✍️ कमला न्यौपाने

प्रेमालाई बिहानको पौने ७ बजे घरबाट हिडीसक्नु पर्थ्यो । उनलाई काममा पुग्न १५ मिनेटजति लाग्थ्यो । उनलाई सबैभन्दा मन नपर्ने नै बिहानै उठ्न । तर जागिरले उनलाई उठाइरहेको थियो । उनी आफैँ गाडी चलाएर काममा पुग्थिन् ।

एक मिनेट पनि ढिलो गर्ने उनलाई अनुमति थिएन । सुपरभाइजरले नोटिस पठाइहाल्थे । सुरुक्क उठेर काममा जान पाए पनि त हुने ! तर घरमा श्रीमानलाई अलिकति सघाउनै पर्यो ।
ठूलो छोरालाई स्कुलको लन्च, सानी छोरीलाई डे केयरको लागि लुगा, कपडा, खाना र डाइपर र दूध ठिक पारेर हिड्नु पनि उनको ड्युटी हो ।

उनका श्रीमान बच्चालाई ब्रेकफास्ट खुवाउथे । ठूलो छोरालाई स्कुल र सानी छोरीलाई डे केयर पुर्याएर काममा जान्थे । बेलुकी दुबै जनालाई साथै लिएर घर फर्किन्थे ।
प्रेमलाई ६ः४७ सम्म काममा पुग्ने छुट हुन्छ । केहिगरी लगालग केहिदिन सम्म ६ः५५ नै भयो भने काममा ठिला आउनेहरूको लिस्टमा नाम आउने डर हुन्थ्यो ।

यसरी नै ढिला भइरहे एक दिन काममा नआएको सरह छुट्टी लिएको गनिने हुन्थ्यो । त्यसैले उनी समयमा नै काममा पुग्ने हतारमा हुन्थिन् । बेला बखत छोराछोरी बिरामी पर्ने भएकोले छुट्टी सा्चेर राख्नु पर्नेछ । त्यसैले उनी प्रायः काममा ठिक समयमै पुगेकी हुन्थिन् ।

सधैँजसो प्रेमालाई आज कल १५ मिनेटको गाडीको बाटोमा ससाना घर छोडेका नानीबाबु र श्रीमान्को सम्झना त्यति आउदैन ।

बरु आज बिरामी कस्तो असाइनमेन्टमा पर्ने हो, कोभिड लिएर घर जाने हुँ कि ? कोभिड आफैँलाई लागेर मर्ने हुँ कि ? या घरमा श्रीमान केटाकेटीलाई सर्ने हो कि ! भन्ने सोचिरहन्थिन् । यस्तै सोचले उनी दुःखी हुन्थिन् तर, बिरामीको हेरचाह गर्नुपर्ने उनको काम हो ।

कहिलेकाहीँ जागिर छोड्ने सोच न आएको पनि हैन । तर फेरि माहामारीको बेला जागिर छोड्न पनि नैतिकताले नदिने । त्यसमाथि आर्थिक स्थिति पनि कमजोर नै छ । बालबच्चा , घरको मोर्गेज, श्रीमानको अस्थिर जागिर आदि इत्यादिले नै उसले नर्सिङ्ग जागिर चट्ट छोड्न सकेकी छैन उजले । उनी सोच्छिन् “आफ्नो भागमा परेको बिरामीलाई आफुलाई बिर्सेर पनि आफनो जागिर जोगाउनु नै छ । उसलाई लाग्छ नर्सिङ्ग एउटा निस्वार्थ सेवा पनि हो । एक नर्सको जागिरे भएपछि यो गर्छु उ गर्छु भन्ने कुरा हँुदैन , पेशेवर तरिकाले काम गर्नै पर्छ ।”

बाटो भरी उनलाई आजको दिन कसरी शुरू होला भन्ने चिन्ताले सताउछ । कस्ता बिरामीहरू असाइन्मेटमा पर्ने हुन् भन्ने कुरा मस्तिष्कमा आइरहन्थ्यो । बेला बखत उनी भगवानलाई सम्झन्थी र भन्थी “हे भगवान आज मलाई सजिला बिरामी परुन है ।”

भगवानलाई सम्झेर के हुन्थ्यो र । सजिला बिरामी हेर्न परेको दिन उनलाई “आहा ! आज त भगवानले सुने क्यार !” जस्तो लाग्थ्यो ।

कहिलेकाहीँ अप्ठ्यारा बिरामी परेका बेला आफुले राम्रो काम गर्ने सकियोस् भनेर कामना गरेर नै काम सुरु गर्थिन् ।

दिनभरी व्यस्त भएको दिन, थकित भएर घर जान्थिन् भोलि राम्रो हुने आशामा । भोलि फेरि त्यस्तै कुराहरू मनमा खेलाउँदै काममा पुग्थिन् उनी ।

बिगतका बर्ष बिहान सधैँ गाडीमा गीत, समाचार या भजन सुन्दै काममा पुग्ने प्रेमा बेला बखत छोराछोरीलाई सम्झिन्थिन् । तर, यो बर्ष त्यस्तो छैन ।

हस्पिटलमा पुगेर आफुले काम गर्ने ठाउँको नर्स ब्रेक रुमको दराजमा आफ्ना समान राखेर कलम, फोल्डर र इस्ठेथिस्कोप बोकेर नर्सिङ काउन्टरमा आएर आफूलाई दिउका बिरामीको नाम र बिरामीको कागज लिएर रातिका नर्ससँग बिरामीको रिर्पोट लिन पुग्थिन् । त्यति गरुन्जेल ७ बज्थ्यो ।

आजकल पहिला जस्तो छैन ४/५ बिरामी मात्र हेर्न पर्ने । अचेल ६ जना बिरामी हेर्न पर्छ । कहिलेकाहीँ ४ वा ५ बाट सुरु गरे पनि काम सकिने समयसम्म नयाँ बिरामी थपिएर ६ पुग्ने नै गथ्र्यो । कहिलेकाहीँ बिरामीको चापले असाध्यै शिथिल हुन्छिन् उनी । उनलाई कहिले काही लाग्छ आफू ३४ बर्षकी मात्र, हप्ताको ३ दिन १२ घण्टा कामले त्यति शिथिल नहुनु पर्ने हो ! अघिल्लो बर्ष ओभर टाइम काम गर्दा पनि त्यति थकान भए जस्तो लाग्दैन थियो ।

अघिल्लो बर्ष पनि त उनले घरमा ससाना बाल बच्चा पनि हेरेकै थिइन् । तर यो बर्ष अर्कै छ । सबै अस्पताल बिरामीले खचाखच भरिएका छन् तर काम गर्ने नर्स भने कम छन् ।

अस्पतालका कोही नर्स आफैँ बिरामी छन् त कसैका परिवार बिरामी भएर आएका छैनन् । अस्पतालमा अरु बिरामीभन्दा कोभिडका बिरामीले बढी भएको छ । शारीरिकभन्दा मानसिक कमजोर बनाएको महसुस गरेकी छन् , त्यसैले आज सबै नर्सहरूको हालत यस्तै छ भनेर आफ्नो काममा लागेकी हुन्छिन् ।

आज प्रेमाले हेर्न पर्ने बिरामी ६ जना परेका छन् । दुई ओटा कोभिडका बिरामीहरू परेछन् । अरु ४ जनामा २ जना छाति दुखेर आएका, एक जना पेटको अप्रेशन गरेको ७ दिनपछि ज्वरो आएर आएको हुन् । एकजना खुट्टा सुनिएर घाउ भएर आएका रहेछन् । बिरामीको रिपोर्ट लिएपछि सधैझैँ उनी बाँकी रिपोर्ट र अलिकता वृतान्त पढेर रगत र अरु रिपोट हेरेर मात्र उनी बिरामीको कोठामा पुग्थिन् ।

त्यसपछि बिरामीको कोठामा गएर पालैपाले परिचय गर्दै उनी बिरामीको जाँच गर्थी । बिरामीको समस्याहरू लेखेर राख्ने र डाक्टरहरू बिरामी हेर्न राउण्डमा आएका बेला बिरामीका समस्याबारे सबै सुनाउथिन् । तुरुन्त रिर्पोट गर्न पर्ने भए डाक्टरलाई फोन गरेर रिर्पोट गर्थिन् र बिहानको औषधि दिनु उनको दैनिकी थियो ।

कुन बिरामीलाई पहिला हेर्ने र कसलाई पछि हेर्ने मनस्थिति बनाएर बिरामीको कोठामा पसेकी हुन्थिन् उनी । आज त्यस्तो छैन । आज सबै बिरामी कम र बढी ध्यान दिनु पर्ने भन्दा सबै नै सिकिस्त छन् । कुन पहिला के काम आईपर्छ त्यहिँ अनुसार समयसँगै बहनु पर्ने भएकोले आफूले बनाएको योजनाअनुसार चल्न गाह्रो भै रहेको थियो ।

उनलाई आज कुनै एउटा बिरामीको रिपोर्ट हेर्न पर्ने हुन्छ । त्यसैले उनी कम्प्युटरमा नै हेर्न लागेकी थिइन् । डाक्टरले दिएको अर्डरलाई आफूले नोट बनाउँदै गरेका बेला कोठा नम्बर ११२ मा रहेकी एक ८८ बर्षकी बृद्धा थिइन् । कोभिडले श्वास प्रश्वासको समस्याको कारणले भर्ना भएको थिइन् । उनलाई अल्जाइमर पनि शुरु हुन लागेको थियो ।

उनको नाम लिसा थियो । उनी रातिदेखि नै छट्पट गरेर औषधिको भरमा शान्त पर्नु परेको रहेछ । राति काम गर्ने नर्सले प्रेमालाई यी कुरा अवगत गराएकी थिइन् ।

बिहान औषधिको सर सकिए छ क्यार उठेर “बब (Bob )” तिमि कहाँ छौ”Bob आऊ मलाइए यहाँबाट लिएर जाउँ भन्दै उठ्न खोज्दै थिइन् ।

बिरामीको खाटको अर्लाम बजिहाल्यो । बिरामी कोभिडको आइसोलेसनमा भएकीले , आइसोलेसनमा लगाउने कपडा लगाएर हतार हतार बिरामीको कोठामा पसिन् । बिरामीलाई सम्झाउँदै उनले भनिन् “ Bob , आउँछन् , खाटमा बसेर कुर्न राम्रो हुन्छ ।”

अनि त्यहीँ बसेर उनलाई भुलाउन कुरा गर्दै औषधि दिन लागिन् । तर लिसाले निरन्तर आफ्नो श्रीमानको नाम लिइरहिन् । उनले आफ्नो मास्क, अक्सिजन र आफ्नो लुगा खोल्न लागिन् । उनले भनिन् “कृपया मेरो Bobलाई बोलाई देउ, या मलाई ऊ भएको ठाउँमा जान देउ, उनले बाहिर मलाई कुरीरहेछ ।”

लिसा खाटबाट निस्किन लागिन् । उनी साह्रै कमजोर थिइन् । उनीसँग उभिने ताकत नै थिएन । र जोडसँगै बिलौना गर्दै रुन लागिन् । उनले प्रेमाको हात बेस्सरी समाइन् । उसका नङहरू प्रेमाका नारीमा गढिदै गएका थिए । प्रेमा उनलाई सम्झाउदै अनुरोध गर्दै थिइन् ।

“हात छोड लिसा, यसो गर्यौ भने तिमी पनि लड्ने छौ म पनि लड्ने छु, तिमीले मलाई दुखाउँदै छौ ।”
“तिमी कमजोर भएर नै मैले बेडमा बस भनेकी हुँ ।” भन्दै उसलाई समाएर खाटमा बस्न आग्रह गरिरहिन् । यतिबेला प्रेमालाई सबैभन्दा गाह्रो त लिसाको नाकमा अक्सिजनको टुब नाक राख्नु थियो ।

उसको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदै थियो । लिसाले आफ्नो प्रयास बिफल भएपछि आफुसँगै भएका साथीहरूलाई पेजरबाट तुरन्त आउँन भनेर सबैलाई बोलाइन् ।

भेला भएका सबैले सोध्न लागे “के भयो ?, के भयो ?” लिसाले सबैलाई बिरामीको स्थिति बताउँदै भनिन् “ यिनी आफ्नो श्रीमानलाई खाजेर यसरी छटपटाई रहेकी छन्, नाकमा अक्सिजन नि राख्न दिइनन् , Bob बाहिर कुरिरहेको छ त्यहाँ जान देउ भनेर रोइरहेकी छिन्, यिनलाई बाहिर Bob भएको भ्रम पनि छ ।

उनलाई शान्त हुने औषधि पनि दिन सकिन हात समाएको छोडेकी छैन् , उनको श्रीमानलाई फोन लगाई दिउँ कि भनेको त्यो पनि सकिनँ । सायद श्रीमानसँग बोलेपछि शान्त हुन्छिन् कि ! ”

यी कुरा भनेपछि सबै उनका सहपाठी नर्सहरू कुदाकुद गर्न लागे । कोहीले अक्सिजन टुब लगाई दिए, कोही औषधि लिन गए । कसैले लिसालाई सम्झाएर प्रेमाको हात छुटाए ।

कसैले उनको श्रीमान लाई फोन लगाए । एकै पटक सबै मिलेर उनको छटपटाहट कम गराएर अक्सिजनको मात्रा ठिकमा ल्याएर सन्तोषको श्वास फेरे ।

अब पालो थियो उनको श्रीमानसँग फोनमा कुरा गराई दिने । प्रेमासँगै काम गर्ने एक साथी केली थिइन् । उनैले प्रेमालाई सहयोग गर्नका लागि उनका श्रीमानलाई फोन लगाएकी थिइन् । केलीले प्रेमालाईलाई एकछिन कोठाबाट बाहिर आउने अनुरोध गरिन् । प्रेमालाई उनले लिसाको श्रीमान्लाई फोन गरेको तर लिसाको श्रीमान १ घण्टा अगाडि नर्सिङ्ग होममा नै कोभिड भएर मृत्यु भएको समाचार सुनाइन् । प्रेमा एकछिन निःशब्द भइन ।

उसलाई लाग्यो “विधिको बिडम्बना ! जुन समयमा श्रीमानको प्राण जादै थियो त्यहिँ समयमा यता श्रीमतीलाई स्वानुभूति भएको हुनपर्छ । त्यसैले उनी यसरी श्रीमानलाई सम्झेकी रैछिन् ।”

अघिल्लो सिफ्टमा लिसाले आफ्नो बिहे भएको ७० बर्ष भयो भनेकी थिइन् । यसरी लामो समयसँगै दुख सुखका साथीको यसरी एक अर्का बिना नै दुखद अन्त हुन लेखेको रहेछ । उफ ! प्रेमा लामो सुस्केरा लिन्छिन् र अर्को बिरामी कोठातिर लाग्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर