✍️ अस्मिता राउत

मुक्तक – एक

बगाएर गहभरी आँसु धरधरी कहाँ गइन् होला
कसैले कतै भेट्न नसक्ने गरी कहाँ गइन् होला
ब्यवहार चल्दा चल्दै सौता भित्र्याएपछि पतिले
वेदनाले छट्पट्टिदै एउटी चरी कहाँ गइन् होला

मुक्तक – दुई

थोरै धन कमाउँदैमा फाइँफुट्टी बारम्बार देखाउँछ
आफैं बलवान् सम्झिदै धारिलो हतियार देखाउँछ
आफ्नै जन्म दिने आमाबाबुलाई वृद्धाश्रममा राखी
बुज्रुक हुँ भन्दै अझै नचाहिँदो अहङ्कार देखाउँछ ।।

मुक्तक – तीन

नमानी सरम नमानी डर सबैसामु खुल्न थालेपछि
मौरी छोडी झिंगाहरुसंग एकोहोरो भुल्न थालेपछि
त्यस्तो दुर्गन्धित फुल अब कसले पो टिप्ला र कठै
फोहोरको प्रवाह नगरी दुर्गन्धमा डुल्न थालेपछि ।।

मुक्तक – चार

जोगाई राख्ने कि छोड्ने आजै निचोड देउ
यो जिन्दगी अधुरो भो बोटो आजै मोड देउ
निच बनायौं आज आएर बिश्वासघात गर्यौ
यस्तो सम्बन्ध टिकाउनु छैन आजै बिछोड देउ ।।

मुक्तक – पाँच

निर्धोलाई जत्ति हेप्दा पनि नदेखे झैं गर्छ कोही बोल्दैन
पीडित भई निर्दोष आँसु घरीघरी झर्छ कोही बोल्दैन
अन्याय, अत्याचार, दमन गर्ने कै कुरा बिक्दो रहेछ यहाँ
बहुमतले जित्छ यहाँ पीडित त्यहीँ मर्छ कोही बोल्दैन ।।

प्रतिक्रिया

सम्बन्धित खवर