– पलपल समीप

एउटै हातले
रातो अक्षरमा मुस्कान लेख्छ,
अर्को, सास नथामिँदै आँसु टाँस्छ ।
न भावले पूर्ण आयु बाँच्छ,
न पीडाले खस्ने समय पाउँछ ।

सूचनाको भीडमा
मन पनि व्यस्त छ सर्भरझैँ ।
मिनेटको हाँसो
सेकेण्डले काटिरहेछ
र हामी
पलभरमै बाँचिरहेछौँ दुई विपरित सत्य ।

मानिसले दुरी घटाउन
सञ्जाल बनायो,
तर
सञ्जालको बलेसीबाट
आत्माको सागर वाष्पीकरण भएको आभास पाएन ।

भाव र भावनाको प्रदर्शनले,
बिर्साइदियो अनुभूतिको हृदय ।

सुचनाको गतिमा
लोड,अपलोड,र अपडेटमा व्यस्त हामी
आफ्नै चेतनाको सञ्जालभित्र हराइरहेछौँ,
स्वयंको खोजीमा ।

मन
बारम्बार प्रश्न गरिरहन्छ,
यो विद्युतीय भावना
अभ्यास हो वा अभ्यस्त प्रतिक्रिया ?

***

प्रतिक्रिया

सम्बन्धित खवर