✍️ माधव काफ्ले
प्रभु, मैले केही पाप गरेजस्तो मलाइ लाग्दैन। तर मान्छे लाई लाग्नुले मात्र परिणाम निश्चित गर्छ भन्ने कुरामा पनि मैले बिश्वास गर्दिन।
सायद जिन्दगीका अनेक मोडहरूमा मैले गरेका राम्रा–नराम्रा कामको जानकारी हजुरसँग छ।
कतिपय क्षणहरू मैले बिर्सिसके ! तर, कतिपय क्षण मेरो जिन्दगीभरी एक कालो छायाँ बनेर मेरो मन मष्तिष्कमा घुमिरहे। कुनै क्षणहरू यतिसम्म निर्दयी हुँदारहेछन् – म बालक हुँदा घटेको घटनाले मलाई जिन्दगिको अन्तिम घडिमा पनि रून बाध्य बनायो। म रोए !
मर्द भएपछि रूनु हुदैँन भन्ने समाजको मान्यताले गर्दा मेरा आँशु बग्न पाएनन् आफ्नो रफ्तारमा। बाहिर आँसु बगाउन सजिलो रहेछ तर भित्र भित्रै आँसु बगाउनु जति पिडा अन्त कहि छ जस्तो लाग्दैन मलाई।
ओहो कुरा त राम्रा गर्दा रहेछौ ! तर, यहाँ तिम्रा कुराबाट प्रभाबित भएर मैले आफ्नोतर्फबाट कुनैपनी रूपमा लचकता देखाउन मिल्दैन। तर, तिम्रो जीवन कथा मलाई सुन्न मन छ। तिम्रो मात्र नभएर धर्तीका एक एक प्राणीको जीवनकथा यहाँ लेखिएको छ। सबैको पढ्न भ्याइदैन। उसले गरेका केही राम्रा र नराम्रा कुराहरू मात्र नियालेर हामीले फैसला दिनुपर्छ।
म तिम्रो कथा तिम्रै मुखबाट सुन्न चाहान्छु। प्रभु र एक मानव आत्माको बार्तालाप चलिरहेको छ।
प्रभु म आफूलाई कुनै नाम, धर्म, जाती लिङ्गले भन्दा भनी लेखक बनेर परिचय दिन चाहान्छु। म लेखक हुँ। मैले धेरै कथा – कबिता अनि बिचार र अनुभूति जनमानस माझ पस्किएको छु। कतिलाइ मन पर्यो पेट भरुन्जेल लिए।कतिलाइ मन परेन तर पनि लिन छाडेनन्। कतिपय भने मेरो सफलताको कारण द्वेष मा लिप्त भए र सधै मेरो बिरोध मात्र गरिरहे।
कतिले लिदै नकिइकन पनि राम्रो छ भनेर प्रशंसा गर्न भ्याए। को कस्तो छ भन्ने थाहा हुदा हुँदै पनि म आफ्नो मुखले केही बोल्न सकिन !
मैले आजिवन आफ्ना धारणा र भावनाहरुको पोकालाइ शब्दमा एकताबद्ध गरेर सार्वजनिक गरे। कतिले बुझे कतिले बुझेनन् !
बुझ्नेहरुले आफैलाइ भनेको हो भन्ने ठान्थे भने नबुझ्नेहरूलाई थाहा नै भएन मैले के लेखे ?
कसरी लेखे ?
अझैँ आफूलाई महान साहित्यकारको ताज भिराएर बसेकाहरूले नै नबुझ्दा म अचम्म मा पर्थे।
प्रभु मुसुक्क मुस्कुराए।
लेखक बोल्दै गयो…।
प्रभु मैले आफ्नो जीवन चलाउन आफ्नै जीवनका हरेक क्षण, भोगाई अनि अनुभुतिहरूलाई शब्दमा उतारेर बेचे। सम्पूर्ण रूपमा भन्नुपर्दा मैले आफ्नो जीवनलाई नै शब्दमा उतारेर बेचे।
आफ्नो कल्पनालाई पनि बेचे। मान्छेहरू मेरो बास्तविकतामा भन्दा काल्पनिकतामा धेरै बिश्वास गर्थे। म अरु के गर्न सक्थे र ?
अचम्म पर्थे !
मेरो घर भनेको पूरा विश्व हो। मैले बिश्वमा जे जे भोगे देखे त्यही लेखे।
मेरो परिवार भनेको पनि यस धर्तिमा रहेका हरेक प्राणी – रुख, बुट्यान, हावापानी, मौसम हुन्।
मेरो असल मित्र कलम हो। जसले मलाइ हरेक मोडमा साथ दियो।
मेरि श्रीमती भनेकी डायरी हुन्। जसमा मैले आफूलाई समर्पण गरे।
फलस्वरूप सन्तानको रुपमा विभिन्न बिधाका विभिन्न लेख रचनाहरू जन्मिए। सबैलाइ सबैकुरा राम्रो नलाग्न सक्छ। त्यसैले मेरा सन्तानहरू कतै प्यारा भए चर्चित भए। कतैबाट नराम्रो प्रतिक्रिया लिएर आए।
उनी कलमसँगको प्रेममा लिप्त थिइन्। मलाई थाहा हुँदाहुदैँ पनि केही गर्न सकिन !
कहिले काहीँ सोच्थे – म लेख्न छाडिदिन्छु, तर समाजको चरित्रलाई नियाल्दा आभाष हुन्थ्यो – लेख्नु मेरो कर्तब्य हो।
लाग्थ्यो सन्तान मेरा आफ्ना हैनन्। तर, जब सन्तानलाइ देख्नेहरुले मेरो नाम लिन्थे तब आभाष हुन्थ्यो – आखिर म पनि त मेरो हैन !
मलाई म बनाउनुमा हावा देखि पानी सम्म सबैको हात छ। पृथ्वीका हरेक प्राणीहरूको हात छ।
मैले समाजको आँखा खोल्ने धेरै प्रयास गरे। तर त्यही पश्चाताप ले मलाइ पोलिरह्यो सधैँ, किन मैले कुनै समयमा आफुलाई परिवर्तन गरिन ?
मेरो तर्फबाट मेरा शब्दहरु चिच्याए – घाँटी दुख्ने गरी । तर, त्यही आवाज मेरो कानसम्म किन पुग्न सकेन ?
जब यो कुराको आभाष मलाई भयो। तब मैले लेख्न नै छाडिदिए ! आफ्नो मुख्य कर्म नै छाडेपछि मलाई दिन काट्न मुस्किल हुँदै थियो। तर, जब लेख्न छाडेर आफ्नो कोठाबाहिर निस्किए – तब थाहा भयो।
समय त मलाई छाडेर आफ्नै गतिमा अगाडि आइसकेको रहेछ। शब्दको मैदानमा हराएर म समाजको यथार्थबाट पर पुगेछु। अब मेरा साथि, आफन्त, श्रीमती कोहि मसँग थिएनन्। म एक्लो थिए। तर पनि शब्दले मेरो साथ कहिल्यै छाडेनन्।
अब मलाई सबैकुराको अभाब महसुस हुन लागेको थियो। मनमा अनेक ख्यालहरू आफैँमा लडिरहेका हुन्थे। न त मैले समयलाइ पर्ख भन्न सके न त समयले मलाई पर्खियो।
आफू र आफ्नै जिन्दगीबाट बिरक्त लागेर आउन लाग्यो। हजुरलाई सम्झिए। सबै डायरीहरू मेरो अगाडि छरपस्ट थिए। एक निर्णय लिन मन लाग्यो। ठूलो निर्णय।
सबै डायरी जम्मा पारे अनि एकैपटक जलाए र ढोका बन्द गरे। जसको परिणाम स्वरूप आज म यहाँ छु। अब मेरो एउटै इच्छा छ।
के इच्छा ?
अचम्मित हुदै प्रभुले प्रश्न तेर्स्याए।
यो क्षणलाई शब्दमा रूपान्तरण गरेर डायरीमा उतार्ने !
एकछिन सोचमग्न भए। अनि प्रभुले भनेः
हे पुत्र !
आजसम्म मैले कसैलाई यसरी धर्तीमा जान दिएको छैन। तिमीले गरेका केही राम्रा कामले म प्रभावित भएको छु।
जुन शब्दको साहारामा तिमीले जीवन बितायौ, आज त्यही शब्दहरूले गरेको आग्रह मैले नकार्न सकिन !
जाउ , तिमी जाउ पुत्र।
धर्तिमा तिमीलाई यो सबै सपना जस्तै लाग्ने छ।
अनि
तिम्रो यो अनुभूति कसैले बिश्वास गर्ने छैनन् !
