✍️ विष्णु पादुका
अनुहारमा अक्षर खोज्ने बानीलाई
रुचाएर होला म सम्म आइपुग्छ
एउटा किताब ,
चिन्तनशील सपनाहरूको नरम ओछ्यान
तिमी एक पुस्तक भएर आइदियौ म पढ्नेछु
ओठको ओढारबाट फुत्किएर उडेका
धुवाँका मसिना मुस्ला हुन् ति कविता
जसलाई
जसले जसरी पनि अर्थ्याउन सक्छ
सुर्तीको एक उल्टि जस्तो
एउटा भावनाको उडान हो
जो कोहि
हराउन पनि सक्छ आफैँभित्र
निशब्द भनिरहेको छ
त्यो अनुहारले
‘जिज्ञासाको भोक मेट्न
हाजिर हुन्छन् केही हरफ
कल्पनाको किनारमा
केही शब्दसँग
आउ सँगै बगौँ भाबनाको भेलमा
देख्नेले कविता देखुन्
या
शब्दको सङ्गतको खोजिका ए ताँती कमिला’
जब उसको अनुहार हेरेँ
मुजा परेका अनुहारका पत्र पत्रमा
स्मृतिको एक सुख्खा बगैंचा
हावा छिर्न पनि अनुमती थिएन सायद
संगितको मौनता ब्याप्त
पुतलीहरूको टुङ्गिएको बहिर्गमन
र थियो एउटा स्थिर सन्ध्या
आँखाहरूमा
एउटा पीरको ग्रह निर्माण भएको थियो
दुस्खहरूको सम्मेलन पछि
बुझ्नेको लागि उसको अनुहारमा
कविताका शब्द
थोपा थोपा नशा झैं तैरिएका छन्
जो गीत बनेर संगीतलाई आमन्त्रण गरिरहन्छ
तर,
विचारको अश्लील हतियारबाट
जुनै युग र समाज असुरक्षित छ
सपनाको रहस्य खोज्दा भेटिन्छन्
सुन्दर गोप्यताहरू
स्वाधीनताको पिञ्जडा कुच्चिएपछि
यान्त्रिक मनमा एउटा बगैँचा उम्रन्छ
जसलाई समयको क्रमिक आक्रमणले मात्रै नियन्त्रणमा ल्याउन सक्छ ।
प्रतिक्रिया
-
४
