✍️ नरेन्द्र बिहानी

गजल – एक

जागा छ एउटा युग एउटा युग निदाईसक्यो
थाहाछ तिम्रो क्रान्तिले कति दाजुभाइ सक्यो

एउटै काँटीले गर्दा हो जंगल भएको खरानी
चुलो सल्काउन कसैले सिङ्गो सलाई सक्यो

आराम पाउने भैगए अब एक हल गोरूले
बेलैमा जमिन जोत्यो बेलैमा रोपाइ सक्यो

खाली पट्टी बाधेर बस देशको टाउको तिमी
खन्जर रोपेर छातीमा यो देश दुखाइ सक्यो

डुब्ने भन्दैछौ कैले डुब्छौ आँखाको तलाउमा
यहाँ डुब्नेले नापेर आँखाको गहिराइ सक्यो

  गजल – दुई

छोड्दिन् भन्थे माटो छोड्ने फैसला गर्नुपर्यो
जिन्दगीले भोकसंङ्ग फेरि सम्झौता गर्नुपर्यो

सिटामोलले बाच्दैनन् बस्तीका मान्छेहरू
महामारी आउनु पहिला सुचना गर्नुपर्यो

नआउनु भनेकिछिन यो सहरमा उनीले
के कारण रहेछ एकपल्ट कुरा गर्नुपर्यो

चुपचाप गरिरहेकैछ सुर्यले आफ्नो काम
झिल्कोले बेलाबेला किन तमासा गर्नुपर्यो

झुल्किएर पनि त किन बदनाम छ ‘बिहानी’
अब अँध्यारो कोठामा बसेर समिक्षा गर्नुपर्यो

प्रतिक्रिया

सम्बन्धित खवर