✍️ यात्रीप्रकाश पाण्डे

आँगन
यो आगोमा फुलेको देश हो
नसोच्नू, आगोलाई फूल बनाउँछु ।
हिजैमात्र
निःशस्त्र यो छातीमा गोली हानेपछि
हार स्विकारेथे वैरीहरूले ।
आज,
छाती पहाड बनेको छ
र फुलाइरहेछ रगत बगेकै ठाउँमा रातो गुराँस
बढाइरहेछ, यही देशको गौरव ।

मेरै हात काटिदिएपछि
नहारेको वीरताले
मैले प्रतीकार गरिदिँदा
हात जोडेर आफ्नै जीवनको भीख मागेथे
हात हुनेहरूले ।
त्यसैले आज
शिर बनेको छ सगरमाथा
जहाँ फरफराइरहन्छ चन्द्र सूर्य अङ्कित झन्डा झन्डा ।

मेरै गोडा काटिदिएपछि
भागेर बाँचेथे गोडा हुनेहरू
त्यसैले,
कतै नसर्ने जङ्गे पिल्लर भएको छ शरीर सिमानाको
अझै पनि परदेशमा इज्जत लुटिएपछि
शरीर ढाकेर मर्छे चेली
सायद मर्नुअगावै सोच्छे
म मरेर पनि इज्जत त बचाउनुपर्छ ।

पुरानो इस्टकोटमा
नयाँ खल्ती राखेर मुगलान पसेको हर्के
एउटा खल्तीमा माटो र
अर्कोमा
सपना बोकी हिँड्छ
देशको नक्सा बोकी हिँड्छ
यसरी
आँखाको सपना बेचेर
देश नछाड साथी
नत्र तिमीले देशलाई छाडेजसरी
देशले पनि तिमीलाई छाड्न सक्छ

आगोलाई फूल नबनाऊ साथी
हामीलाई त आगोमै फुल्नु छ
र आफैँ जलेर पनि उज्यालो बनाउनु छ देशको चेहरा
मरेर पनि बाँच्नु छ,
युगौँ युगसम्म ।

कवि यात्रीप्रकाश पाण्डेको यस कविताले ‘राष्ट्रिय कविता महोत्सव–२०७९’ मा द्वीतीय पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर