हाल हङकङलाई कमर्थलो बनाउँदै आईरहेका ताप्लेजुङका कवि रोशन यक्सो हङकङ साहित्यिक साझा श्रृङ्खलाका सहसंयोजक समेत हुन् । कविता लेखनमा मुन्धुमी सुवास खन्याउन सिपालु उनको पहिलो कविता सङ्ग्रह सम्झनाको चोमोलुङ्मा भर्खरै बजारमा आएको छ। यही कृतिको सेरोफेरोमा सम्पादक जीवन खत्रीले उनलाई गरेका पाँच प्रश्न र कविको जवाफ;
१, सम्झनाको चोमोलुङमा कविता कृतिका बारेमा छोटकरीमा बताईदिनुहोस् न ।
— सम्झनाको चोमोलुङ्मा मेरो पहिलो कविता संग्रह हो । यस भित्र ४० वटा कविताहरु छन् । जसलाई फिनिक्स बूक्सले बजारमा ल्याएको हो ।
२, म गलत छैन् भने चोमोलुङ्माको अर्थ सगरमाथा भन्ने बुझिन्छ । यहाँले कृतिमा संकेत गर्न खोज्नुभएको सम्झनाको सगरमाथा कसलाई हो ? तपाईँले कवितामा सम्झनाको हिमाल उठाउने कुरा के के हुन्?
—- हो, चोमोलुङ्माको अर्थ सगरमाथा नै हो । मलाई के लाग्छ भने हामीहरु त आखिर यादहरु/सम्झनाहरुको खातै खात लिएर बाँचेको हुने रहेछौँ । ती कति सुखद होलान्, कति दु:खद नि होलान् । जीवन जिउने क्रममा जोडिदै गएका ती सम्झनाहरु थुप्रदै जाँदा हाम्रो मन-मस्तिष्कमा एक किसिमले भन्नू पर्दा चोमोलुङ्मा नै निर्माण भएको हुन्छ नि !
संग्रह भित्र केही माया प्रेम, केही देश प्रेम ,अलि अलि राज्य सञ्चालकहरु प्रतिको असन्तुष्टी, देश छोड्नुको पिडा, देशमा विद्यमान विकृती, पहिचानको खोजी लगायतका विषयमा रहेर सम्झनाको चोमोलुङ्मा निर्माण गर्ने प्रयास गरेको छु ।
३, यहाँको कवितामा लिम्बु संस्कार र मुन्धुमको सुवास पाईन्छ । कवितामा त्यसलाई प्रयोग गर्ने सोच कसरी भयो ? र यसले पाठकमा दिने ताकत के हो?
—- लेखक जुन समाजमा हुर्कन्छ त्यो समाजका रितिरिवाज, संस्कार-संस्कृती बारेका कुराहरु लेखनमा आइ नै हाल्दो रहेछ । सायद त्यो विषय बारे अलि बेसी जानकार भएर पनि हो कि ? म लिम्बू भएको कारण मैले जानेसम्म/बुझेसम्म लिम्बू संस्कार र मुन्धुमका कुराहरु कवितामा आएका हुन ।
नेपाली समाज विविधताले भरिएको समाज हो । लेखक/साहित्यकारहरुले आ-आफ्नो समुदायको बारेमा लेखे समाजको विविधता बुझ्नको लागि सहयोग हुन्छ । सम्झनाको चोमोलुङ्मा बाट नि लिम्बू समुदाय बारे केही कुराहरु बुझ्न सहयोग हुन्छ भन्ने लाग्छ ।
४, तपाईँ नेपाल बाहिर हङकङमा हुनुहुन्छ र नेपाली कविता लेखिरहनुभाछ । हङकङमा नेपाली साहित्यको अवस्था के छ ? नेपाली इतर हङकङबासी वा अन्यभाषीहरूसँग नेपाली कविता (विशेषत संस्कृति ) आदानप्रदानको अवस्था के छ ? के के गर्नुभाछ? के हुनुपर्ला?
—- हङकङमा नेपाली साहित्यको अवस्थालाई सन्तोषजनक नै मान्नु पर्छ । यो वर्ष मात्र हङकङबाट ५/६ जना सर्जकहरुको कृती प्रकाशन भयो । अझै १/२ वटा कविता संग्रह आउने तयारीमा छ । हङकङ साहित्यिक साझा श्रृङ्खलाले विगत १३ वर्षदेखि मासिक रुपमा कार्यक्रम गर्दै आएको छ ।
जहाँ सम्म नेपाली इतर हङकङबासी सँग आदनप्रदानको कुरा छ, त्यो चाहिँ न्यून नै छ । त्यसको मुख्य कारण भाषा नै हो । हामी नेपाली भाषामा लेख्छौँ जसलाई अनुवाद नगरी अरु सम्म पुर्याउनु सम्भव छैन ।
आश लाग्दो कुरा चाहिँ ‘गाउँ आएको बाटो’ फिल्म अंग्रेजी र चाइनिज सबटाइटलमा प्रदर्शन भएकोले स्थानिय चाइनिजहरुको चासो र रुचीको विषय बन्यो । यहाँको विश्वविद्यालयमा यो फिल्म बारे अन्तर्क्रिया पनि भयो । यसले हाम्रो सिर्जनाहरु अनुवाद गरेर यहाँको स्थानियहरुलाई बुझाउनु सकियो उनिहरुले नि मन पराउदो रहेछन् भन्ने देखाएको छ । तर तत्कालको लागि हङकङ मै जन्मिएर अंग्रेजी र चाइनिज भाषालाई माध्यम बनाएर अध्ययन गर्दै गरेका नेपाली विद्यार्थीहरु माझ हाम्रो सिर्जना/लेखन पुर्याउनु सकियो भने मात्र पनि सन्तोक मान्नु पर्छ ।
५, सम्झनाको चोमोलुङ्मा पाठकले किन पढ्नुपर्छ ?
—- यहि कारणले गर्दा पढ्नु पर्छ भन्नू त अलि गाह्रै होला । कविता लेख्ने इमान्दार प्रयास गरेको छु । यति चाहिँ भन्न सक्छु पढ्नु भयो भने समय बर्बाद भएको महसुस चाहिँ हुदैन ।
***
प्रतिक्रिया
-
४
