन् । यस कविताको भावविस्तारलाई मानव अस्तित्वसँग पनि लगेर जोड्न सकिन्छ, र मान्छेको स्वार्थी र उदासिन स्वभावप्रतिको तीक्ष्ण व्यङ्ग्यको रूपमा पनि बुझ्न सकिन्छ । ‘मेरो एउटा साथी’ शीर्षकको कवितमा एउटा निष्काम प्रेमीको कल्पना गरिएको छ, जसले सधैँ साथ दियो, कहिल्यै केही मागेन, र सदैव सुखदुःखको चिन्ता गरिरह्यो । तर समयसँग ऊ हरायो । सम्बन्धको बजारमा भने सधैँ जोडघटाउ गरिरहेका मान्छेहरूमात्रै भेटिए । यस्तोमा कविको निचोड यसरी सूक्ति बनेर पाठकसामु आएको छः
सम्झनालाई शतकले नखुइलाउँदो रहेछ
स्मृतिलाई दशकले नछुटाउँदो रहेछ
अझै पनि जब कोही साथीको जरुरत पर्छ
अनायास उसकै याद आउँछ
अनिकालमा पक्वान्न सम्झेजस्तै
आपतकालमा भगवान् सम्झेजस्तै ।
‘रत्नाकर डाकु हुने मन छ’ शीर्षकको अर्को कविता छ, जसको अन्तभार्व सधैँ हार र दुर्भाग्यको मात्रै सामना गरिरहन अभिशप्त एउटा मान्छेको मनोदशमा केन्द्रित छ । सामाजिक मूल्यविधान, मान्यता र भाग्यले ठगेको उक्त पात्र, मर्यादाका तमाम लाछी तारबार तोडेर, नियतिलाई पनि चुनौती दिएर उभिने कल्पना गर्छ । उसको विद्रोह बिल्कुल कवितात्मक छ र सूक्तिहरूमा अभिव्यक्त भएर आएको छ । उसका आकांक्षाहरूको तुलना आफैँमा विलक्षण कविताका बान्की हुन् –
जस्तो लाग्दो हो
नपुङशककी पतिव्रतालाई
छल गरेर कोख भर्ने रहर
जस्तो लाग्दो हो
वेश्यालाई आफ्नो नाम फेरेर घर बसाउने रहर ।
पात्रको विद्रोहको हद यस्ता हरफहरूमा अभिव्यक्त भएको छ –
१. मेटेर हातका धर्काहरू बिनाभाग्य बाँच्ने मन छ
२. सारा पाश्र्व सङ्गीत र गीतहरू बन्द गरेर
धडकनको धुनमा धुम मच्चाएर नाच्ने मन छ
यी र यस्ता अनेक सूक्तिमय हरफ, मृदु उद्गार, प्रतीकात्मक अभिव्यक्ति र विम्बात्मक प्रस्तुतिका कारण राधिका कल्पितका स्वच्छन्द, भावप्रधान र रुमानी कविता अब्बल, मनमोहक र मर्मस्पशी छन् । उनको काव्यिक उत्कर्ष यस्तै बान्कीका कविताहरूमा खोज्नु उचित हुन्छ भन्ने मेरो व्यक्तिगत ठहर छ ।
यो रह्यो बरफको कुरा । अब लागौँ कोइलातिर ।
जहाँसम्म कल्पितका यथार्थवादी, तर्कप्रधान र वैचारिक कविताको प्रश्न छ, तिनमा विषयको रेन्ज व्यापक छ । मिथकहरूको यथेष्ठ प्रयोग, समकालीन विश्वमा घटित कतिपय घनाक्रमहरूको अन्तध्र्वानिको अभिव्यञ्जना, आम महिला, विधवा र सामान्य नागरिकको सशक्तीकरणका सैद्धान्तिक र व्यवहारिक मुद्दा तथा स्थापित जीवनमूल्यहरूमाथि समयले उठाएका प्रश्नहरूले उनका वैचारिक कवितामा यथेष्ठ स्थान पाएका छन् । तिनले आम पाठकको मस्तिष्कमा धेरै प्रकारका भाव र प्रश्न उत्पन्न गर्छन् र समाज र देशमा विद्यमान अनेक विपर्यास, असमानता र विडम्बनाहरूका बारेमा गम्भीर भएर चिन्तन गर्न अभिप्रेरित गर्दछन् ।
तिनको आशय प्रस्ट र सटिक छः समाजमा न्याय र समानता स्थापित हुनुपर्छ । लैङ्गिक, शासकीय वा सामाजिक कारणले कसैले कसैको पनि शोषण गर्नु हुँदैन । यो कल्पितको पनि, र हरेक सचेत र न्यायप्रेमी नागरिकको पनि समकालीन वैचारिकी हो ।
तर, कल्पितका वैचारिक कविताको सूक्ष्म अध्ययन गर्ने पाठकले तिनमा कतिपय असावधानीहरू भेट्टाउँछन्, जुन कुरालाई कवि कल्पितले क्रमशः न्यूनीकरण गर्दै लानु पर्ने देखिन्छ । यी कुरा भन्ने जोखिम यहाँ किन पनि लिइएको छ भने, माथि विवेचना गरेअनुसार उनमा प्रचूर मात्रामा कवित्व र भाषा–ज्ञान छ, र त्यसले उचित बाटो भेट्टायो भने हाम्रो समयले एकजना शक्तिशाली कवि उनमा निःसन्देह भेट्टाउँछ भन्ने लोभ पंक्तिकारलाई छ । त्यसैले, कल्पितका कतिपय कवितामा भेटिएका भाषिक, वैचारिक, तथ्यगत त तार्किक असावधानीहरूको क्रमिक न्यूनीकरण अत्यन्त जरुरी छ ।
रुमानी कविताको प्रशंसामा केन्द्रित यस आलेखमा म कल्पितका वैचारिक कविताका कमजोरीको विस्तृत विवेचना गर्ने मनस्थितमा छैन । सङ्केतमा मात्रै भनूँ- समाजको वैचारिकीलाई साहित्यको माध्यमद्वारा भर्खरै अध्ययन गर्न थालेकाहरूलाई कल्पितका वैचारिक तर्क र अभिव्यक्तिहरू ‘वाह’ लाग्न सक्छन् तर सिद्धान्तहरूका गहन अध्येता र साहित्यिक परम्पराका पारखीहरूका लागि कल्पितका धेरैजसो वैचारिक कविता ‘आउटडेटेड नारीवाद’ को धङधङी, र त्यसमा पनि प्रथम लहरको नारीवादका प्रारम्भिकध तर्कहरूबाट मुक्त भएकै छैनन् ।
‘फ्यालेसी आफ अलनेस’ तथा ‘फेसनेबल नारीवाद’ बाट ग्रसित उनका कतिपय कविताले पुरुषहरूलाई पूर्ण रूपमा खलपात्रको रूपमा चित्रण गरेका छन् भने नारी–चित्रणमा, थाहै नपाई, कतिपय अप्रासङ्गिक स्टेरियोटाइपहरूलाई पुनः स्थान दिएका छन् । कवि कल्पितले यस्ता विभेदका जड भनेका, पुरुष–निर्मित सामाजिक र परिवारिक संरचनाका निर्देशक सिद्धान्तहरू हुन् र हस्तक्षेप तिनका उपर अथवा तिनका विरुद्ध आउनु जरुरी छ भन्ने कुराको त्यति हेक्का राखेको बुझिँदैन ।
कल्पिनका धेरै कविता नारी अस्मितामाथि केन्द्रित छन् । यो वाञ्छनीय पनि छ । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा नारी भएर बाँच्ने मान्छेले निःसन्देश धेरै अप्ठ्याराहरूको सामना गरेर आएका हुन्छन् । ती असमानता हटेर जानुपर्छ भन्ने आजका सामाजिक-राजनैतिक आन्दोलन र अभियानका मूल मुद्दाहरू हुन् नै । तर, एउटा सचेत कविले कलम लिएर कविताको फाँटमा उत्रिसकेपछि आफ्नै वा अरूका कथनहरूको पुनरावृत्ति गरिरहनुले सिर्जनशीलताको कमी छ भन्ने पोल पाठकमाझ खोल्छ नै । दोस्रो, जुन वैचारिक विषमता र सैद्धान्तिक दोषलाई चिर्ने हेतुले हामी नारीवादी बन्छौँ, प्रकारान्तले जानी नजानी तिनै विषमता र दोषको अनुमोदन गरिरहनुले हाम्रो आन्दोलन कमजोर बनाउँछ कि बनाउँदैन ?
यस्ता अनेक उदाहरण छन् कवितामा । कल्पितका कविताको वैचारिक विवेचना पनि मबाट भइदेओस् भन्ने माग भयो भने तिनका बारेमा साक्ष्यसहित बालूँला वा लेखूँला । अहिले यत्ति भनूँ- एउटा कविता सङ्ग्रह अब्बल सन्तुलित र प्रेरक हुनलाई त्यसमा कला र विचार मात्रै होइन, दृष्टिकोणको ऐक्य र सूचनाको सटिकता पनि चाहिन्छ । यसमा कवि कल्पितले गम्भीर गृहकार्य गर्नु जरुरी छ । आजको वैश्विक नारीवाद विभेदी द्विचरहरूको विनिर्माणमा केन्द्रित छ । यो अभियान विभेद निर्माण गर्ने सङ्कथन, अधिसंरचना वा तर्कहरूको उच्छेदनमा केन्दित छ, र लैङ्गिकतालाई ‘सापेक्षित आचरणको उपज’ को रूपमा व्याख्या गर्नतिर केन्द्रित छ ।
साथै, आजको युगमा बाँचेको एउटा कविले, समाजको आचारणमा क्रमिक रूपले आउँदै गरेको परिवर्तनलाई पनि धाप दिनु पर्छ । पुरुषले महिलालाई वा महिलाले पुरुषलाई खलपात्र सिद्ध गरेर यस समस्याको समाधान आउँदैन भन्ने कुरा स्वतःसिद्ध छ । ती कथन, विम्ब, मिथक, शास्त्र वा व्यवस्थाको पहिचान गर्नु आवश्यक छ जसले विभेदलाई निर्माण मात्रै गरेनन्, तिनको हस्तान्तरण र विविध अवतारमा रूपान्तरण पनि गरिदिए । तर, त्यसो गर्नलाई, प्रथमतः समस्यालाई वस्तुगत दृष्टिले हुर्नु न्यूनतम आवश्यकता हो । कविलाई आक्रोश र कुण्ठाको प्रवक्तभन्दा पनि समाधानको परामार्शदाताको रूपमा हेरिन्छ । वस्तुगत दृष्टिको अभाव भयो भने, हामी सिर्जनामा पुराना वा आग्रही कुरा गरिरहन्छौँ र त्यसले हाम्रो अभियानले प्राज्ञिक अनुमोदन पाउँदैन ।
आफैँ पनि एक कुशल समाजशास्त्री भएको हुँदा कवि कल्पित भोलिका दिनमा यस्ता कुरामा सचेत रहने छिन् भन्ने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया
-
४
