– कृष्ण धरावासी

साँझमा पुलिस आयो
माइकबाट आवाज आयो

-आज चाँडै खाएर चाँडै सुत्नु।
हामी बिहान सखारै आउॅछौँ
तिमीहरू पनि सखारै उठ्नू ।

भनेको मान्यौँ
चाँडै खाएर चाँडै सुत्यौँ।
रातभरी कसैलाई निन्द्रा लागेन ।
भोक लागेन, तिर्खा लागेन, जाडो लागेन
रातभरी कसैलाई निन्द्रा लागेन ।

बिहान पहिला डोजर आए ।
ती सॅगै नगर प्रहरी आए ।
तिनकापछि जनपथ प्रहरी आए ।
त्यसपछि सशस्त्र प्रहरी आए ।
तिनका पछि सेना आए ।

पहिला घरबाट बा निक्ले।
त्यसपछि आमा निक्लिन् ।
नानी चेपेर दुलही निक्लिन् ।
उनका पछि विरालो निक्लयो ।

कुकुर दैलामै थियो
बाका खुट्टामा लट्पटियो ।

अपाङ्ग थिएँ
सबैभन्दापछि म निक्लें ।

अब हामी हुकुम्बासी भएका थियौँ।
अब हामी हुकुम्बासी भएका थियौँ।
हुकुम्बासी भएका थियौँ।
हुकुम्बासी भएका थियौँ।

बिहान पहिला डोजर आए ।
पहिला घरबाट बा निक्ले।
सबैभन्दापछि म निक्लें ।

त्यसपछि हामी हुकुम्वासी भयौँ ।
सबै घरवास माटोमा मिलेपछि
हामी हुकुम्वासी भएका भयौँ ।
र अब हामी हुकुम्बासी भएका थियौँ।

***

प्रतिक्रिया

सम्बन्धित खवर