✍️ गुप्तबहादुर श्रेष्ठ
मुक्तक – एक
उपकार कहाँ हुन्छ र उपकारको मूल्य तिराएपछि
उठाउन सजिलो कहाँ हुन्छ र माथीबाटै गिराएपछि
अगुवा अनुसार नै पछि लाग्ने त हुन् बाँकी पछुवाहरू
परिणाम खराबै आउँछ अगुवाले बाटो बिराएपछि ।
मुक्तक – दुई
कसैलाई राष्ट्रपति कसैलाई प्रधानमन्त्री मन्त्री हुने रहर
जसले जे गरे पनि चुपचाप सहिदिन्छ बिचरा यो सहर
एकसरो लाउन र दुइछाक खान धौ धौ छ यहाँ धेरैलाई
स्वार्थी छन् नेता को देख्छ सोझा सिधा जनताको कहर ।
मुक्तक – तीन
सरकार नै विधिविधान मान्दैन विधिको शासनको के अर्थ
विधिविधान केही जस्तो ठान्दैन विधिको शासनको के अर्थ
सरकार बनाउनै विधिविधान भत्काउनु पर्ने अवस्था आएछ
जब स्वार्थले संविधान धान्दैन विधिको शासनको के अर्थ ?
मुक्तक – चार
‘गर कि मर’ भन्दैछन् जनता अब ठिक्क भो
झोल बिनाको सुक्खा रोटी हिक्क हिक्क भो
काम गरिखान रोजगारी, शान्ति सुरक्षा देउन !
बुढाहरूको अनुहार कति हेर्नु वाक्क दिक्क भो ।
मुक्तक – पाँच
घर चुहिने भएपछि टाल्नु पर्छ
ताप्के चुहिने भएपछि फाल्नु पर्छ
सबैका समय सीमा आफ्नै हुन्छन्
राँगा बोका मात्तिए भने ढाल्नु पर्छ ।
प्रतिक्रिया
-
४
