✍️ लक्ष्मी आचार्य

          मुक्तक – १
कहिले बोली फेर्नुहुन्छ त कहिले रहर फेर्नुहुन्छ
कहिले प्रिय गाउँ बिर्सिएर,रुखो शहर फेर्नुहुन्छ
भो, घमण्ड नगर्नुस् ,म विशाल समुद्र हुँ भनेर
निमेष–निमेषमा छलकपटको लहर फेर्नुहुन्छ ?

         मुक्तक – २

पवनसँगै ढल्किदिने पिपलुको पात कस्तो ?
रोश्नी सबै बिलाएर आइदिने त्यो रात कस्तो ?
जिन्दगीमा अंकुराएको खुसी सबै लुटिदिने
समाजले बनाएको उचो–निचो जात कस्तो ?

        मुक्तक – ३

यो तक्दिरमा छैन होला प्रभटकी साया बन्ने
चौतारीको वर पिपल जस्तै दायाँ–बायाँ बन्ने
मिल्ने भए भाकल गरि फूल, भेटी चढाउँदै
बरदान माग्थेँ जुनीजुनी सधैँ तिम्रो माया बन्ने

      मुक्तक – ४

न भाषण न टुक्का न गफगाफ चाहिएको छ
न आम नेपालीलाई ॠण माफ चाहिएको छ
हामी जनतै उस्ता हौँ बाँदरलाई सिँढी चढाउने
थाक्यौँ अब सांसाद भवन साफ चाहिएको छ

      मुक्तक – ५

मेरो जीवनको श्वास प्रश्वासमा तिमी छौ
अनुभूतिमा तिमी छौ,आभाषमा तिमी छौ
मेरा हरेक भावना र बिचारमा प्रतिबिम्वत
अन्धकारमा तिमी छौ, प्रकाशमा तिमी छौ ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर