✍️ जीवन खत्री

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँपछिको सबैभन्दा ठूलो पर्व हो । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको भन्ने अनुमान लगाइन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको भन्ने मान्यता रहीआएको छ । तिहार पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाएर मनाइन्छ ।

यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान खुवाउने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ ।

चाडपर्वको समयमा सार्वजनिक विदा पनि पाइने भएकोले पछिल्लो समय विदाको सदुपयोग गर्दै घुमफिर गर्ने तथा सिर्जनात्मक बनाउन सक्रिय रहने गरेको पाइन्छ । तिहारलाई कसरी सिर्जजनात्मक बनाउने ? भन्ने विषयमा सेतोमाटो डटकमले केही साहित्यिक पत्रकारहरूसँग तिहार विशेष शनिवारिय अङ्कका लागि गरेको विशेष कुराकानीको सारांश यस्तो छ :

सिर्जनात्मक क्षमता छ तर त्यसका लागि पर्याप्त समय छैन : गोपीकृष्ण ढुङ्गाना 

गोपीकृष्ण ढुङ्गाना पेशाले सञ्चारकर्मी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा ओपेड एन्ड एडिटोरियल रिलेसन्सका संयोजक ढुङ्गाना विकास पत्रकार मञ्च (फोडेज), नेपालका अध्यक्षसमेत हुन् । उनी अन्नपूर्ण पोष्टको फुर्सद परिशिष्टाङ्क हेर्छन् । साहित्य कर्ममा समेत उत्तिकै सक्रिय ढुङ्गाना दसैं होस् वा तिहार, यथासक्य भव्य बनाउने प्रयत्न रहन्छन् । २०७८ सालको तिहार निजीनिवास भक्तपुरको गठ्ठाघरस्थित काव्य–कुञ्जमै मनाउने उनको योजना छ ।

भन्छन् “जुन काम गर्छु, एकदमै खुसी र गुनासोरहित भएर गर्छु । त्यसभित्र डुबेर गर्ने भएकाले परिणाम पनि गुणस्तरीय हुन्छ भन्ने लाग्छ । यमपञ्चक मनाएर भाइटिका लगाउने काम सधैंझैं हुनेछ । यसमा आफू संस्थापक भएका नाता (पूर्वसचिव एवं सल्लाहकार)ले टोलमा स्थापना गरेको स्वच्छ सरस्वतीनगर समाज, गठ्ठाघरमार्फत देउसीभैली खेल्ने काम हुन्छ ।” तिहारमा चार दिन कार्यालय बिदा भएकाले उपत्यकाभित्रका केही नयाँ ठाउँको घुमघाम गर्ने योजनासमेत रहेको उनले बताए ।

सञ्चारकर्मी ढुङ्गाना तिहार सम्झदै भन्छन् “मेरी एउटी बहिनी छे हिमा। म भक्तपुर, ऊ झापा बिर्तामोड बस्ने । अनेक उल्झनले यसअघि नौ वर्षपछि मात्र भाइटिका लगाएँ ।” सामान्यतः झापा गौरादहस्थित घरमा सामूहिक भाइटिका लगाउँने गरेको उनले सुनाए । ढुङ्गानाको बुबाहरू चार र फुपुहरू दुईजना छन् ।

“चार बुबामध्ये जेठा, माइला र काइला (मेरो बुबा)का तीन छोरा, एक छोरी र कान्छो काकाका दुई छोरा । अझ हजुरबुबाका दुई दिदीबहिनी अनि हजुरआमाका दाजुभाइ वा भदाभदै पनि । यति सबै भेला भएर भव्यरूपमा मनाउँथ्यौं । दिदीबहिनीसँगै फुपुहरूको हातको भाइटिका लगाउँथ्यौं ।” उनले भने ।

हजुरबुबाबाट सुरु भएको भाइटिका नातिनातिनासम्म आइपुग्दा घन्टौं लाग्ने गरेको उनी सुनाउँछन् । उनी थप्छन् “अहिले हामी ११ भाइका छोराछोरी पनि भेला भएसम्म सबै एकै ठाउँमा लगाउँछन् । तिहारमा अझैसम्म यस्तो सामूहिकता विरलै पाइएला । दुई फुपुमध्ये जेठी कमला र ११ मध्ये एक भाइ ठुलोबुबाको कान्छो छोरा तोयालाई गुमाएका छौं । नौ वर्षपछि तिहारको सामूहिक भाइटिका लगाएपछि फागुनमा भाइलाई सदाका लागि विदा गर्यौँ भने जेठी फुपुसँगको अघिल्लो तिहार अन्तिम रहेछ ।”

तिहारमा शोभा डेको ‘स्पाउज’, डा. राजु अधिकारीको परिवार, सम्बन्ध, विवाह र गृहस्थबारेको ‘परिवार सुख’ र इन्टरनेटबाट विश्वका विभिन्न सहरको विकासक्रमसम्बन्धी अनुसन्धानमूलक लेखहरू अध्ययन गर्ने योजना रहेको उनले बताए ।

बाल्यकालमा पाउने तिहारको मजा युवा अवस्थामा फरक ढङ्गले ग्रहण गरेको उनले बताए । उनले भने “मनैदेखि स्वीकार गरेपछि मन नपर्ने भन्ने केही हुँदैन रहेछ । बाल्यकालमा पाउने तिहारका मजा युवामा फरक ढङ्गले ग्रहण गरें । अहिलेको बुझाइ र व्यस्त समयले फरक दृष्टिकोणका साथ मनाउँदै छु ।” यमपञ्चकका पाँचै दिनको आआफ्नै महत्त्व र मजा रहेको उनले बताए ।

तिहारको समयलाई कसरी सिर्जनात्मक बनाउने ? भन्ने प्रश्नमा सञ्चारकर्मी ढुङ्गाना भन्छन् “विगतमा समय थियो, सिर्जनात्मक क्षमता थिएन । अहिले सिर्जनात्मक क्षमता छ तर त्यसका लागि समय छैन वा एकदमै कम मात्र निकाल्न सकेको छु ।” उनको बालसाहित्यका १३ कृति प्रकाशित छन् ।

अहिले कक्षा १ भन्दा मुनिका र कक्षा १ का लागि आधा दर्जन पुस्तक तयार पारी अन्तिम रूप दिने तयारीमा रहेको उनले बताए । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन गर्ने गरी ‘प्रज्ञा नेपाली बालगीत’को संयोजन र सम्पादनमा रहेको उनले जानकारी दिए ।

चाडबाडमा पढ्ने भन्ने कुरा मलाई त्यति धेरै प्राक्टिकल लाग्दैन : दीपक सापकोटा

दीपक सापकोटा नेपाली सञ्चार जगतमा परिचित नाम हो । कान्तिपुर पब्लिकेसन्सद्वारा कोसेलीको सम्पादक सापकोेटाले यसपालीको तिहारमा साथीहरूसँग घुमेर बिताए । उनले भने “कुमार नगरकोटी, घिमिरे युवराजसँग धरानमा नाटक प्रदर्शनमा पुगेँ । शिल्पी थियटरको मुक्त रङ्गमञ्च ‘ठूला माछा साना माछा’ वीपी प्रतिष्ठान धरानमा मञ्चन भएको थियो ।

त्यो नाटकले फरक कुरा बोलेको छ । जुन हेर्न म धरान पुगेँ ।” त्यो आफ्नो लागि लागि फरक आयाम भएको अनुभव रहेको उनले सुनाए । उनी थप्छन् “खुला ठाउँमा कसरी सिर्जनात्मक र स्वतन्त्र रङ्गमञ्च गर्न सकिन्छ भन्ने अभ्यास रहेछ मुक्त रङ्गमञ्च । जुन अहिलेको सान्दर्भिक छ ।”

बाल्यकालको तिहार सम्झिदा सापकोटा रोमाञ्चित बन्छन् । अहिलेको तिहार उति धेरै उत्सवमय उनलाई । बाल्यकालको तिहार अर्कैजस्तो लाग्ने उनले बताए । उनी “रातभरी देउसी खेल्थ्यौँ । दुईचार पैसा जम्मा हुँदा पनि खुब रमाउँथ्यौँ । नयाँ नयाँ नोटहरू देख्न पाइन्थ्यो । रातभरी देउसी खेलेका ती दिनहरू खुब याद आउँछन् । किशोर उमेरसम्म खुब भट्याइन्थ्यो ।” उनी सम्झिन्छन् ।

दशैंं र तिहारमा हामी फेस्टिभ मुडमा भएको कारणले पढ्ने समय पनि छुट्याउन नसक्ने उनले बताए । “चाडबाडमा पढ्ने भन्ने कुरा मलाई त्यति धेरै प्राक्टिकल पनि लाग्दैन ।” उनले भने यद्यपि, उनले सुजित मैनालीको ‘सति इतिहास मिमांशा’ किताबको केही पार्टहरू दोहोर्याएर पढेको बताए ।

तिहार बास्तवमा सुन्दर चाड भएको उनको बुझाई छ । तिहारको मन नपर्ने पक्षहरू केही नभएको बताउँदै सापकोटाले नेवारहरूको नयाँ बर्ष तथा म्हः पूजा यसको उत्सवमले पनि मलाई मोहित बनाउने बताए ।

यसपालिको तिहार घुमघाममा बिताएको उनले सुनाए । उनले आफू गत आइतबारदेखि मंगलबारसम्म धरानमा भएको बताए । शिल्पी नाट्ययात्रा २०७८ नामक कार्तिक ४ गतेदेखि १७ गतेसम्म भएको शिल्पी थिएटरको मुक्त रङ्गमञ्चको ‘ठूला माछा साना माछा’ नाटक हेर्न उनी धरान पुगेका थिए । कुमार आले, कुमार नगरकोटी नाटकका परिकल्पनाकार निर्देशक घिमिरे युवराजसँगै नाटकको ठूलो टोलीसँगको यात्राले थप उर्जा थपेको उनले बताए ।

उनले आफूले भर्खरै किर्गिस्तानी लेखक चीन गिज आइतमातवको खगेन्द्र सङ्ग्रौलाले अनुवाद गरेको ‘प्रथम गुरु’ पुस्तक पढेर सकेको जानकारी दिए । किसानको वस्तीमा विद्यालय खोल्ने शिक्षाको ज्योतिले मानिसहरूलाई जागृत बनाउने एउटा मानिसको कथाले किताब पठनीय लागेको उनले बताए ।

उनी थप्छन् “दशैंँ र तिहारको बिचमा मैले विनोद विक्रम केसीको निबन्ध सङ्ग्रह ‘भेन्टिलेटरमा आमा’ पढें । यस सङ्ग्रहले नेपाली निबन्ध लेखनको क्षेत्रमा एउटा आयाम थप्नेछ भन्ने विश्वास लिएको छु । मैले पढेकोमध्ये मनपर्ने किताबमा यो पनि पर्छ ।”

चाडबाडमा किताब पढ्ने मूड, माहोल र समय हुन्न : जोतारे धाइवा

सञ्चारकर्मी जोतारे धाइवा हिमाल खबर पत्रिकामा साहित्यिक बिट हेर्छन् । नेपाली साहित्य क्षेत्रमा समेत परिचित धाइवा दशैंमा घर (उदयपुर) जाने गरे पनि तिहार भने प्रायः काठमाडौंमै बित्ने गरेको छ बताए । उनी भन्छन् “दिदीहरू यतै भएकाले तिहार यतै बित्छ । बत्तीको उल्लासले काठमाडौँको तिहार रमाइलो पनि लाग्छ । केटाकेटीमा देउसी–भैली खेल्ने हुँदा तिहारको ज्यादै फराकिलो अर्थ थियो, अहिले भने तिहार भनेको भाइटीका नै हो मेरो निम्ति । भाइटीका, खानपिनमै बित्छ ।”

किशोरवयको देउसी स्मरणीय लाग्ने गरेको उनले बताए । उनले भने “किशोरवयमा देउसी खेलेर रात छ्याङ्ङै पारिन्थ्यो र भोलिपल्ट भाइटीकामा अनिदोले लट्ठ भएर टीका लगाइन्थ्यो । त्यसै बखत देउसीमा गाउने टोलीमा म पनि थिएँ । स्वर राम्रो हुन्छ भनेर एउटा घरमा पार्दापार्दैको रक्सी गिलासमा स्वाट्ट पारेको थिएँ । स्वर त के बन्नु, घरेलु कडा रक्सीले घाँटी मात्र खिर्यायो । तिहार र देउसीको कुरा आउँदा त्यो दिन सम्झनामा आइहाल्छ ।”

चाडबाडमा किताब पढ्ने मूड, माहोल र समय नहुने उनले बताए । उनले थपे “अरुले यही वेला फुर्सद मिलेर पढ्नुहुन्छ भने त्यो राम्रै कुरा हो, तर मलाई चाहिँ चाडमा चाड नै खुलेर मनाउने हो भन्ने लाग्छ ।”

“तिहारमा झिलिमिली, फूलैफूलको मौसमले मनमा बेग्लै मिठास दिन्छ, ऊर्जा भर्छ ।” उनी भन्छन् “टोल–गाउँ जताततै सेलको सुगन्धले मोहित पार्छ । निक्खर देउसीको सुरताल हराउँदै गएको देख्दा चाहिँ नमज्जा लाग्छ । फास्टफूड संस्कृतिको घानमा देउसी पनि पर्यो ।”
तिहार लगायत चाडपर्वमा मन चङ्गा पार्न सकियो भने त्यसले सिर्जनात्मक पाटोमा स्वतः योगदान पुर्याउँन सकिने उनले बताए । चाडमा त्यही ऊर्जा बटुल्न सकियोस् भन्ने उनको विचार छ ।

पेप्सी, कोकोकोला, बियरको रित्ता बोटलहरू देख्दाचाहिँ रिस उठ्छ : राजु स्याङ्तान  

नयाँ पत्रिकाको ‘झन् नयाँ’मा आबद्ध राजु स्याङ्तान पेशाले सञ्चारकर्मी भए पनि नेपाली साहित्यका चम्किला तारा हुन् । युवापुस्तामाझ लोकप्रिय स्याङतानको तिहारमा विशेष योजना नभएको बताउँछन् । केही फिल्म हेर्दै, साथीहरूसँग भेटघाट गर्दै तिहार मनाउने उनको सोच छ । उनले भने “बिहानै बुवाले घरबाट फोन गरेर किन नआको ? भनेर थर्काउनु भो । अलि खल्लो खल्लो पनि भइराछ मन । जे होस्, दुखमसुखम मनाउँदैछु ।”

उनलाई तिहार नजिकिँदै गर्दा मामाको खुब याद आउँछ । भन्छन् “मामा देउसी खेल्दा भट्याउनु हुन्थ्यो । हामी भुराहरू उहाँको पछिपछि हिँड्थ्यो । बस्ने ठेगान पुग्ने ठेगान नभएको, फकिर जस्तो डुलिहिँड्नु हुन्थ्यो मामा । मामाको परिवार, सम्पति केही पनि थिएन ।

माक्सवादीहरूले भने जस्तो परिवार र निजी सम्पतिको उहाँ विरोधी वा पक्षपाति के हुनुहुन्थ्यो जान्दिनँ । तर मामाले आफ्नो जीन्दगी मनमौजी डुलेर, गाउँ गाउँ घुमेर, कसैलाई हानी नगरी, कसैलाई अन्याय नगरी, यायाबर जस्तो हिँडेर बिताउनु भयो । बेलाबेला लाग्छ, मामा थाहै नपाइ भएको साम्यवादी हुनुुहुन्थ्यो कि !” केही गरेरभन्दा केही नगरेरै कुनै कुनै मान्छेले समाजमा योगदान दिएको हुँदो रहेछ भन्ने उनको बुझाई छ । ६ वर्ष अघि मामा बितेपछि भने उनलाई तिहार आउँदा उही फकिर मामाको सम्झना एकदमै आउँछ ।

यो तिहारमा कवि विनोदविक्रम केसीको ‘भेन्टिलेटरमा आमा’ निबन्ध सङ्ग्रह पढ्ने योजना बनाएको उनले बताए । “तर चाडको माहोलमा पढ्ने भन्दा घुमु घुमु लाग्ने रैछ । त्यसैले तिहार लगत्तै पढ्छु ।” उनले भने ।

तिहारमा वर्षभरि दुःख, अभाव, पीडा भोगेर पनि तिहारको बेला मुसुमुसु हाँस्दै हिँडेको मान्छेहरू उनलाई देख्दा बहुत आनन्द लाग्छ । उनी भन्छन् “क्षणिक खुसी भए पनि चाडले दिएको जस्तो लाग्ने । घरघरमा पेप्सी, कोकोकोला, बियरको रित्ता बोटलहरू देख्दा चाहिँ रिस उठ्छ ।”
‘यो तिहारमा म कोल्ड ड्रिङ्स पिउँदिन, पानी पिउछु ।’ सचेत मानिसहरूले यस्तो खालको स्वतस्फूर्त अभियान चलाउन पाए हुन्थ्यो जस्तो उनलाई लाग्छ । उनले भने “यो तिहारमा म त कोल्डड्रिंङ्स पिउँदिनँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर