✍️ नवीन अभिलाषी
बाबु साहेब
जुंगा हल्लिएको छ तपाईंको
हामीले कुरा बुझिसकेका छौँ ।
गर्जिरहेको बादल मुन्तिर,
झरीले भिज्दै गरेको चङ्गाजस्तै छौँ हामी ।
बाजको अन्तिम झम्टाइ पर्खिरहेका चल्लाहरूझैँ
यतिबेला
हाम्रो अनुहारमा मृत्युले ठट्टा गरिरहेछ ।
तर तीन हजार वर्षदेखि
दबाइएका गलाहरू खसखस गरिरहेछन् ।
चलमल-चलमल गर्दैछन्,
यी जञ्जीरले कस्सिएका हातगोडाहरू
र बेहोस प्रायः यो छाती आज अचानक
ढुकढुक-ढुकढुक गरिरहेछ ।
हेर्नुस् तपाईंको पैतालामुनि
यो धुलो उठेर फट्फटाइरहेछ पखेटा ।
बाबु साहेब
एकतारे हो तपाईंको सिंहासन,
रगतको एक छिर्कोले चुँडिन सक्छ – च्वाट्ट
हामी त रक्तबिज
एउटा मृत्युको अवसरमा
हजार जीवनले टुसा उमार्छ ।
समयको यही कालो कुइनेटोमा
अब कि बिट मारिनेछ- शुद्र इतिहासको
कि सुरु हुनेछ, अर्को उज्यालो अध्यायको ।
यतिबेला
मुक्ति र मृत्युको मझधारमा
ढलपल ढलपलको गीतहरू गाइरहेका छौँ ।
थाहा छैन, अब के हुन्छ ?
मात्र थाहा छ
कि कचाकच काटिने छ, हामीलाई
र हाम्रै लासको मञ्च उठाएर भाका सारिने छ,
कि थुत्नेछौँ हामीले सिंहासनबाट
र वर्षौदेखिको हिसाब चुक्ता गर्नेछौँ ।
तर मञ्जुर छैन अब,
आफ्नै काँचो रगतले आर्जेको भूगोलमा
आफै अनागरिक बन्न ।
(कविको यस कविता ‘मौलामा बाँधिएको राँगो’बाट, कवि अभिलाषीको यस कविता सङ्ग्रह आज शनिबार हार्दिक होटल बागबजारमा दिउँसो १ बजे विमोचन हुँदैछ ।)
प्रतिक्रिया
-
४
