– कस्तुप गैरे

२०६५ मा पहिलो पटक काठमाडौं टेकियो। काठमाडौं जानुमा बाको छोरालाई पढाउने बाहेक मेरो आफ्नै चाहिँ कुनै उद्देश्य थिएन। काठमाडौंमा मामा हुनुहुन्थ्यो। डिल्लीबजारको एउटा अलिक ठूलो बाथरुमजत्रो कोठामा दुई मामाहरू बस्नुहुन्थ्यो। मेरो एकजना साथी र म त्यही कोठामा थपिने भयौँ। एउटा पलङ र ग्यास चुलो अट्ने बाहेक ठाउँ थिएन कोठामा। दुई जना खाट (खुट्टे पलङ) मा सुत्ने, दुई जना ग्यास त्यही पलङमुनि हालेर त्यही सुत्ने गर्थ्यौँ। धेरै अफ्ठ्यारो भएपछि मैतीदेवीमा कोठा सरियो।

मैतीदेवी सरेपछि एकजना साथीमार्फत अर्को एउटा साथीसँग परिचय भयो। मेरो एउटा गजल संग्रह थियो (अहिले कहाँ छ आफैँलाई पत्तो छैन) त्यो पढेको रहेछ। ऊ पनि साहित्यमा रुचि राख्ने (मैले भन्दा पनि बढी) बिस्तारै नजिकको साथी बनियो। ज्ञानेश्वर चोकमा एउटा पुस्तक पसल थियो। त्यो पसल उसका दाइको भए पनि पसलमा प्रायः ऊ नै बस्थ्यो। बिस्तारै बिस्तारै यति नजिक भयौँ कि एउटै थालमा खाना खानेसम्म भयौँ। दिनमा एकचोटि भेट्ने, साँझ मैतीदेवी मन्दिरमा जाने, कहिले हाम्रो कोठामा, कहिले उसको कोठामा यस्तै चलिरह्यो। दुवैको पढाइको तह एउटै, विषय उस्तै, कलेज मात्रै फरक।

म किताब पढ्न खुब रुचि राख्थेँ, ऊ पनि त्यस्तै। किताब साटेर पढ्ने, एउटाले लेख्यो भने अर्कोले सच्याउने यस्तो चलिरह्यो। ऊ यति शान्त स्वभावको थियो कि मलाई ऊजस्तै सहनशील हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर म थिएँ एकदम आक्रामक अनि एकदमै प्रतिक्रियाशील। यी कुराहरू चाहेर हुने कुरा रहेनछन्। सायद अलिअलि मेरो वंशमै, अलिअलि मेरो हुर्काइमा र अलिअलि आफ्नै स्वभावले म छिटो प्रतिक्रिया दिने र धेरै रिसाउने स्वभावको थिएँ।

मलाई रेडबुल खुब मन पर्थ्यो। ऊ कार्टुन नै रेडबुल किनेर पसलमा राखिदिन्थ्यो। ऊ पसलमा बसेर कम्प्युटर टाइप गर्थ्यो, म छेउको कुर्सीमा बसेर पढिदिन्थेँ। ऊ साइकलमा पानीको जार हालेर डोहोर्‍याउँदै घरघर पुर्‍याइदिन्थ्यो, म साइकलको छेउछेउ हिँडेर जान्थेँ। उसो त म धेरै साथीहरू बनाउने र नजिक भइहाल्ने स्वभावको व्यक्ति होइन। तर बोल्ने, हाँस्ने चाहिँ म देखेकाहरूसँग गर्थेँ। काठमाडौंको बसाइमा सबैभन्दा नजिक कसैसँग भएँ भने उसको नजिक भएँ। उमेरले मभन्दा जेठो थियो ऊ, तर मलाई दाइ भन्थ्यो। मैले उसलाई दाइ भन्थेँ। मेरो जीवनमा मैले “तँ” भनेर सम्बोधन गर्ने कोही छ भने ऊहीँ हो।

कोरियाको पहिलो बसाइ सकिएपछि नेपाल काठमाडौं जानुपर्ने थियो। बागबजारको भित्री गल्लीमा एउटा साँघुरो अँध्यारो कोठा थियो। म काठमाडौं एक्लै जाँदा कहिलेकाहीँ उसकै कोठामा बस्थेँ। म ढिँडो मन पराउने मान्छे। म गएपछि जहिल्यै ढिँडो खान जान्थ्यौँ र खानाको पैसा आफूले तिरेको खासै सम्झना छैन। “पैसा कमाउने त त्यस्तै हो, मलामी कमाउने हो दाइ” भन्थ्यो। हरेक कुरालाई सामान्य रूपमा लिन्थ्यो। गाली गर्दा पनि हाँसेर टारिदिन्थ्यो। ऊ यति चिसो रहेछ कि बरु छेउमा बरफ राखिदिएको भए पग्लिँदो हो, तर ऊ जस्ताको त्यस्तै।

पछिल्लो समय ज्ञानेश्वरमा सडक विस्तार गर्दा पसल भत्काइदिएपछि उसले आफ्नै व्यवसाय सुरु गर्‍यो बागबजारमै। एकदिन उसको कार्यालयमा बसिरहेका थियौँ। केही मान्छेहरू आए, उसलाई खुब थर्काए। मेरो मन अमिलो भयो। अफ्ठ्यारो मान्ला भनेर बाहिर निस्केर बसें तर भित्रको सबै सुनिरहेँ। “दाइ, पैसा लिनुपर्नेहरूलाई केही गर्न सक्दिनँ। उनीहरूको पनि अवस्था मेरैजस्तै हो। मैले दिनुपर्नेहरूले काट्छु, मार्छन्। सबै सहनै पर्छ। एक लाख पचास हजारको चेक दिएर पठाएँ। चेक फिर्ता भयो भने बर्बाद हुन्छ। एक हप्तालाई सहयोग गर न” भन्यो। मसँग थिएन। कोरियामै रहेका साथीलाई फोन घुमाएँ। लोकन्थली साथीको घरमै गएर आफैँ चेक लिएर आयो।

