✍️ अमन एकल
गजल – एक
देख्छौ एउटै धर्ती आकास तिम्ले पनि मैले पनि
गर्छौं उस्तै दुखाई आभास तिम्ले पनि मैले पनि
सोच फरक हुन सक्छ रगत रातै धमनिमा
बाच्नलाई फेर्नुछ श्वास तिम्ले पनि मैले पनि
प्रेम घृणा लोभ र मोह बाचुन्जेल हो तेरो मेरो
भोग्नै छ मृत्युको उपहास तिम्ले पनि मैले पनि
हिजो बित्यो आज छ भोलि कस्ले देख्या छ र ?
चाहे बन्थ्यो जिन्दगी खास तिम्ले पनि मैले पनि
रित्तै आयौं रित्तै जान्छौं कात्रो भित्र बेरिएर
लोभैले डाक्छौ बिनास तिम्ले पनि मैले पनि
मन हो ठूलो बुझ्नु छ हातका मैला न हो धन
कमाईएला सौ पचास तिम्ले पनि मैले पनि
दुई दिनका हौं पाहुना यो जगतमा हामी त
खुशी बाढ्दै बसौं बास तिम्ले पनि मैले पनि
समीपमा आउ रसिला अधर तिम्रा चुम्न देउ
खास बनाउला मधुमास तिम्ले पनि मैले पनि
गजल – दुई
समिपको छोडी अचेल दुरगामी सोचिरहेछु
त्याग अंगाल्दै प्रेममा मन डामी सोचिरहेछु
रगत रातो सबै एकै किन हुन्छ पक्षपात
कुन हो ब्राह्मण कुन हो कामी सोचिरहेछु
प्राणै लिने कोशिश गर्दै यादहरूले बारम्बार
जरा गाडी बस्यो किन मुटु छामी सोचिरहेछु
राम्रा काम गर्ने भन्दा नराम्रा छन् हाईहाई
बदनामी हुनु पर्ने हुन्छन् नामी सोचिरहेछु
झारफूक ब्यर्थ भुतप्रेत हुन्न भन्छ बिज्ञानले
कुन हो बोक्सी कुन हो धामी सोचिरहेछु
राजनेताको ताज पैह्री देश बेच्दैछन् यहाँ
देश भक्त कि यी हुन हरामी सोचिरहेछु
ज्यान लिन्छु भन्नेको लाम देख्छु यता मैले
मरे एकलको को होला मलामी सोचिरहेछु
प्रतिक्रिया
-
४
