✍️ अकबरे
टिङ टिङ टिङ ….
पेपेप….हुँई, हुँई… छिकस् ‘ ।
ओए कुध, कुध ट्रक रहेछ । गुम्बासम्मपनि पुग्याछैन भेटिन्छ ।
अहो, स्कुल छुट्टी हुनु र ट्रकले हर्न बजाउनु एकैताली, कस्तो सम्योग !
करिव दुई किलोमिटर टाढा माउन्टकन्चन बोर्डिङबाट हामी भानु, म, दिनेश, प्रविण लगायतका केटाहरु हुद्धा बाँधेर कुधिहाल्यौं । पहाडको उकालो बाटोमा भोको पेट कुद्नु सजिलो कहाँ हुनु !
हाम्रो घर तल फुएतप्पा, ट्रक जाने माथी सप्तमी बजार । घर भन्दा उल्टो दिशामा रहेको बाटोतिर कुध्नुको यौटै रहस्य हो ट्रक चढ्नु । चढ्न नपाए झुण्डिनु, त्यो पनि नपाए ट्रकको पाध (धुवाँ) भएपनि सुघ्नु ।
जनयुद्धले किनारा पाइनसकेको समय थियो । हामी भर्खर चिचिला थियौं । यसरी चैं भनौं हामीहरु ुडिम्बैु थियौं । जनयुद्ध के हो बुझ्ने भैसकेमा थिएनौं । तर यत्तिचै बुझ्थ्यौं —माओबादीहरूले खुब दुःख दिन्छन् ।
बोर्डिङमा पढ्ने भएकाले घरदेखि स्कुलसम्मको दुरी लामै थियो । जाँदा उकालो, फर्किदा ओरालो कुस्तै हिन्नुपर्ने । किताबको बोझ त छदैछ । त्यहिमाथी कहिलेकहि माओबादीहरुले गरुङ्गा झोलाहरू पनि भिराई पठाउँथे । भन्थे ‘ति बुर्जुवा शिक्षाका झोलाहरू फाल र यी परिवर्तनका झोलाहरू बोक ।’ रबिसम्म पर्याइदेउ ।
मा(कसम गिर्नेटका झोलाहरू बोक्दा परिवर्तन कसरी आउँछ म बुझ्दिन थिएँ । हामीहरू बुझ्दैन थियौं । साँच्चै ति गिर्नेटका झोलाहरू बोकेर तिनीहरुले खै के परिवर्तन ल्याए म आजसम्म पनि बुझ्दिन ।
क्लास भैरहेको समयमा हाम्रो खेलमैदानमा आएर कार्यक्रम गर्थे उनीहरू । ला-लामा भाषण गर्थे । देश परिवर्तनका उग्र नाराहरू लगाउँथे । हाम्रो शिक्षा पद्धतिको बिरोध गर्थे । किताबहरु जलाउँथे । कलमहरू भाँचिदिन्थे ।
म अहिलेपनि सम्झन्छु ६० सालतिरको कुरा हुनुपर्छ । हाम्रो सेन्टअप परिक्षा चलिरहेको थियो । भर्खरै सामाजिक बिषयको परीक्षा सुरू भएको थियो उनी (माओबादी)हरू खेलमैदानमा आइ त हाले । सुरू गरिहाले भाषण गर्न । देश परिवर्तन गर्ने महान कुरा भैराबेला अब नाथे परीक्षा के लेख्नु, लेखिएन । बिहानको समयमा परीक्षा चलेको भए पनि उनीहरूले दिनैभरी कार्यक्रम गरिरहे । दुःखको कुरा हामीलाई घर जान दिएनन् । भोकै दिनभर सुक्पा सुकाए । भोली बिज्ञानको परीक्षा थियो । कुस्तै तयारी गर्नुथियो तर गर्ने कसरी ! बिज्ञान पनि परिवर्तनकारी बिषय थिएन उनीहरूको लागि ।
हेमन्त र म, हामीले भागेर घर जाने सल्लाह गर्यौं । चोरबाटोहरू खोज्न थाल्यौं । करिव तिनपटकको कठिन प्रयासपछि लुक्दै लुक्दै माउन्टकन्चनको खेल मैदानबाट दुर्गा माबिमा पुग्यौं । उसरिनै लुक्दै लुक्दै मन्तिरको जङ्गलमा पस्यौं । लुक्दै लुक्दै थावाखोला झर्यौं । महिम्बाको तेर्सो लम्पट छिचोलेर साँझ ६ बजेतिर घरमा पुग्यौं । यसरी हामीहरु घर पुग्दा घरका मान्छेहरू आधामासु भैसकेका रहेछन् ।
कहिले बिद्यालयबाट फर्कने बेलामा सेनाहरू आएर हाम्रो बाटो छेक्थे । अनेक हप्की दप्कि गर्थे ।
एसएलसी दिएर फुर्सदमा थिएँ, स-परिवार खेतमा आलि तास्न गएका थियौं, त्यतिनै बेला उता इलामतिरबाट सेना आएछ । साँझ घर फर्किने बेलामा हामी सँगसँगै उनीहरू पनि उकालो लाग्न थाले । हामीहरूअघिअघि उनीहरू पछिपछि ।
चिहान डाडामा उक्लन के लागेका थियौं मास्तिर थुम्कामा एम्बुस थापेका रहेछन् माओबादीले, पड्कियो । सैनिकहरुले जवाफी फायरिङ थालिहाले । माथी डाडाबाट पनि सकेटबमहरू बर्सिन थाले । हामी पर्यौं बिचमा । कान, हातका कुमका छेउबाट गोलीका खोकाहरू छर्राहरू ट्वी ट्वी गरेर उढ्न थाले । हाम्रो होस हराइगयो । त्यो दिन कसरी बाँचियो आज पनि म भन्न सक्दिन ।
माओबादी युद्ध सँगसँगै आत्मानन्द लिङदेनको फौजी दस्ता काभ्राङ पनि बेला मौकामा गाउँमा मार्चपास गर्न आइपुग्थे । उनीहरूको पनि रवाफ उस्तै थियो । उनीहरूको यौटा मन्त्र थियो ‘बाछेकादसा’ भन्नी । यसको मतलव हुन्थ्यो बाहुन, क्षत्री, कामी, दमाई र सार्की । मतलव यी माथीका पाँच जातिहरू उनीहरूका सत्रुहरू हुन् । तिनीहरू उनीहरूको धर्म बिरोधी हुन् । लुटेराहरु हुन् । सामन्तीहरु हुन् । सुराकीहरू हुन् । त्यसैले तिनीहरुलाई तह लगाउनुपर्छ ।
उसोतः काभ्राङमा लागेकाहरू, धर्ममा लागेकाहरू, गुरूका चेलाहरू हाम्रो छिमेकीहरू पनि थिए । उनीहरुले घर, गोठ, बारी सबै चटक्क छाडेर लारुम्बा हिडेका थिएँ । उनीहरू भन्थे गुरूले भन्नुभाको ‘लारुम्बा बाहेक बिश्व उल्टिन्छ । हामी धर्मलम्वीहरू बाहेक सबैको नास हुन्छ ।’ खैर, उनीहरूले भनेजस्तो आजसम्म केहि भएको छैन ।
धर्मको लागि घर छाडेकाहरू सधैं लारुम्बामा टिकेनन् । अलिअलि भएको सम्पत्ति त्यहि लारुम्बामा जग्गा र झाप्रा-झुप्री हाल्दैमा सके । अहिले फेरि उनीहरू उही पुराना गाउँ-घरमा पुगेर बाँझा खेतबारी खोस्री(खास्री गर्दैछन् ।
काभ्राङ र माओबादीहरू बिचमा राम्रै सत्रुता थियो । कतै कहिं भेटिइहाले कुकुर बिरालो जस्तै गर्थे । मारामार गर्न पछि पर्दैनथे । सरकारी सेनालाई झोसपोल गरेर कति माओबादीहरूको हत्या पनि गरे काभ्राङले ।
को मर्छ को बाँच्छ ? को कहाँ पुगेको छ, फर्किन्छ फर्किन्न ? कसले कसका लागि काम गरिरहेको छ ? कसैलाई थाहा हुन्थेन । गाउँमा चन्दा आतंक उस्तै । ‘कि जन चाहियो कि धन चाहियो’ भन्थे माओबादीहरू । घरघरमा पसेर भरुवा बन्दुक, पानसका टुकी बत्तीहरू, खाना पकाउने प्रेसर कुकरहरू, तामाका भाँडाहरू, लत्ताकपडा, चामल÷खानेकुरा जे भेटो त्यहि लगिपठाउँथे । कहिलेकहिं मध्यराती चालिस पचासजना आएर सुत्थे । त्यहिमाथी हाम्रो घर बाटाकै छेउमा थियो । लुक्न, भाग्न सजिलो ।
पचास देखि साठीको दशक पूर्वी पहाडको लागि निक्कै प्रतिकूल थियो । हुनत देश नै क्षयतबिक्षत थियो त्यो समयमा । त्यहीँ पनि इलामको पश्चिमी भेग र पाँचथरको दख्खिन पूर्वी भेग झनै चपेटामा थियो । उसैपनि बिकट छेत्र त्यहिमाथी राज्य सत्ता, बिद्रोहीहरू र धर्मप्रचारकहरूको तेहरो युद्धको भार ।
संसारमा आजसम्म भएका जुन कुनै युद्धले भयानक चोट दिएको छ । युद्धको चोट निक्कै भयानक हुन्छ । हामीमा पनि छ । हामीले पनि भोग्यौं । सह्यौं । परिवर्तनका ठूलठूला सपना देख्यौं । देखायौं । सामेल हुँदिन, सहयोग गर्दिन भन्दाभन्दै पनि हामी कहिंन कहिं, कतैन कतै प्रतक्ष÷परोक्ष रुपले युद्धमा सामेल भयौं । बनाए । बिडम्बनाः अहिले ति दिनहरू सम्झिएर झस्किनु सिवाय केहि पनि बाँकि छैन । उतिबेला युद्धको चपेटामा परेका पाटी पौवा, सरकारी कार्यलयहरू अझै राम्ररी उठेका छैनन् । भग्नावशेसमै सिमित छन् ।
अरुको कुरा छाडौं, स्यम् युद्धको नेत्रृत्व गरेको माओबादी पार्टी नै यतिबेला क्षत बिक्षत छ । पुँजीवादले समाजबादलाई कसरी निल्छ भन्ने ज्वालन्त उदाहरणहरू अहिलेका माओबादीहरूलाई हेरे हुन्छ । हिजो मस्तिष्कमा परिवर्तनको आगो बोकेर हिंड्नेहरूले यतिबेला आफूहरूलार्इ नै बिर्सिपठाएको तितो सत्य हो ।
हुनतः युद्ध गलत थिएन, हामीले नराम्रो केहि गर्या होइन, भनेर अनेकथरी तर्क आउला । त्यो आफ्नै ठाउँमा छ । यौटा कुराचैं सत्य हो, गाउँघरमा चेतनाको लहर माओबादीहरुसँगै पसेको हो । स्थानीय तहमा खट्ने कार्यकर्ताहरू सहि पनि थिए । भोक, प्यास, निन्द्रा, घर, परिवार, सपनाहरू सबै छाडेर युद्धमा होमिएकै पनि हुन् ।
तर ….
तरसँग बिकल्प हुँदैन । तर आफैंमा ढुलमुले शब्द हो । दोधारे शब्द हो । यसले अल्झाइरहन्छ ।
हो, माओबादीभित्र पनि ुतरु छिर्यो । नेतृत्वपंत्तिले बैमान गर्यो । पदलिप्सामा नमजाले जाकियो । महान भनेको जनयुद्ध सपनाजस्तो भयो । यतिचै सबैले स्वीकार्नै पर्छ ।
…
ल हाउ सोल्टिनीहरू छिटो चडुङ । भरेई पुग्नु त गाह्रो पो हुन्छ हाउ । पहाडको बाटो । बिच्किन पाउँदैनौ होइ….
आइजा हाउ म तपाईंलाई यौटा पहाडि बाटोमा यात्रा गराइपठाउँछु । बाटोचेन आफ्ट्यारो छ है । राम्ररि पकडुङ फेरि भरेई गुल्टुङ खेलि पठाउला ।
लाखे है…यो माथीको सपना मेरो होइन । उसको हो । पहाडको उकालोमा ट्रक कुधाउने रहर डुक्पाको हो । डुक्पाले जीवनमा यौटै सपना देख्यो ‘ट्रक कुधाउने ।’ उसले ट्रक त कुधायो तर चाहेजसरी पाएन । ड्राइभर त भयो तर खै के जाति भन्नुजस्तो !
डुक्पा, डुक्पा को हो ? ह्या कस्तो टुप्पो न फेदको तोर्पे कुरा गर्या भन्नुहोला । पख्नुन म भन्दै त छु ।
के त त्यहि डुक्पा के, फुङसिङमा डुक्पा डानस मार्ने डुक्पा । तुक्का जोरि जोरि पालम गाउने डुक्पा । तल निबु पारी सारतापतिरका सोल्टिनीहरूसँग धोद्रे मेलामा धान नाचिहिड्ने डुक्पा ।
कसो अरे कसो ?
ल्या अझै बुझ्नुभएन ? ल ध्यानदिएर सुनीपठाउनु ।
डुक्पा पश्चिमी इलाम र पूर्वी पाँचथरको सिमानामा जन्मिएको भोटेको छोरो हो । लिम्बु बस्तीमा जन्मिएको भएर ऊ भोटेहरुको भन्दा लिम्बुहरुको रहनसहनमा रत्तिन्छ । ऊ साधारण गाउँले परिवेशमा हुर्किन्छ । पढ्न सक्दैन । समुदायमा बिद्यालय, शिक्षाको खासै महत्व भैनसकेको समय भएर पनि होला उसलाई पढ्न मन लाग्दैन । शिक्षकले पिटेको रिसइबिमा पढ्नै छाडिदिन्छ बरु ।
आफ्नो परिवेशमा, आफूले भोगेको समयमा, जुन कुराको कमी छ, आफ्नो जीवनमा जुन कुराको महत्त्व छ त्यसैको सपना देख्छ मान्छे । जे नयाँ छ त्यसैको चाह राख्छ । गाउँलेहरू सहरको सपना देख्छन्, सहरियाहरू बिदेशको, बिकसित देशमा जन्मे हुर्केकाहरू अन्तरिक्षको । मानव प्रजाति सपना देख्नकै लागि जन्मिएको हो । असलमा आफ्ना सपनाहरूको मलाम जादाजादै मान्छेको चोला उठ्छ ।
डुक्पाले त्यस्तै यौटा सपना देख्छ । ऊ ट्रकको ड्राइभर बन्न चहान्छ ।
सुदुर पहाडको भेडिगोठमा जन्मिएको बच्चाका लागि ट्रकको ड्राइभर बन्ने रहरपनि ठूलै कुरा हो ।
लाखे है, सपना देख्नु गलत भने होइन । सपनालेनै मान्छेलाई चलायमान बनाउँछ । ड्राइभर हुने सपनाले नै गर्दा हो डुक्पाले घर, गाउँ र सेक्मुरी ९लिम्बुनी० फूलजस्ती प्रेमिका छाडेर मधेस झर्न बाध्य भएको ।
मधेसमा डुक्पाले धेरै कुराहरु सिक्छ । ऊ आफ्नो सपना छेउछाउ पुग्छ तर घुमाउरो बाटोबाट । मधेसलेनै हो डुक्पालाई युद्ध सिकाएको पनि ।
अनेक परिपञ्चले गर्दा ऊ युद्धमा जोडिन्छ । माकुराको जालमा परेको झिंगाजस्तो जेलिन्छ । छटपटाउँछ । कसोकसो गरेर फुत्किन्छ । ‘कहाँ जालास मछेली मेरै ढडिया’ भनेजस्तो ऊ फेरी त्यहि जालोमा पर्छ ।
सपनाले गर्दा छाडेको घर परिवार, प्रेमीका खोज्न डुक्पा फेरि तिनै घर परिवार र प्रेमिकाको छत्रछायामा आइपुग्छ । बरु सपनालाई उतै कतै बिर्सिपठाउँछ ।
…
डुक्पा ‘महाभारा’’ उपन्यासको मुख्य पात्र हो । ‘महाभारा’ पत्रकार बसन्त बस्नेतले लेखेको आख्यान हो । पश्चिम इलाम र पूर्वी पाँचथरको परिवेशमा तुनिएको उपन्यास लोभलाग्दो छ । यसमा प्रयोग भएको घटनाक्रमहरू ठ्याक्कै माथी आएका प्रसँगहरुसँग मेल खान्छन् ।
जनयुद्धले कसरी निम्न बर्गिय श्रमजिवीहरूलाई दोधारमा राखेको थियो भनेर देखाउँछ उपन्यासले । सपना देख्ने र तिनै सपनाहरूले थिचिमर्ने कारूणिक कथा उपन्यासमा छ । माहाभारा पढ्दैजादा लाग्छ, लेखक स्वयम डुक्पा हुन् । होइन होइन यसरिचै भनौं महाभारा पढ्दा पढ्दै लाग्छ -म पाठक स्वयम डुक्पा हुँ । यो पनि अलि मिलेन ठ्याक्कै भन्नुपर्दा, महाभारा तपाई हामी लिम्बुवानमा जन्मे हुर्केकाहरूले भोगिपठाएको ब्यथा हो । कथा होइन ।
टपक्क, लेखकले कथामा स्थानिय लवजलाई जस्ताको त्यस्तै टिपेर राखेका छन् । उपन्यासको सबैभन्दा सुन्दर पक्ष यहि हो । तर लेखकले प्रयोग गरेको शैलीले कहिं कतै भने अल्झाउँछ । जस्तो कि, स्थानीय लिम्बु भाषाका केहि शब्दावलीहरू बिना उल्था कथामा प्रयोग गरिएका छन् । पहिले कहिल्यै ति शब्दहरु नसुनेका पाठकहरूका लागि लिम्बु शब्दावली उच्चारणमा अवरोध शिर्जना हुन्छ । नामहरू अफ्ट्यारा लाग्छन् । यसरी भनौं, सिधा बाटोमा गाडिको स्पिड कम गर्न राखिएका हम्पहरू जस्तै छन् ति शब्दावलीहरू । झ्याप्प झ्याप्प ब्रेक हानिरहनुपर्ने ।
उपन्यास पढ्दै जादा कतिपय ठाउँमा कथाले डाँफा मारेजस्तो लाग्छ । धिमा गतिमा कुधिरहेको गाडिमा एक्कासी गियर दाबेजस्तो । अथवा प्रकृतिक अनुहारमा मेकप गरेजस्तो ।
कतिपय पाठकहरूले उपन्यासमा के कहानी छ भनेर पत्तै नपाउन सक्छन् । कथामा प्रेम छ भनौ त्यस्तो गहिरो प्रेम छैन । प्रेम छैन भनौं सिङ्गो उपन्यास प्रेम मै तुनिएको छ । कथामा युद्ध छ भनौं त्यस्तो ठूलो यद्ध छैन । युद्ध छैन भनौं जताततै युद्धै युद्ध छ ।
उपन्यासको मुख्य पात्र घरबाट भाग्छ, झापा झरेर केहिसमय गाडि सिक्छ÷कुधाउँछ । कम्रेडहरूको पछि लागेर घर आइपुग्छ । फेरि काम खोज्दै मधेस झर्छ । मधेस झरेपछि प्रेम सम्झिन्छ, प्रेम खोज्दै घर आइपुग्दा कथा सकिएको छ । यसरी सपनाको गोलचक्करमा फन्को मार्दामार्दै समयले कति छिटो फड्को मार्छ भन्ने गहिरो बिम्ब प्रयोग भएको छ उपन्यासमा । साँच्चै, यथार्थसँग अल्झिएर सपनाहरू खोज्दाखोज्दै समय मिलिक्क गइहाल्छ ।
‘महाभारा’मा युद्ध छ तर महाभारा लडाकुको कथा होइन । महाभारामा आत्मासमर्पर्ण छ तर ‘महाभारा’ भगौडाको कथा होइन । ‘महाभारा’ पूर्णतः यौटा सोझो नागरिकको कथा हो जो परिबन्धमा परेर कहिले लडाकु हुन्छ, कहिले धर्मको सरणमा पुग्छ, कहिले भट्टीमा । कथाको मुख्य पात्र यति सोझो छ कि उसलाई अब के गर्ने पत्तै हुन्न । ठ्याक्कै भन्नपर्दा ‘महाभारा’ बिद्रोही र राज्यसत्ता बिचको राइदलोमा चेपिएकाहरूको कथा हो, जो बिद्रोही र शासकहरूको आ-आफ्नो स्वार्थअनुसार प्रयोग भए । महाभारा दुईदाँत बिचमा चेपिइबसेको चुइगमको कथा हो ।
कथाको मुख्य पात्र आफ्नो कर्ममा खुसी देखिदैन । हुनत ऊ हँसिलो पात्र हो । कथामा जताततै रेला-ठट्टा मारिरहन्छ । ऊ योद्धा होइन, उसले क्रान्ति जान्दैन । उसँग सिद्धान्त केहि छैन । ऊ केवल भुतभुतेमा हालिएको आलु हो । बोक्रा पिल्सिएका छन्, पाकेको छैन ।
अरुलाइ हसाइबस्ने डुक्पा स्वयम समस्याको महाभारामा नमजाले अल्झिएको देखाउन लेखकले डुक्पामाथि निक्कै मेहनत भने गरेका छन् । त्यतिमात्र होइन सिङ्गो उपन्यासभरी लेखकको मेहनत प्रष्ट झल्किन्छ । स्थानीय लवजलाई जस्ताको त्यस्तै टिप्नु लरतरो कहाँ हो र !
सिङ्गो उपन्यासभरि पठाकले ह्या भनेर दिगदारी मान्दैन । बरु नबुझिने अलि अफ्ट्यारा शब्दहरू कनिकुथी छिमल्नै तम्सिन्छ ।
उपन्यास पढिसक्दा लेखकले जनयुद्धलाई बुझेनन् अथवा सतही रूपमा लिए भन्ने आरोप भने लाग्न सक्छ । मलाई भने त्यस्तो लाग्दैन । अघिपनि भने यो युद्धको कथा होइन । युद्धरत समयको ब्यथा मात्र हो ।
उपन्यास अलि लामो भएकाले पाठकले एकै बसाईमा सक्छु भनेर नतम्सिए हुन्छ । कथा र भाषाशैलीमा रम्दै पढ्नलाई दुईदेखि तीन बसाइको जरुरत पर्छ ।
ग्रामिण जनस्तरमा रहेको राजनैतिक चेतलाई मुख्य आधार बनाएर लेखिएको ‘महाभारा’ लिम्बुवान क्षेत्रको कुनै एक निश्चित समयको दस्ताबेज हो भन्दा फरक नपर्ला ।
महाभार पढ्न थाल्दै गर्ला लेखकले मलाई उपन्यासमा ययार्थ नखोज्नु, उपन्यासकै रूपमा पढ्नु भनेका थिए । तर, पानाहरू पल्टाउँदै जाँदा प्राय घटनाक्रमहरू यथार्थपरक छन् । त्यतिमात्र कहाँ पचास देखि साठिको दशकको भनेर तुनिएको कथा अहिले असिको दशक लाग्नआट्दा पनि उस्तै लाग्छ । म स्वयम् पनि कथा उनिएको स्थानिय परिवेशमै हुर्किएको कारण दावाका साथ भन्नसक्छु डुक्पा उर्फ डेनी हुने सपनामा स्थानीयहरू अझै रूमलीरहेका भेटिन्छन् ।
अझै पनि फुङसिङ महाभाराको थाप्लोमा ट्रकको हरन सुन्न मुस्किलै पर्छ । अझै पनि ट्रकको पछि उसरी नै डिम्माहरू झुण्डिरहेका भेटिन्छन् ।
समग्रमा लेखककै भाषामा भन्नुपर्दा महाभारा ओके छ त !
उपन्यास : महाभारा
लेखक : बसन्त बस्नेत
प्रकाशक : फाइनप्रिन्ट
प्रतिक्रिया
-
४
