✍️ बिष्णुविभु घिमिरे

आँखा राम्रा भएर मात्र
के गर्नु ?
जब ती आँखाले
कसैको पीडामा आशु रसाउँदैन भने

ओठ सुन्दर भएर मात्र
के गर्नु ?
जब ती ओठले
अरुका खुशीमा आनन्द मुस्कुराउँदैन भने

सलक्क मिलेको नाक भए र मात्र
के गर्नु ?
जब त्यो नाकले
आत्मियताको वासना थाहा पाउन सक्तैन भने

मुटु मात्र भएर
के गर्नु ?
जब त्यो मुटु
पलपल आफ्नै स्वार्थ मात्र ढुकढुकाउँछ भने

फोक्सो मात्र भएर
के गर्नु ?
जब त्यो फोक्सो
आफ्नै तृष्णा र मायामा मात्रै
श्वास प्रश्वास भइरहन्छ भने

मन मात्र भएर
के गर्नु ?
जब त्यो मन
नदी सुकेपछिको वगर जस्तो छ भने

आँशु बेकार छ
मुस्कान बेकार छ
यो जीवन बेकार छ
मान्छेका नाउँमा मान्छे बाँच्नु बेकार छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर