✍️ जीवन खत्री

सुरुमै भन्छु, यो समीक्षाको कान्छो भाइ पनि हैन । कुनै बौद्धिक लेखको फुच्चे छोरो पनि हैन । बायोग्राफीको त झन नाम पनि हैन ।
पढ्नेको सुरुमै प्रश्न जन्मिनेछ, (के त ?)

“यो दाजुभाइको गन्थन मात्र हो, त्यसकारण नपढे पनि हुन्छ ।” मैले यत्ति भन्दिएपछि अन्त्यमा खिस्रिक्क परेका पाठकलाई न्याय हुनेछ । म ढुक्क छु । पख्नुस्, – “तर लेख्नु र कतै मिडियामा छाप्नुको अर्थ कुनै न कुनै पाठकले, नभए स्वयम् लेखकलेनै भए पनि पढ्ने भन्ने नै हुन्छ तसर्थ पढिदिए खुसी लाग्नेछ ।” मनको कुरा यही हो ।
अब सुरु गर्छु है ।
***
बुबाले कुन्नी कताबाट रेडियो ल्याउनु भएको थियो । ठूलै थियो । ३ ओटा टाइगर (अरु हाले पनि हुने) ब्याट्रीबाट चल्ने त्यो रेडियोलाई कपडाको खोल हालेर चिटिक्क पारिएको थियो । बिहान बेलुका भित्तामा बसेर के के भनिरहन्थ्यो । सुन्न मज्जा हुन्थ्यो ।

सुरुसुरु ताका त्यत्रो सानो रेडियोमा यत्रा मान्छे कसरी छिर्छन् र बोल्छन् ? भन्ने प्रश्नले मलाई तुलबुल पारेथ्यो । बुबालाई सोध्न सकिन । अरु अधिकांशको घरमा रेडियो थिएन । कसरी सोध्नु, झन् सोध्न मिलेन ।
(रेडियोको किस्सा लामै छ । भनौँला पछि कुनै दिन ।)

घरमा रेडियो भएपछि रेडियो सुन्ने लत नै लाग्यो । लगभग कुन कार्यक्रम कतिबेला आउँछ र कार्यक्रम कसले चलाउँछ कण्ठ हुन थाल्यो । सबैजसो कार्यक्रम सुने पनि मलाई कार्यक्रम ‘मधुवन’ले तान्यो । नवराज लम्साल दाजुको यति मिठो, यति सुन्दर आवाज कि म सजिलै बयान गर्न सक्दिन ।

चाहे जानोस् या नजानोस्, मान्छे आफूलाई मन परेको कुरामा नक्कले हुन्छ । जस्तो मन परेको गीत गुनगुनाइरहन मन पराउँछ मान्छे । म नवराज दाइको नक्कल गर्दै स्कुल जान थालेँ । वन जाँदा बाख्रालाई आफ्नै नक्कले आवाजमा कार्यक्रम सुनाउन थालेँ । घाँस जाँदा घाँसहरूलाई । मकै पिँध्दा जाँतो र हातोलाई । खन्न जाँदा कोदालो र बारीलाईलाई । जोत्न जाँदा हलो र गोरूलाई ।

भन्थें, “म तपाईँको सुख दुःखको साथी जीवन खत्री । कार्यक्रम मधुवनमा छौँ हामी । रेडियो नेपालबाट देशैभर लाइभ प्रशारण भैरहेको कार्यक्रम मधुवनलाई प्रविधिमा बाख्राहरूले सहयोग गरिरहनु भएको छ ।” बाख्राहरू, गोरूहरू, चराहरू भन्न थालेपछि मलाई हाँसो छुट्थ्यो । एकछिन हाँस्थें र सम्हालिन्थें । अनि भन्थें, “सदाझैँ आज पनि हामी कला, भाषा, साहित्य, सङ्गीत र सस्कृतिका कुरा गर्नेछौँ । गाउँ र बस्तीका, पाखा र भाकाका कुरा गर्नेछौँ ।”

कार्यक्रम गरेका दिन मनमा अर्कै आनन्द आउँथ्यो । त्यो सुखानुभूति म शब्दमा ब्यक्त गर्न सक्दिन । मैले महशुस गरेको हँु, अचेल सम्झिन मात्र सक्छु । रेडियो स्टेशन कस्तो हुँदो हो ? रेडियोमा बोल्ने मान्छेहरू कस्ता हुँदा हुन् ? कस्ता कस्ता मेशिन हुन्छन् होलान् ? बोल्नेहरू भेट्न पाए कस्तो हुन्थ्यो होला भन्ने मनमा भैरहन्थ्यो । पढ्नु पनि थियो । कम्तिमा एसएलसी नसकी सम्भव थिएन ।

सहर छिरेपछि पनि ‘मधुवन’ सुन्ने लत छुटेन । ‘मधुवन’ सुनेपछि गाउँमा आमाकै काँखमा छु जस्तो । बुबाकै हात समातेर हिडें जस्तो । कुवाको पानी उघाएर प्यास मेटेजस्तो । जङ्गल जङ्गल चहारेर काफल खाएजस्तो । झालबाटै काँक्रो लुछेर चिरेजस्तो । कोदो रोपि रहेजस्तो । खेतमा पानी लगाइरहे जस्तो । सिङ्गो गाउँ ‘मधुवन’ले ल्याइदिन्थ्यो सहरमै । मेटिथ्यो घर र गाउँको न्यास्रो ।

‘मधुवन’मा कविता, गीत, गजल, मुक्तक र हाइकुहरू अरुले फोन गरीगरी सुनाउँथे । मलाई कार्यक्रममा आवाज जाओस् भन्ने थियो तर ढङ्ग थिएन । साहित्यमा रुचि भए पनि लेख्न सक्छु भन्ने लाग्थेन । तर रेडियोमा आवाज सुनाउने हुटहुटीले रेडियो सुनेकै भरमा कविता र गजल लेख्न थालें । फोन गरेँ । रचना सुनाएँ । जिन्दगीमा त्यति खुशी त सायदै भएको थिएँ हुँला । म कसरी वर्णन गरुँ ?

लेख्दै र सुनाउँदै गएँ, दाइले हौसला दिइरहनुभयो । रेडियोमा आवाज सुनाउन पाउने लोभमा लेख्न थालेको म किताब नकाल्ने सोचमा पुगेँ र निस्कियो पनि ‘मेरो शिखर टाढा छ’ गजल सङ्ग्रह । दाइकै कार्यक्रम ‘मधुवन’मा लगेर बिमोचन गरेँ । मुटु ढुकढुक पार्दै बोलेँ । रेडियो नेपालको भव्य स्टुडियोको शानदार माइकबाट मेरो आवाज प्रशारण भयो । त्यो दिन थियो ८ कार्तिक २०६५ ।

बौद्धिक स्तरको कुरा गर्ने हो भने त्यो किताब त्यति महत्त्वपूर्ण नहोला । तर त्यो किताबले मलाई एउटा परिचय दियो गजलकारको । दुई चार साथीहरूका माझ किताब निस्केको छ भने धाक मात्र भएन । ‘मधुवन साहित्यिक प्रतिष्ठान नेपाल’को जन्मका लागि समेत भूमिका खेल्यो । किताब निस्केपछि कार्यक्रम गर्न पाए हुने भन्ने लाग्यो । तर कुनै संस्थासँग चिनजान छैन । केही साथीहरूसँग मिलेर संस्था गठन गर्यौँ । नवराज दाइले संरक्षकत्वको भूमिका लिएर संस्था दर्ता गराउन समेत सहयोग गर्नुभयो । हरेक हप्ता हुने सुन्ने सुनाउने लगायत सबै गतिविधि समेत ‘मधुवन’मार्फत प्रशारण भयो । देशैभर २७ ओटा बढी शाखाहरू स्थापना भए ।

***
सुरुमा सरबाट सुरु भएको सम्बन्ध दाइ भाइमा पुग्यो । दाइभाइबाट रेडियो, संस्था, पत्रकारिता, हुँदै पारिवारिक बन्यो । अचेल बेलाबेला घरपरिवारबाटै आईजाई हुन्छ । दाइले मेरो आमालाई आमा भनेपछि, आमाको अर्को छोरो थपिनु सुखद कुरा हो । त्यहीँ भएर होला बेला बेला दाजुले दाइकै भूमिका निभाउनु हुन्छ, बरु भाइ चुकेको होला । चुकेको जस्तो लाग्दा गाली गर्नुहुन्छ । म गमक्क पर्छु ।
यो सम्बन्धको यात्रा निरन्तर चलिरहेकै छ । चलिरहनेछ बाचुञ्जेल । हैन दाइ ?
***

ओह !
भुलेँ कि क्या हो ? क्या झुर छु म । आज (असोज १६ शनिबार २०७८) दाजुको तेस्रो महाकाव्य ‘अग्नि’को बिमोचन हुने दिन । परदेशमा छु । कार्यक्रममा हुन नपाउनुको दुःख त मनमा छदैँछ । तर मख्ख छु । किताब निस्किनु भनेको एउटा खेलाडीले गोल गर्नु जत्तिकै हो । त्यो पनि ‘महाकाव्य’ ! दाजुको यो महायात्रा विश्व साहित्यमा नै एउटा उदाहरण बनोस् । साहित्य र आवाजको दुनियाँमा सिङ्गो विश्वभर परिचित हुनुहुन्छ नै । यो उचाई सगरमाथा जस्तै अग्लिरहोस् । तेस्रो महाकाव्य ‘अग्नि’का भव्य शुभकामना दाइ साहित्यका रोनाल्डो, मेस्सीहरूलाई उछिन्न सक्नुहोस् ।

दाजु, गनगन धेर भो । लेख्न खास जान्दिन अरुका पढ्दा मज्जा लिन मात्र जान्छु । कत्ति फरक कुरा हैन ? आफैँ पकाउनु र अरुले पकाएको खानुमा । म आफैँ पकाउन त तम्सिन्छु तर ढङ्ग पुग्दैन देखिहाल्नु भो । पाठकले देखिहाले । ‘अग्नि’को बारेमा लेख्छु भनेर बसेको गरेँ आफ्नै गनगन । तर पनि यो गनगन शंकर लामिछानेले भनेजस्तो यो मेरो मौलिक हो । मेरै मनको गर्भमा रहेका कुरा । नवराज लम्साल भन्नासाथ दिमागमा सरर आएका कुरा ।

प्रिय पाठक, गन्थन धेर भो है ? दाइ भाइका गन्थन लेखेर सकिन्छ र ? सकिन्न । अब यो गन्थन टुङ्गयाउनु पर्छ । निकै लामो भैसक्यो । ढङ्ग पुर्याएर टुङ्ग्याउने तरिका छैन, तसर्थ यतिकै सकेँ ल अब ।

– भाइ जीवन

प्रतिक्रिया

सम्बन्धित खवर