✍️  अकबरे

– यो चश्मा विश्वेश्वरप्रसादको पुरातन दोषी चश्मा होइन । यो चश्मा त्यो आधुनिक समयको चश्मा हो जतिखेर बिश्व प्रबिधिले मंगल ग्रहमा मानव बस्ति बसाउने अन्तिम तयारि गरिरहेको हुन्छ ।

बिरबहादुरलाई छोराले अमेरिकाबाट रंगिन चश्मा उपहार ल्याइदिएछ ।

दश बर्षपछि अमेरिकाबाट घर फर्कीएको छोराको उपहारमा चस्मा देखेर बिरबहादुर ट्वाँ पर्यो ।

छोरो आउने अघिल्लो दिन बिरबादुरले कति धेरै सपना देखेको थियो । नदेखोस् पनि कसरी भएकै यौटा सन्तान थियो उसको । दुःखले हुर्काएको, पढाएको थियो । मेहनतले हुर्काएको बेर्नामा राम्रो फल लागोस भन्ने आशा कसलाइ पो हुदैन र?

उसोतः बिरबहादुरले छोराँंग उपहारको आसा भने राखेको थिएन । कतै टाढा भएको सन्तान शकुसल घरसम्म आउनुनै बाउ आमाका निम्ती सबैभन्दा ठूलो उपहार हो ।

“यो चश्मा के गर्नु मैले?” चश्मा पावरवाला नभएकाले पनि होला, बिरबहादुरले चश्माको अर्थ नबुझेरै प्रश्न गर्यो छोरासँग ।

“बुबा अब हामी पुरातन समयमा छैनौं । यो ग्रामिण श्याम-श्वेत जिन्दगी कतिदिन बाँच्ने ? तपाइँले अब यो आधुनिक समयको रंगीन चश्मा लगाउनुस् । हामीले हाम्रो जीवन पद्धतिमा कायापलट गर्नुपर्छ ।” छोराले बढ दार्शनिक जवाफ दियो ।

बिरबहादुरले छोराको आधुनिक भाषा बुझेन । बुझ्नपनि चाहेन । बरू उसलाई चश्मा अलि अनौठो लाग्यो । त्यति मनपरेन भनौं । खै के नमिले नमिले जस्तो, के नपुगे नपुगे जस्तो, शूचिकारले सिलाउँदा सिलाउँदै बिगारेको कपडा जस्तो, कुमालेले माटो खेलाउन नजान्दा बिग्रिएको हाँडि जस्तो, खै कस्तो कस्तो… – ऊ अकमकियो ।

“कमन ड्याड, चस्मा लगाउनुस् र त्यो शीरको पुरातन टोपी निकालेर फालिदिनुस ।” छोराले केहि नसोचि प्वाक्क बोल्यो । हुनतः उसले अमेरिका गएपछि अरूको बारेमा कमै सोच्न थालेको छ । ऊ हरेक परिबेशलाई ऐना सम्झन्छ र आफूलाई नियाल्छ । यो उसको अहमता हो तर ऊ यहि विशेसतालाई आफ्नो महानता सम्झन्छ ।

जीवनमा दुःख भन्दा धेरै ठूलो अभिसाप हो सुख । तितो भन्दा गुलीयोले बेफाइदा गर्छ । तर मान्छेले सुखनै रोज्छ । गुलियो नै खोज्छ । बिरबहादुरको छोरो आधुनिक समयको मान्छे, आधुनिकताको चरम उत्कर्ष भन्दा फरक रहने कुरै भएन ।

“के अरे ? शीरको टोपी फाल्ने ? यो टोपी मेरो इमानको सगरमाथा हो । बरू तेरो चेश्मा चाहिएन । टोपी फाल्दिन ।” बिरबहादुर पहिल्यै देखि कडा स्वभावको छोराको कुरा किन पो सुन्थ्यो र ?

“ह्वाट, यो चश्मा मेरो पनि इमानको चश्मा हो । मैले साथीहरूलाई तपाईंको यो पाखे जीवनपद्धती कसरी देखाउँ ? कसरी सुनाउँ -मेरो ड्याड गाईको भकारा सोेर्छन्, घाँस काट्छन्, गाउँमा बस्छन् भनेर ? प्लिज ड्याड अब समय तपाईंहरूको होइन । यो हाम्रो समय हो । तपाईंको समयमा के गर्नुभयो यो बिषयमा मेरो कुनै गुनासो छैन । तर, अब समय आधुनिक भैसक्यो । समयअनुसार चल्न सक्नुपर्छ मान्छेले । समयकै एक किस्सा हौं हामी । अब पुराना दिनहरूलाई, पुरातन कुराहरू सम्झेर महानता नभन्नु । ति त अन्धकारहरू हुन् ।”

माता पिताका लागी सन्तान सर्वश्व हुन् । बिरबहादुरले सोच्यो मेरो सर्वश्व भन्नुनै यहि यौटा पिप्सो त हो । छोराको तर्कसँग असहमत हुदाँहुदै पनि बिरबहादुरदे सन्तान शुखको लागी एकपटक फेरि हार्यो । जीवनमा हजारौं पटक यसरी नै बिरबहादुर हारेको छ छोराको खातिर । उसले शीरको टोपित फुकालेन तर चश्मा लगायो ।

रंगिन चस्माले दुनियाँलाई रङ्गिन होइन अझै श्याम बनाइदियो । बिरबहादुरले बुझेन —हेर्दा रंगिन देखिने यो चश्माले किन दुनियाँलाई घुरमैलो र मधुरो बनाइदियो ?

“बुबा अब तपाईं बूढो हुनुभयो । हामी गाँउमा होइन सहरमा बस्नुपर्छ ।”

“कसो अरे गधा ? तेरो बाउ बूढो भयो अरे! नाप्या छस् तैले, दश बर्षदेखि नाकमुख नदेखाउँदा कसले पाल्यो मलाई ? अझै आफ्नै पौरखले डुडुली डुब्नेगरी दूधभात खान पुर्याइरहेको छु । जमानामा दुई मुरी धान यहि थाप्लोले उचालेर बाँदेरे भिरमा एकठाउँपनि नबिसाई ढिकुटीमा बिसाउने मान्छे हुँ ।

खार्दा-खार्दैको एक मानो सङ्लो घ्यू तनतन पिउने ज्यान हो मेरो । तेरो बाउलाई अझै २० बर्ष ठाँगेले छुदैन । मर, कहाँ जान्छस् जा । तँ नहुदा पनि बाँच्छु । घ्यू भात नै खान्छु ।” छोरो केहि भन्दैथियो । ‘बूढो’ शब्द सुनेर बिरबहादुरको पारो तातेर आयो । छोराको कुरा बिचमै काटेर कड्किहाल्यो । सबैलाई सधैं जवान भइरहन मन लाग्दोरहेछ । बिरबहादुर पनि अछुत रहेन ।

परिबेशमा हुस्सु लाग्यो । खासमा हुनुपर्नेथियो बर्षा पछिको चमक ।

अमेरिकामा घर किनेको छु । आफ्नै गाडि छ । राम्रो जागिर छ । अनि बुबा भेट्नचै म यो पहाडको ठाडै उकालो हिंडेर आउनुपर्ने? मेरो प्रगतिको के अर्थ भयो? छोरो आफ्नो बुबाको पुरातन सोच देखेर सोचमग्न भयो ।

बिरबहादुरले पनि सोच्यो, समय हिजोजस्तो आज छैन । गोठबाट घर आउँदा तिन ठाउँ ख्वी गर्नुपर्छ । हिजो स्पष्ट देखिने आकृतिहरू आज धुमिल देखिन थालेका छन् । खाएको कुरा पहिलेजस्तो पच्दैन । हात काँप्छन् । दम बढ्छ । लाठी साथमा नराखे हिंड्न सकिदैन ।

उसले आफ्नो आयूको औंला भाँच्यो । तिन बिस एक दश । अहो ! बल्लपो बिरबहादुरले आफ्नो उमेरको हेक्का पायो । साँच्चै म बूढिएकै हुँ त ? अब त लाठीको जोहो पो गर्नुपर्ने बेला भएछ । के थाहा कतै हिंड्दा हिंड्दै फुस्स भएँ भने कसले उठाउने ? के थाहा हात कामेर भागको भात मुस्न छाड्योभने कसले मुसिदिने ? सुतेका बेला ऐठन भयो भने कसले बहुर्याइदिने ? साह्रो गारो पर्दा कसले पानी तताइदिने ?