उसले भनेको एक हप्ता आयो। “दाइ पैसा भएन यार, अर्को हप्ता… दिदीले दिन्छु भनेकी छन्। तँलाई त दुई/चार लाख जसले पनि दिन्छन्, अर्को एक हप्तासम्मका लागि” भन्यो। उसको व्यवहार भित्रभित्र बिग्रिएको मलाई थाहा थियो। मैले उसले पैसा फिर्ता दिन सक्दैन भन्ने थाहा भइकन पनि कोरिया आउने टिकट काट्न ठिक्क पारेको एक लाख पचास हजार पैसा मागेर फेरि उसलाई दिएँ।

त्यसपछिको हप्ता आयो। मैले पैसा मागिनँ। महिनौँसम्म पैसाको कुरै गरिनँ। एकदिन आफैँ फोन गर्‍यो, भन्यो, “दाइ, भाउजूको खाता नम्बर दे न।”

मैले “होस, तँलाई अफ्ठ्यारो होला” भनें। उसले “होइन, यो महिना खर्च नपठा, म पठाइदिन्छु” भन्यो। होला त भनें, घरमा पैसा पठाइनँ। घरमा सापटी गर्दै व्यवहार चल्यो तर उसले दिन्छु भनेको पैसा आएन।

कोरिया बसेको भन्दैमा भएन। पैसा थिएन, खोजेर पठाइदिएँ। मेरो दाइसाथीले धेरै पटक त्यस्तो गर्‍यो। मैले नमागिकनै पठाइदिन्छु भन्ने अनि नपठाउने। पैसा भएन होला भने कहिल्यै केही भनिनँ। एकदिन कसैको जन्मदिनमा उसले आइफोन उपहार दिँदै गरेको भिडियो टिकटकमा देखियो। मनमा कस्तो नराम्रो लाग्यो। मसँग पैसा लगेको मान्छेले कसैलाई उपहार दिन हुन्न, आफ्ना दैनिक गतिविधि नै नियन्त्रण गर्नुपर्छ भनेर होइन। खोइ किन हो, मलाई नराम्रो लाग्यो। म अलि त्यस्तै साँघुरो सोच भएको छु क्यार!

केही समयपछि साथीले मसँग उस्तै गर्‍यो अनि लाखौँ लगानी गरेर दोहोरी साँझ खोल्यो। मलाई समस्या पर्दा मेरै पैसा फिर्ता दिन बारम्बार झुट बोल्ने साथीले तामझामको जिन्दगी बाँच्यो। हरेक ठाउँमा जाँदा हवाइजहाज प्रयोग गर्‍यो। मेरो पैसा नतिर्नेले हवाइजहाजमा यात्रा गर्न हुन्न भनेको होइन। खासमा मैले उसलाई कहिल्यै पैसा फिर्ता मागिनँ।

उसलाई केवल मैले गरेजस्तै विश्वास मागें। सायद ऊसँग त्यो थिएन, जसको मैले बारम्बार अपेक्षा गरिरहेँ। मैले उसलाई सम्झिएर फोन गर्थेँ। उसले सायद पैसा माग्न फोन गरेको जस्तो ठान्यो। फोन उठाउन छोड्यो। सन्देश हेर्न छोड्यो।

मैले उसलाई गाली गरें, रिसाएँ। पैसा दिइनस् भनेर होइन, झुट बोलिस् भनेर। उसले के बुझ्यो, त्यो उसकै कुरा भयो। बीचमा मैले गीत रेकर्डिङ गरें। त्यसको पैसा पाँच हजार, सात हजार गरेर तिरिदियो। सायद मैले नै धेरै अपेक्षा गरें कि? म उसको लागि साथीभन्दा बढी साहु भएछु कि? कोरिया आउने बेला एउटा पर्स किन्नुपर्ने थियो। म किन्न खोज्दै थिएँ। उसलाई आफैँलाई कसैले पठाइदिएको पर्स दिएको थियो। राम्रो बाकसमा सजाइएको पर्स।

तँ हराएजस्तै तैले दिएको पर्स पनि हरायो साथी। तर तँ हराएजस्तै तैले दिएको पर्स हराएजस्तै तेरा सम्झनाहरू हराउन सकेनन्। तैँले बिर्सिएजस्तै मैले तँसँगका समयहरू बिर्सिन सकिनँ साथी। सायद तैँले बिर्सिइस् होला। मलाई एकदिन ठूलो समस्या पर्दा कतै खोजेर दुई हजार दिएको थिइस्। त्यो दुई हजार मैले तँलाई दिएको केही लाख पैसा भन्दा धेरै ठूलो थियो मेरा लागि। तँ भन्थिस्, ‘पैसा त त्यस्तै हो दाइ, मलामी कमाउने हो।’ तर तैँले पैसाका लागि एउटा सम्बन्धको मलामी गइस्। पैसाका लागि कसैको आत्मीयताको दाहसंस्कार गरिस्।

जीवनको कुनै मोडमा एक्लो महसुस गरिस् भने सम्झिएस्, तेरो सम्झना गरिरहने एउटा मान्छे यही पृथ्वीमा जिउँदै छ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर