दाङ – उदाहरण समूह दाङको आयोजनामा सञ्चालन भैरहेको तीन दिने तेस्रो दाङ लिटरेचर फेस्टिबलको अन्तिम दिन आज पनि उत्तिकै महत्वका साथ बिभिन्न सेसनहरू सञ्चालन भए ।
यस महोत्सव कार्यक्रमको अन्तिम सेसनका रुपमा रहेको थियो रेमिट्यान्स कविता वाचन कार्यक्रम । देशको महत्वपूर्ण आर्थिक खम्बाको रुपमा रहेको छ रेमिटेन्स । र रेमिटेन्स पठाउँछन् । देशका होनहार युवा पङ्क्ति जो देश छोडेर उडेका छन् मुग्लान र ल्हासातिर । ती युवाहरू रेमिटेन्स मात्र पठाउँदैनन्, कविता पनि लेख्छन् । कविता लेख्ने तिनै युवाहरूलाई भर्चुअलबाट समेटेर कविता वाचनको कार्यक्रम थियो रेमिटेन्स कविता वाचन ।
कविता वाचनमा अधिकांश कविहरूले देशको चिन्ता गरे । परदेशमा रहँदा आफ्नो घर परिवारसँग छुट्टिनु पर्दाको पीडा, परदेशमा भोग्नु परेको आँसुको कथालाई पनि उत्तिकै मर्मस्पर्शि रुपमा प्रस्तुत गरे ।
कविता सुनाउने कविहरू निरा शर्मा (अमेरिका भर्जिनिया), शरद पोख्रेल (जापान), जीवन खत्री (द. कोरिया) सुरज राना (युएइ), गणेश खड्का (सेसल्स अफ्रिका), पराजित पोमु (द. कोरिया), रुप रसाइली (कतार), शकुन आँसु (द. कोरिया), सुष्मा रानाहँमा (द. कोरिया), दिपा मेवाहाङ (द. कोरिया), खोम गुरूङ (द. कोरिया), जयन्ती मगर सरगम (जापान), रविन शर्मा (जापान), सविना रेग्मी (जापान), शारदा धिताल (युएस), रोशन याक्सो (हङ्कङ), महेश्वर शर्मा (अस्ट्रेलिया), र अर्जुन श्री (पोर्चुगल)ले एक एक थान कविता सुनाए ।
कवि पराजित पोमुले केही समय परदेशमा बसेर लेख्ने कविहरूलाई डायस्पोरा वा रेमिटेन्स कवि भन्ने कि नभन्ने भन्ने प्रश्न पनि उठाए ।
नेपालमा यी कविहरूले रेमिटेन्सका रुपमा अार्थिक मात्रै नपठाएर कविता साहित्य समेत पठाएर नेपाली साहित्यलाई गुण लगाएका कारण कार्यक्रममा रेमिटेन्स कविता सेसन राखेर प्रवासमा रहने कविहरूलाई समेटेको आयोजक मध्ये एक घनश्याम अस्तित्वले बताए ।
प्रतिक्रिया
-
४