हिंउदको तुसारो जस्तो टक्क जम्यो उसको मन । सोच्यो सन्ताननै त हुन् बुढेसकालको लाठी । मेरो छोरो छ नि । आफ्नो रचनाप्रति कति ठूलो भरोसा हुन्छ रचयिताको । क्षणभरमै नौनी बिलाए जसरी बिरबहादुरको मन पग्लियो ।

“भन अब मैले के गर्नुपर्यो ?” निकैबेरको सन्नाटा चिर्दै बिरबहादुरको बोली फुट्यो ।

छोरो खुशीले बिरबहादुरलाई अङकमाल गर्न पुग्यो । उसले उसरिनै अङ्कमाल गर्यो जसरि केटाकेटिमा ऊ बिरबहादुरले हाटबाट जुलेबी र मकैको फुय्याँ मिठाई ल्याइदिदा गथर््यो ।

बिरबहादुरको छाती ढक्क फुल्यो । सोच्यो छोराले यति धेरै आधुनिकताको रमझममा रुमलिए पनि बालापनको रमरम बिर्सिएको रहेनछ । बालापनका आदतहरू सङ्गालेरै राखेको रहेछ । उसले अघि छोराले भनेको सहर शब्द सम्झियो ।

कुनै समय थियो बिरबहादुर गाउँका उजस्तै लाठेहरू भेला भएर गाउँभरिको घ्यू जम्मा गर्थे । कुचो बाट्थे र नुन लिन मधुमल्ला (पूर्वी पहाडको पुरानो ब्यापारिक केन्द्र) झर्थे । बिरबहादुरहरूको पालामा सहर भन्नु नै मधुमल्ला थियो । सहरमा पसलहरू थिए ।

लामा लामा जुङ्गा परेका साहुहरू थिए । उसले सम्झियो पेरङ्गे (पूर्वी पहाडिहरू मधेस झर्ने मुख्य बाटो । करिब ६ घन्टा लामो पहाड-चुलिनै चुलिको चेपको डरलाग्दो बाटो, जहाँ भरियाको अलि ठूलो ढाकर पनि कोल्टे पार्दामात्र छिर्छ)को चेपमा बाँदरसँग खेलेको लुकामारी । कति मीठो अतित…! बिरबहादुरले मिजासिला साहुहरू सम्झियो । सहरका असल मान्छेहरू सम्झियो । उबेलाको पुरातन सहर सम्झियो जतिबेला सहर वास्तवमै सहरजस्तो चेतनशील थियो ।

उसलाई खुलदुली पर्यो हाम्रै मधुमल्ला त त्यस्तो थियोभने अमेरिका झन कस्तो होला ? कति राम्रो होला ? तत्कालै बिरबहादुरले गाउँ पनि सम्झियो । आजसम्म उसले भोगेका दुःखका किस्साहरू उधिन्यो । उसलाई याद छ बिहेको दिन बिरबहादुरका पैतालाले पहिलोपल्ट जुत्ताको स्वाद थाहा पाएको थियो । उसले बिर्सेको छैन सिटामोल नपाएर श्रीमतीले प्राणलिला त्यागेको हिजो नै त हो ।

मर्दा पर्दाका जन्ति मलामी भएर मात्र के गर्नु ? बल नभए मुखमा माढ लाग्दैन । सुन हुन्छ गाउँमा नुन हुदैन । कुटो कोदालो नगरे जीवन बेसुरो लाग्छ । उकाली—ओराली पहाडका पर्याय हुन् ।  कति ठोक्नु आफ्नै तालु यि पहाडहरूसँग ? कति रगट्नु यि नङहरू चट्टानहरूसँग ? कति खियाउनु पैताला यो फुस्रो माटोमाथि ?

‘अमेरिकामा पो बस्छ त मेरो छोरो ।’ सम्झिएर बिरबहादुरको छाती उसरिनै गमक्क फुल्यो । जसरी हावा भर्दा बेलुन फुल्छ । छिमेकीहरूले पनि बिरबहादुरलाई पहिलेदेखिनै सम्झाएका हुन् । ‘सहर जा उतै बस । ठाउँमा छोरो छ । के दुखिया मुख लगाएर डाँडापहाड गर्छस ?’ त्यतिखेर उसले सुनेन गाउँलेको कुरा । बिरबहादुरलाई लाग्थ्यो दुःख भन्नुनै सन्तुष्टी हो । जहाँ सन्तुष्टी त्यहाँ आनन्द । तर आज छोरालाई देखेपछि बिरबहादुरको सोच बदलियो ।

सोच्यो ‘ जिन्दगी दुःखै दुःखमा बिताउने पनि त हैन । कतिपो गर्नु हउ दुःख पनि ।’ उ स्वतः जवानामा बिरबहादुरले के पो गरेन– एक छाक खाएर साहुको खेत पो जोतेन कि ? एक हजार ऋणका लागि हलिया पो बसेन कि ? घाँस काट्दा कयौ पटक घाँससँगै आफ्नै औलाहरू पो काटेन कि ?

त्यतिमात्र नभएर छोरालाई पढाउन दलालको लहलहैमा परेर यौटा मिर्गौला पो बेचेन कि ? आजसम्म उसले कहिल्यै आफूलाई खोजेन । खोज्ने फुर्सद नै कहाँ पो थियो र ? साँच्चै भन्नुपर्दा म को हुँ भन्ने हेक्का आजसम्म भएको छैन उसलाई । दुःखसँग कुस्ती खेल्दाखेल्दै जीवनको सङ्गीत भुलेको छ उसले ।

आज त्यहि छोराले सहर जाऔं भन्दैछ । क्षण भरमै बिरबहादुरको मनले अमेरिकाको बिमान चढ्यो । उसको धडकन यतिबेला बादलमाथी रमाइरहेछ । बिरकहादुरको मन सुखको सङ्गीतमा नाच्न थाल्यो । दुःखको बेसुरो धुन चटक्कै विर्सीदियो उसले । बिरबहादुर बिनाहिचकिचावट छोराले ल्याइदिएको समयको आधुनिक चश्मा लगाएर सहर पस्यो ।
….
बिरबहादुरले सोचेको थियो सहरमा छोराले घर किनेको छ । नभए अब किन्ने छ । अब छोरो आफूसंगै बस्छ ।  बिहे गर्छ । नातिनातिना खेलाउँछु र जिन्दगीको सफल अवतरण गराउँछु । तर, संसारमा मान्छेले सोचेका चाहेका कुराहरू, देखेका सपनाहरू कहाँ पो पूरा हुन्छन् र ? बिरबहादुरले सोचेभन्दा ठीक उल्टो भैदियो समय । न छोराको सहरमा घर थियो न बनायो नै । न त बिहेनै गर्यो, न त बिरबहादुरले नाति नातिना खेलाउन पायो । बरू कल्पना भन्दा धेरै परको घटना घट्यो ।

“यहीं हो अब तपाईंको संसार । यही रमाउदै गर्नुस । तपाईंजस्तै अरू बुबाहरूपनि हुनुहुन्छ । म आउँदै गर्छु । मेरो अमेरिकामा धेरै काम छ । अहिले अमेरिका लान सक्दिन तपाईंलाई । सहरको बानि पनित पर्नुपर्यो । पछि बानी परेपछि लिन आउँछु ।”

छोराले त सहरमा भनेको यति मात्र थियो तर बिरबहादुरको मनले त्यतिखेरै आफ्नो सन्तान गुमाएको सम्झियो । जिउँदै हुदाहुदै आफ्नै छोराको काज-किरिया गर्यो । र, लाचार भएर सन्तान हुदाँहुदँै आफू अपुताली भएको कल्पनाजस्तो लाग्ने तितो यथार्थ स्वीकार्यो ।

स्यानो चोटले कतिठूलो पिडा दिन सकेको होला ? सायद भरोसा धेरै भएर पो हो कि ? भरोसा धेरै गरिएकाबाट पाएको स्यानो चोट पनि पहाड जत्रै हुन्छ भन्छन् । क्षणभर मै बिरबहादुरको जीवन उस्तै बेसुरो भयो । जतिखेर ऊ सन्तान नहुँदा भएको थियो । हर्षले नाचिरहेको उसको मन क्षणभरमै उजाड मरभुमिमा अवतरण भयो ।

हुन पनि त हो, सन्तान नहुने बेसहाराहरूका लागि हो बृद्धाआश्रम । बिरबहादुरको त योग्य छोरो थियो । कसरी पो मान्छ र ति बृद्ध बृद्धा बाउ-आमाको मन जव आफ्नै सन्तानले आफूलाई सहारा दिन सक्दिन भनेर आश्रम पुर्याउँछन् ? अझ पूर्विय संस्कृतिमा माता पितालाई भगवानको जीबित अवतार मानिन्छ । त्यतिखेर बल्ल बुझ्यो उसले छोरालाई मैैैैले दुःख पाएकोमा होइन म बाँचेकोमा पो समस्या रहेछ । चिन्ता रहेछ ।

छोरो सपनाको सहर उढेपछि बिरबहादुरसंग जम्माजम्मी छोराको नासो समयको आधुनिक चश्मामात्र बाँकि रह्यो ।

बिरबहादुरको हातमा अब उसको पुरानो घगौंरूको लाठीको साटो आश्रमले दिएको प्लास्टिकको लाठी पर्यो जसले उसलाई सहारा दिन सक्दैन ।

कुनै समय उसको इज्जत छोप्ने स्वभिमानको टोपी थियो, जसको ठाउँमा अब समयको बेअर्थी चश्मा पर्यो । कुइनाबाट दूध चुहाँउदै भात खाने उसको भागमा अब आश्रमले दिएको अलिकति पातलो मुसरको दाल र प्लास्टिक चबाएजस्तो लाग्ने बेस्वादका भातका सिताहरू परे । गाउँमा हुँदाको तागत र उसको रवाफ माटामै मिल्यो ।

सहरका न उसलाई कसैले चिने न उसलेनै कसैलाई चिन्न सक्यो न चिन्ने प्रयत्न नै गर्यो । गाउँमा बिरबहादुरहरूको भजन मण्डली थियो जहाँ शुद्ध गाउँले अर्गयानिक भजनहरू सुन्न सकिन्थ्यो । सहरमा भजन मञ्डल त छ तर भजनको साटो सन्तान गुमाउनुको बिरहभन्दा अरू केहि गाईंदैन । आश्रममा बिरबहादुरले सयौं अरू बिरबहादुरहरू भेट्टायो जोसंग उसका ब्यथाहरू मिल्थ्यो तर भावना मिल्थेन ।

सबैथोक भएर पनि जानाजान बिर्सनुपर्ने समयको आधुनिक चश्माले बेरिएको बृद्धा आश्रम बिरबहादुरलाई फराकिलो यौटा खुला जेलजस्तो लाग्यो । ऊ आफ्नै गाउँ फर्किएर पाखा पखेरामा बुढ्यौलीको बुर्कुसी मार्न चहान्थ्यो । तर छोराको आधुनिक समयले गाउँको नाम निशानै मेटाइदियो ।

बिहान सखारै उठेर पधेंराको शुद्ध पानीले मुख धुने बिरबहादुरलाई सहरको फोहर त्यो पनि कहिलेदेखिको बासि पानीले मुख धुन दिङदिङ लाग्यो । पाइखाना जाँदा पनि लाइन बस्नुपर्यो ।

दिनैजसो बाख्राका पाठासंग लुकिडुम खेल्ने उसलाई बिस्तारा नजिकैको झ्यालबाट तल सडकमा कुकुरले छाउरा घिसारेको हेरेर चित्त बुझाउनुपर्ने भयो । कुनै बेला डाँडापाखा सेरोफेरो सबै मेरो भनेर देखाउने बिरबहादुरको नाममा यतिबेला यौटा बिस्तारा मात्र छ, त्यो पनि अस्थाई, आश्रमले दिएको । बिरबहादुरको श्वास गएका दिन त्यो बिस्तारा पनि अपरिचित अरू कसैको हुनेछ ।

बिहानै उठेर मन्दिरको आसपासमा टोलाउनु र दिनभरी सहरको सडक फन्को मार्नुनै बिरबहादुरको दैनिकी बन्यो ।

एकदिन उसले बाँदरको छोरो जिस्क्याइदिदा बाँदर्नीले बिरबहादुरको गालामा झापड हानी । कुनैबेला बिरबहादुरको छोरो स्यानै हुँदा छोरालाई कसैले पिटिदिएछ ।