हर्कमान झल्यास्स ब्युझियो ! यो कस्तो सपना देखेः
आफैसँग प्रश्न गर्यो।
केहिबेर यता उता गरेपछि दिमागमा एउटा कुरा झुलुक्क आयो।
उपन्यास लेख्छु भनेर सोचेको एक महिना हुन लाग्यो। अझै सुरु गरेको छैन।
हतार हतार कलम र डायरी निकाल्यो – अनि लेख्न लाग्यो।
एक अनुभूति
अनुभूति या सपना ?
ह्या जे भए पनि हुन्छ !
पहिला लेख्छु ।
शीर्षक पछि सोचौला ! बिहान हुन्जेल सम्म उ के – के लेखिमात्र रह्यो। यस्तै गरी उसका केही दिन लेख्दा लेख्दै बिते। लेख्न त लेख्यो। तर प्रकाशन गर्नको लागि उ कुनै प्रकाशक को सम्पर्कमा थिएन। प्रकाशकको दैलो दैलो मा धाउने निर्णय गर्यो। कसैले उसलाइ पत्याएनन्। निद्रा र आराम बिर्सिएर दिनरात एक गरेर लेखेको पुस्तकको पाण्डुलिपी हेरेर उ आफै गिज्जिन्थ्यो। जलाइदिउ कि क्या हो ? कतिबेला यस्तै सोच्थ्यो उ।
एकदिन हिड्दै जादा चौबाटोको एक छेउमा प्रकाशकको ठेगाना रहेको पुरानो बोर्ड देख्यो। बोर्ड सडकको धुलोले ढाकिएको थियो।उ हतारिदै उसको नजिक पुग्यो। धुलो पन्छ्याउदै पढ्न लाग्यो । “
तिम्रा शब्दले तिमीलाई भेटेको दिन म कहाँ आउनु ।”
बोर्डमा लेखिएको थियो। उ खुसी भयो। उसले आफ्ना पाइलाहरू उक्त ठेगानातिर लम्कायो। त्यो ठेगानामा एक भब्य घर थियो।जसको बाहिर उस्तै बोर्ड झुन्ड्याइएको थियो। गेट खुला रहेछ। उ भित्र पस्यो । मुलढोका पनि खुला नै थियो। प्रकाशककै घर भए पनि खासै भिडभाड थिएन। उ लुरुलुरु अगाडि बढ्यो। दोस्रो तल्लामा एक बृद्ध मानिस कुर्चिमा बसेका थिए।
नजिकै पुगेर नमस्कार गर्यो। बृद्ध मानिसले नमस्कार फर्काए। उसले आफ्नो परिचय दियो। बृद्धले पनि आफ्नो परिचय दिए।
“म प्रभु ! यो छापाखाना कुनै समयमा निकै चर्चित थियो। हामीले यही घरबाट नै सबै काम गर्थ्यौ। समय सँगसँगै ब्यवसाय सेलाउदै गयो। बाबू आउनुभयो धेरै धेरै धन्यबाद।”
“हजुरको पुस्तक मैले अवस्य बजारमा पाठकसामु ल्याउछु।” च्याउरे खुसी भयो। उसले केही धेरै सोच्दै सोचेन। तुरुन्त हुन्छ भन्ने जवाफ फर्कायो र पान्डुलिपी प्रभुको हातमा थमायो।
“कहिले आउदा हुन्छ ?” प्रश्न गर्यो।
“अर्को महिनाको एक गते आउनुस्। म तयार पारेर राख्छु। त्यसपछि बजारमा लगौला नि हुन्न ?”
प्रभुको आग्रहलाइ उसले सहर्ष स्वीकार गर्यो। अनि उ खुसी हुँदै घर फर्कियो। राती बिस्तरामा पल्टिएर फेसबुकमा पोस्ट गर्योः “अब छिट्टै मेरो पुस्तक आउदै छ बजारमा। मलाई आशा छ पाठकहरूले साथ दिनुहुने छ। बाँकी कुरा प्रकाशन पछि गरौला।”
पुस्तकको नाम पनि लेख्यो। “मृत शरिरभित्रका ज्युदा सपनाहरू।” भटाभट कमेन्ट आउन थाले।
आजसम्म एउटा गतिलो स्टाटस पनि नपोस्ट्याएको मान्छेले पुस्तक नै आउँदै छ भन्दा कसैले बिश्वास गरेनन्। कमेन्ट पनि उस्तै किसिमका थिए। उसले केही प्रतिकृया दिएन। मात्र ‘पर्ख र हेर’को सिद्धान्त आत्मसात गर्ने निर्णय गर्यो।
सबैतिर हल्ला पुगिसकेको थियो। हर्कमानलाई भेट्नेबित्तिकै सबैले सोध्थेः पुस्तक कहिले आउँछ ?
उसले मुस्कुराउदै जवाफ दिन्थ्यो, अब छिट्टै आउँछ। यस्तै दिनहरु बित्दै गए। एक गते नजिकिदै थियो। उसको ढुकढुकी बढ्दै थियो। अन्ततः एक गते आयो। उ हतार हतार बिहानै प्रकाशक को घरतिर लाग्यो। मनमा अनेक प्रश्नहरु थिए। पुस्तक कस्तो भयो होला ? बजरमा चल्छ कि नाइ होला ? यस्तै यस्तै।
हिड्दा हिड्दै उ चौबाटोमा टक्क उभियो। उ अचम्मित भयो। एक महिना पहिला देखेको बोर्ड अहिले त्यहाँ थिएन ! हावाले उडाएर लग्यो होला ! लख काट्यो। अनि आफ्नै गतिमा अगाडि बढ्यो।
सुर्यले आफ्नो दैनिकी सुरु गरिसकेको थियो। जसकारण उ पसिनाले लछप्पै भएको थियो। तर, उसलाई पसिनाले भिजेकोमा ध्यान थिएन। उसलाई त्यहीँ पुस्तक हेर्न मन थियो। त्यसैले हिडिरह्यो…।
गन्तब्यमा आएर उ टक्क रोकियो।अहिले झन उ आठौ आश्चर्यमा पर्यो। त्यहाँ त कुनै घर नै थिएन ! झाडिमात्र थियो। त्यहाँ घर भएको कुनै निशान पनि थिएन। उ रन्थनियो।
उता परबाट आउदै गरेको एक अधबैंसे युवकलाई रोकेर सोध्यो। “दाजु, यहाँ एक महिना पहिलासम्म घर थियो। के भयो ?”
“आर यु म्याड ?’
हर्कमान उसको प्रश्नले झन् नबौ आश्चर्यमा पर्यो।म यहाँ हिड्दै डुल्दै गरेको पन्ध्र बर्ष भयो। आजसम्म मैले यहाँ झाडिमात्र देखिरहेको छु !
यति भनेर युवक आफ्नो बाटो लाग्यो। हर्कमान तनावका कारण आफ्नो अगाडि केही सद्दे देख्न छाड्यो। उसको अगाडि पृथ्वी पुरै घुमिरहेको थियो। अब त्यो पान्डुलिपी पनि उसँग रहेन। उसको मेहेनत खेर गयो। त्यतिकैमा उ अचेत अवस्थामा जमिनमा पछारियो !
****
जब उसको आँखा खुल्यो उ आफ्नै ओछ्यानमा थियो। उ उठेर बार्दलीमा गयो। उ सपनीमा जुन ठेगानामा पुगेर ढलेको थियो, त्यो स्थान उसको घरभन्दा अलिक अगाडि रहेछ।
त्यहाँ कुनै समयमा चर्चित छापाखाना थियो। कर्मचारीको लापरबाहीले गर्दा पुस एक गते आगलागी भयो र छापाखाना जलेर नष्ट भयो। छापाखानासँगै मालिकको सपना पनि जलेर नष्ट भयो। जसकारण मालिकले आफुलाई माघ एक गते यो दुनियाबाट अलग्ग्याएर गए।
हर्कमानको रुचिमा लेखन पनि पर्छ। तर आफुले लेखेका लेखहरू विभिन्न पत्रिकामा पठायो । कहि छापिएनन्। जसकारण ऊ निराश थियो।
आज फेरि एउटा कथा भेट्यो। जसलाई शब्दमा परिवर्तन गर्यो र डायरीमा उतार्यो। अनि एउटा पत्रिकामा इमेल गर्यो।
पहिलो पटक उसको लेख छापियो। आज आषाढ एक गते, अनि उसको कथाको शीर्षक पनि ।
उ खुसी थियो। यत्तिकैमा उसको फोनको घन्टी बज्यो।
उठायो।
हेल्लो हजुर हर्क जि हो नि ?
हजुर हो।
हजुरको कथा एक गते मैले पढे। मलाई राम्रो लाग्यो।
के यो सत्य कथा हो त ?
उसको प्रश्नले हर्कमान अलमलियो।
अनि मुसुक्क मुस्कुराउदै धन्यवाद मात्र भन्यो।
र फोन काट्यो…।
प्रतिक्रिया
-
४
