✍️ लक्ष्मण सङ्गम

गजल – एक

वीर हुँ भन्थ्यो उसको वीरता काम लागेन।
दुस्मनको विरुद्धमा पनि ऊ खुलेआम लागेन।।

‘सधैं तिम्रो छाया बनेर हिँडिरहुँला’भनेकी थियौ।
दुर्भाग्य ! हाम्रो जिन्दगीमा सधैँ घाम लागेन।।

म कस्तो पागल हुँ यो कस्तो पागल प्रेम हो ?
तिमी गइसकेपछि पनि मायामा पूर्णविराम लागेन।।

छाती विछ्याएरै बनाएँ मैले मनसम्म पुग्ने बाटो ।
तिमीलाई एकपटक पनि जामजाम लागेन ?

गजल – दुई

चाहेर पनि सँगसँगै नहुने निश्चित भैसकेछ।
बाध्यताले म सूर्य भएँ , ऊ शीत भैसकेछ।।

यो कस्तो प्रतिस्पर्धा गराइस् ए समय ?
मैले हार नस्वीकार्दै उसको जीत भैसकेछ।।

आफै पिलाउनु पर्थ्यो जहर पिलाउने रहर भए।
भाग्यले आमाको हातमा परेर अमृत भैसकेछ।।

म यता अझै अङ्कहरूमै अलमल परिरहेछु।
तिम्रो प्रेम नबुझिने अङ्कगणित भैसकेछ।।

प्रतिक्रिया

सम्बन्धित खवर