त्यो दिन बिरबहादुरले आफ्नो छोरो पिट्नेलाई भक्कुमार पिटेको थियो । आज बाँदरका आमाको खस्रा औलाहरूको झापड बिरबहादुरका गालाले स्पर्स गर्यो । त्यो झापडले बिरबहादुुुुरको तनमा पिडा भएन । तर, उसको मनभने खुब दुख्यो । दिनभर रोयो ऊ ।  सायद सन्तान मोह अझै मरेको थिएन उसमा । बाँदर्नीले बिरबहादुर रोएको दिनभर हेरिरही ।

बिस्तारै बाँदरका छोराछोरीहरू अब बिरबहादुरका पनि छोराछोरी भए । ऊ बाँदरको छोराछोरी उफ्रेको नाचेको हेर्छ र आफ्नो छोराले केटाकेटिमा नाचेको सम्झन्छ । खानेकुराहरू दिन्छ । खेलाउँछ । उसले बाँदरका सन्तानलाई प्रेम गर्यो । यो कुरा बाँदरकी आमाले बुझी । उसले चुपचाप स्वीकारी । दुनियामा मात्रित्वको भाषा यौटै हुदो रहेछ । चाहे उच्च चेतनाको खोल ओढ्ने मान्छे होस् या अन्य प्राणी, जनवारनै किन नहोस् ।

मन्दिर नजिकै पबित्र नदि छ । पबित्र नदीको पानी हेरेर बिरबहादुर बारबार तर्सिरह्यो । नदिमा फोहर बग्छ कि पानी ? कि आधुनिक समयको आधुनिक पानी हो यो? उसले कहिल्यै ठम्याउन सकेन ।

उसो त, सहरमा स्वास फेर्न पनि बिरबहादुरलाई सकस परिरहेको छ । स्वास फेर्दै छु कि धुवाँको मुस्लो ? ऊ छुट्याउन सक्दैन ।

सडक पेटिमा छाडिएका बुढा चौपायाहरू देख्दा बिरबहादुर सोच्छ -बैंश हुदा यिनको दूध कसले खायो होला ? यिनको दूध बेचेर कति पैसा कमायो होला उसले ? तर आज खै यिनीहरूको मालिक ? अनि ऊ आफूलाई नियाल्छ । उसले पनि त बल बैंश हुँदा आफ्ना सन्तानहरूलाई आफूलाई बिर्सिएर प्रेम गरेको थियो । आफू भोकै बसेर सन्तानको पेट भरेको थियो । तर खै ति सन्तानहरू आज ? के फरक छ आफू र यि बुढा बेसहारा चौपायाहरूमा ? उसले बारबार कोशिस गर्दापनि बुझ्उन सक्दैन किन मान्छेमा पशुत्व बढ्दै छ ? कि रंगिन समय भन्नुनै मानव पशु बन्ने र पशु मानव बन्ने प्रकृया हो ?

सडकका पेटिमा फोहर प्लास्टिकका बोतल बटुलेर गुजारा टार्ने सडक बालकहरू बिरबहादुरका लागि अब खुला पुस्तक भएका छन् । ऊ दिनभर तिनै पुस्तकहरू पढेर जीवनको अर्थ बुझ्न थालेको छ ।

सडकमा भौतारिदा कतिपटक बिरबहादुरदे मान्छेका लास देखेको छ । यसरी सडक पेटिमा मरेका मान्छेहरू देख्दा उक्त लासमा ऊ आफ्नै अनुहार देख्छ ।

ठूलठूला महलको अघिल्तिर पुग्दा बिरबहादुरलाई लाग्छ यि मान्छेको मेहनतका महलहरू हैनन् । यि त तिनिहरूका समाधिस्थल हुन् । जहाँ एकदिन तिनै मान्छेहरूलाई आफ्नै आडम्बरले पुरेर मार्नेछ ।
सफाचेट मान्छेहरू देख्दा बिरबहादुरलाई लाग्छ पापको आधुनिक मोसो दल्नेहरू यिनै हुन् । सुकिला मुकिलालेनै आफूलाई सफाचेट राख्न अरूलाई फोहर दलिदिन्छन् । बिरबहादुरले बुझ्यो -सहरियाहरूको मन कालो गाउँलेहरूको तन । सहरियाहरूको तन सेतो गाउँलेहरूको मन ।

सहर बिरबहादुरले देखेजस्तो, सोचेजस्तो सहर छैन । सहरमा जीवन छ तर गाउँको जस्तो प्राण छैन । सहरमा भोक छ तर गाउँमा एकछाक खाँदाको सन्तुष्टी छैन । सहरमा अथाह छ तर गाउँको जस्तो पूर्ण छैन । प्रबिधिले सहरलाई संसारसँंग जोडेको छ तर गाउँ जस्तो नजिक छैन । गाउँमा औंचो-पैचो चल्छ सहरमा तानातान । गाउँमा माया-ममता छ सहरमा काटमार । गाउँलेहरू भोकसंग डराउँदैनन् सहरियाहरू भोकले मर्छन् । सहरमा रूप छ गाउँजस्तो रंगिन छैन ।

सहरमा बाद्यवादन जतिपनि छन् तर गाउँजस्तो संगीतमय छैन । सहरमा फूल छन् गाउँजस्तो सुवास छैन । बिरबहादुरलाई लाग्छ पक्कै गाउँ भगवानले बनाएको हुनुपर्छ । त्यसैले त हरदम गाउँ चेतन छ । जीवित छ । पिडा छ र सुख पनि । बिरबहादुरलाई थाहा छ सहर मान्छेले बनाएका हुन् । त्यसैले सहरका मानवमा पशु आचरण छ्यापछ्याप्ती भेटिन्छ । मुर्दाजस्तो छ सहर । सहर त अचेतन ढुङ्गो भैसकेछ । उसले मन बुझाउँछ -सायद समयको आधुनिक सहर यस्तै होला ।

सहरमा सबै शिक्षित छन् । लेखपढ गर्न जान्दछन् । नामको अगाडि डिग्री झुन्ड्याउनेहरू गल्लि गल्लिमा ठोकिन्छन् । ऊ अचम्ममा पर्छ नामको अगाडि डिग्री झुन्ड्याउनेहरूले किन कामको अगाडिचै बदनाम झुन्ड्याइरहेका होलान ? ऊ देख्छ चेतनाले मान्छेलाई अचेतन पो बनाइरहेछ । ऊ सोच्छ किन चेतनाले मान्छेलाई चेतनाशुन्य बनाइरहेछ ? उसले खण्ड प्रत्न गरेपनि बुझ्दैन ‘के चेतनाको आधुनिक रूप अन्धो हुनु हो ?’ उ प्रश्न गर्छ —चेतनाले त आँखा खोल्नुपर्ने हैन र ?

सहरले खोज्ने र दिने भनेको पैसामात्र हो । सहरका लागि पैसा सबैथोक हो । बिरबहादुरले पुरातन दिमाखले यो कुरापनि बुझ्दैन ‘आधुनिकता भन्नु नै पैसाको प्रचुर पहुँच हुनु हो ।’

बिरबहादुरलाई समयको रंगिन चश्मा फाप्दैन । भनिन्छ ‘दुनियाँलाई बेरूपको देख्नु भन्दा अन्धो हुनु जाती ।’ बिरबहादुरले छोराको इमानको आधुनिक चश्मा यतै कसै सहरकै कुनै गल्लीमा फोहरका थुप्रामाथि मिल्काएर सुटुक्कै जिन्दगीलाई सधैंका लागि अवतरण गराउँछ ।
बिरबहादुरलाई खोज्ने कतै कोहि भेटिदैन ।

हप्तादिन पछि पवित्र नदि किनारमा सडेको मानव आकृती जस्तो लाग्ने सिनो हेरेर एकहुँदा बाँदर रोइरहेका देखिन्छन् ।
….
– बिरबहादुर त्यो देशको नागरिक हो जहाँको सरकारले भर्खरै यूवाहरू बेच्न तेश्रो मुलुमसँग श्रम सम्झौता गरेको छ ।

– यो त्यो समयको कथा हो जतिबेला बिरबहादुर जन्मिएको देशबाट सुन्दर भबिश्य खोज्न दैनिक हजारौं युवाहरू परदेश भासिइरहेका हुन्छन् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर