✍️ चन्द्रावति अधिकारी
मुक्तक – एक
टिष्टा अनि काँगडाको कथा भुलिसके !
अमेरिका पुग्ने सित्तै भिसा खुलिसके
हाम्रा भाइ वन्धुहरू परदेशका भोका,
पाखा बस्ती छिमेकका ब्वाँसा डुलिसके ।
मुक्तक – दुई
आमा तिम्ले जन्माउन जानिनौ कि कतै ?
अरुले नि भन्दा पनि मानिनौ कि कतै ?
तिम्रै खुट्टाभरि आमा बन्चरोले हाने,
सपूत र कपूत नि छानिनौ कि कतै ?
मुक्तक – तीन
रुन्छ मन पुर्खाको यो माटो सम्झिएर ,
भिरपाखा गरेको त्यो बाटो सम्झिएर ।
झरी अनि वर्षात र घाम पानीले कुट्दा,
चुहिने त्यो धुरी अनि भाटो सम्झिएर ।
मुक्तक – चार
खडेरीमा उकालीको बर याद आयो,
झुपडी नै भए पनि खर याद आयो ।
बन्दकी छ ज्यान आज परदेशको भूमिमाथि
आटो सिस्नो पाक्ने मेरै घर याद आयो ।
मुक्तक – पाँच
मेरो देश मेरो गौरव भनूँ भनूँ लाग्छ ,
दुम्सी लुक्ने प्वालहरू खनूँ खनूँ लाग्छ ।
अमूल्य यो देशको माटो पुर्खाको हो नासो,
वैरी सिध्याउने भालाबनूँ बनूँ लाग्छ ।
प्रतिक्रिया
-
४
