✍️ कमला न्यौपाने

हिउँदको चिसो सिरेटोमा लागेको
पारिलो घाम जस्तै
न्यायो माया बिछ्याउँदै
र रातमा उदाएको सितल
जूनको छाँया जस्तै
तिम्रो प्रेमको उजागरका लागि
हर वर्ष म निराहार व्रत बस्छु
मनाउँछु हरितालिका तीज

म रातै सिङ्गारिन्छु, तिम्रो लागि
सिन्दूर लगाएर
रातो, हरियो, पहेँलो पोतेमा
तिम्रो जीवन गाँस्छु
र प्रस्तुत हुन्छु यो समाजमा
सदुवाको प्रमाण दिदै
लाग्छ यो आजको नियम हो

यसरी
हरेक वर्ष इन्द्रेणी जस्तै रङ्गिएर आएको हरितालिकामा
म पनि उस्तै रंगिन्छु
र तिम्रो आरोग्य र आयुष्मानको लागि
शिवको द्वारमा आफ्नो आँचल फैलाउँछु
र तिम्रो लागि तेजस्वि दियो जलाएर
तिम्रो पूर्ण आयूको कामना गर्छु

हो प्रिय
मलाई थाह छ
तिम्रो आधा आकास ढाक्ने म
तिमी पनि मलाई उत्तीकै प्रेम गर्छौ

तिम्रो मुटु छामेकी छु मैले
तिम्रो ढुकढुकीमा उत्तिकै पुजिएकी छु
मेरो पिडामा
तिम्रो तड्पन
तिम्रा ति प्रेमिल भक्तिहरू
ति आरोग्यका स्पर्शहरू

म कसरी भुलूँ,
यी तिम्रा अटुट प्रेम
जसको
उजागर गर्नु पर्ने छैन
तिमीले पूजाका कुनै थाली बोकेर
निराहार व्रत बस्नु पर्ने छैन तिमीले
प्रमाणित हुनुछैन तिमीले विधुर हैन भनेर

मेरो व्रतमा
मलाई कुनै गुनासो छैन
तिम्रो लागि मात्र हैन
जीवन समर्पण गर्न सक्छु

मलाई लाग्छ
म पनि तिम्रो जस्तै मुटु भित्रको प्रेम गरुँ
आखिरी हामी
एक रथका दुई पाँग्रा न हौँ

तर
यो समाजमा मेरो प्रेमलाई बुझाई दिने कसले ?
प्रिय, भन त
म निराहार व्रत नबसे मेरो प्रेम अप्रमाणित हुन्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर