फोटोमा मुक्तक प्रतियोगिताका संयोजक सुनिल अधिकारी आफैँमा मुक्तक विधामा पहिचान बनाएका स्थापित मुक्तकार हुन् । कलाकार स्व. शुभद्रा अधिकारीको सुपुत्रसमेत रहेका उहाँ नेपाली साहित्य विशेषतः मुक्तक विधाको श्रीवृद्धिका लागि दशकौंदेखि अहोरात्र खटिरहनु भएको छ । दर्जनौँ मानसम्मान तथा पुरस्कार प्राप्त गरेका अधिकारीले पछिल्लो केही बर्षयता नेपाली मुक्तकको विकास तथा विस्तारका लागि सामाजिक सञ्जालमार्फत फोटोमा मुक्तक प्रतियोगिता सञ्चालन गर्दै आउनुभएको छ । गत बिहीबार मात्रै फोटोमा मुक्तक प्रतियोगिता कार्यक्रमले १०० औं श्रृङ्खला पूरा गरेको छ । उक्त विशेष श्रृङ्खलामा दुई अप्रतियोगीसहित ३७० जना मुक्तकारहरूको सहभागिता रहेको थियो । सोही श्रृङ्खलामा पुरस्कार प्राप्त मुक्तकहरू शनिबारको आँगनमा प्रस्तुत गरिएको छ । उक्त प्रतियोगिताले १०० बिशेष श्रृङ्खला पूरा गरेको अवसरमा यसैसँग सम्बन्धित रहेर सेतोमाटोका सम्पादक जीवन खत्रीले अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः

फोटोमा मुक्तक प्रतियोगिता सञ्चालन गर्दै १००औँ भागमा आईपुग्दा सामाजिक सञ्जालमै यति भव्य कार्यक्रम सम्पन्न गर्नुभयो । कस्तो लागीरहेको छ ?

निसन्देह, खुशी लाग्नु स्वाभाविकै हो । लामो बाटो अनथक हिंडेर एउटा शितल चौतारीको छायाँमा थकाई मार्न पाएको अनुभव भइरहेको छ । एकछिन सुस्ताएर फेरि हिंड्नु छ ।

फोटोमा मुक्तक प्रतियोगिता गर्ने सोच कसरी आयो ? यो कस्तो खालको कार्यक्रम थियो ?

गर्छु भनेर होइन, ख्यालठट्टाबाट शुरू भएको हो । लकडाउनको अवस्था थियो, कतै निस्कन पनि नपाइने कहालीलाग्दो अवस्था । एउटा फोटो कतैबाट भेटें, त्यसको द्रवित भावले मन छोयो र त्यसैमा मुक्तक लेख्न बस्दा अचानक मनमा विचार आयो, “यो फोटोमा अरूले कस्तो भाव भेट्लान् ? कस्तो लेख्लान् ?” अनि त्यही फोटो सहित एउटा पोष्ट राखें “यो फोटो देखेर मनमा जस्तो भाव आउँछ, त्यसलाई मुक्तकमा ढालेर यसैको कमेन्टमा राख्नुस् । मलाई चित्त बुझेको एकजनालाई म रु. १०० को रिचार्ज कार्ड पठाउनेछु ।” शायद त्यतिबेलाको परिस्थितिले गर्दा घरमै खुम्चिएर बस्नुभएका कतिपयलाई यो कन्सेप्ट समय कटाउने एउटा उत्तम उपाय लाग्यो होला, त्यतिबेला ४८ जनाको मुक्तक आयो । यसरी यो प्रतियोगिताको शुरूवात भएको थियो ।

सुरुवात देखि हालसम्म धेरै खालका अनुभव भए होलान् । सम्झन पर्ने र नपरेजस्तो हुन्थ्यो लागेका दुवैतिरका कुरा सम्झिदिनुस् न ।

बिर्सन पर्ने खालको त्यस्तो कुनै नमीठो/नराम्रो कुरा/घटना त छैन, तर यो प्रतियोगितामा धेरैभन्दा धेरैले साथ दिनुभएर मुक्तक विधामाथि लगाउनु भएको गुनचाहिं सदकालको निम्ति अविष्मरणीय रहने छन् ।

मुक्तकको विकास, बिस्तार, र श्रीवृद्धिलाई फरक किसिमले लाग्नुभयो । यसबाट खास के पाउनुहुन्छ ? यस्तो उर्जा कहाँबाट आउँछ ?

न नामको निम्ति गरें न दामको निम्ति गरें, जे गरें कामको निम्ति गरें । मुक्तक विधाप्रतिको मेरो असिमित लगाव अनि यसलाई अन्य विधाहरू सरहको उच्च सम्मान दिलाउनु पर्छ भन्ने भावनाले गरें । यसबाट मैले पाएको भन्नु धेरै मुक्तककार साथीहरूको साथ्, माया, सद्भाव अनि सम्मान हो । यिनै मेरा उर्जा हुन्, यसैबाट मैले यथेष्ट आत्मसन्तुष्टि पाएको छु ।

१०० औँ श्रृङ्खलापछि पनि के सोच्नुभएको छ ? अबका दिनमा यो अभियान कसरी लैजानु हुन्छ ?

यसैलाई निरन्तरता दिन्छुरदिन्न भन्ने समेत सोच्न सकेको थिइन, तर १००औं श्रृङ्खलामा जुन किसिमको साथ् सहभागिता अनि प्रायोजन जुट्यो, त्यो मेरो लागि अनपेक्षित थियो । हुन त मलाई यहाँसम्म उहाँहरूले नै हात दिएर पुर्याउनु भएको हो भने उहाँहरूकै अपेक्षालाई र मुक्तक उन्नयनको आफ्नो अभियानलाई पनि निरन्तरता दिन यो प्रतियोगितालाई मैले कायम राख्नैपर्छ भन्ने लाग्यो । अबको बाटो अलि फरक हुनसक्ला, त्यो बेग्लै कुरा ।

मुक्तकका विषयमा धेरैका धेरै धारणा छन् । गजलकै अघिल्ला दुई शेर लेखेर मुक्तक भयो भनेर मख्ख पर्ने पनि छन् । खासमा मुक्तक भनेको के रहेछ ?

मुक्तक भन्नु एउटा मनोभाव न हो, जुन चार हरफमा अनुप्रास सहित व्यक्त गरिन्छ । खासमा मुक्तक भनेको के रहेछ । र कस्तो हुनुपर्छ भन्ने कुरामा अब मुक्तक लेख्नेहरू धेरैमा पहिलेको जस्तो अन्यौलता छैन । धारणा बाझिनुको कारण बुझाइको कमीले हो र बुझाउन नसक्नु हाम्रो आफ्नै कमजोरी हो ।

अन्य विधाको तुलनामा अलि हेलाको चपेटामा परेकोजस्तो पनि देखिन्छ मुक्तक । राज्यका तर्फबाट पनि बिशेष कार्य भएजस्तो लाग्दैन् । मुक्तककै लागि भनेर बिभिन्न संघसंस्थाहरू पनि छन् । उनीहरूका तुलनामा तपाईँ एउटै व्यक्ति भारी परेजस्तो देखिनुभयो ? यो कसरी सम्भव भयो ?

कसैलाई तल देखाउन वा आफू माथि पर्न म यसमा लागेको होइन । मुक्तकप्रतिको मेरो रुझान, लगाव, मायाले गर्दा नै यसमा इमान्दारिपूर्वक लागेको हुँ । म जस्तै मुक्तकलाई माया गर्ने धेरैको साथ पाएरै आज म जे गर्दैछु त्यसमा आजसम्म त सफल भएको हुँ ।

मुक्तकको लोकप्रियता त बढ्दो छ तर त्यसले पाउनु पर्ने जति सम्मान नपाएको अनुभूति हामी सबैलाई हुन्छ । जुन सम्मान गजल, कविता तथा अन्य विधाहरूले पाएका छन्, त्यो सम्मान मुक्तकले नपाउनुको पछाडि हामी आफैं पनि दोषी छौं । किनभने मुक्तककै विकासको निम्ति भनेर स्थापना भएका संस्थाहरू उदासिन भएर बसेको छ । सम्बन्धित सरकारी संस्थाहरूको त कुरै नगरौं । मैले जत्ति गरेपनि वा जत्ति बोले पनि एउटा आधिकारिक संस्थाको जत्ति÷जस्तो मेरो आवाज सबै ठाउँमा पुग्दैन/पुग्नै सक्दैन ।

मुक्तकका लागि अब के के हुनुपर्छ ? यसका लागि कुन कुन निकायबाट के के हुन जरुरी छ ?

मुक्तक विधाको विकाशको निम्ति भनेर स्थापना भएका संस्थाहरूले मुक्तकको आधिकारिक रचना विधान बनाउने, बेलाबेलामा मुक्तक सम्बन्धि कार्यक्रमहरू ल्याउने, मुक्तक सम्बन्धि जानकारी दिन पेज/ब्लगमार्फत मुक्तककारहरूलाई एउटै छानामुनि आबद्ध गरेर प्रतियोगिता गर्ने गराउने, गोष्ठी सञ्चालन गर्ने, वाचनको तालिम दिने अनि कसैले पनि सङ्ग्रह निकाल्नुपूर्व पाण्डुलिपि अध्ययन गर्ने, अमुक्तकलाई नियमन/नियन्त्रण गर्ने र प्रकाशित सङ्ग्रहको बजार व्यवस्थापन गरिदिने आदि आदि कामहरू गर्नुपर्यो । त्यसको अलावा गजल, कविता महोत्सव जस्तै मुक्तकको पनि महोत्सव मनाउन सम्बन्धित सरकारी निकायलाई दवाब दिनुपर्यो ।

तपाईँ एक चर्चित, राष्ट्रिय स्तरमा उच्च ख्यातिप्राप्त कलाकार स्व. शुभद्रा अधिकारीज्यूको छोरा पनि हुनुहुन्छ । अभिनयतिर मन गएन ? साहित्य लेखन र रङ र कलामै भिज्नुभयो किन ?

उहाँ घरको वातावरण अनि आफ्नो रुचीले गर्दा कलाकारितामा लाग्नु भयो, नाम कमाउनु भयो । आज उहाँ नरहनु भए पनि सबैले उहाँलाई चिन्छन् र मलाई उहाँको छोरा हुनुमा गर्व पनि छ, त्यो आफ्नो ठाउँमा । तर, अभिनय मेरो रुचिको विषय कहिल्यै बन्न सकेन । उहाँले पनि कहिल्यै प्रोत्साहन गर्नुभएन । शायद त्यतिखेर त्यो क्षेत्रमा उहाँले भोग्नुभएका अनुभवहरूको कारणले होला । हुन त हाम्रो सात पुस्तामै कोही साहित्यकार थिएनन् । तर पनि म कसरीकसरी बुझ्ने उमेरको भएदेखि नै यतापट्टी लागेछु, म आफैंलाई थाहा छैन ितर म लेख्छु भन्ने उहाँलाई थाहा थियो र लेख्नलाई प्रोत्साहन पनि गर्नुहुन्थ्यो ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

हुन त मुक्तकको बारेमा गर्नुपर्ने धेरै कुराहरू अझै बाँकी नै छन् र त्यो भन्दापनि धेरै त गर्नुपर्ने कामहरू नै बाँकी छन् ।अब तिनै कामहरू कार्यन्वयन गर्न सकियो भने बाँकी रहेका कुराकानी पनि त्यसैबेला गरौंला । आज मलाई मुक्तकको बारेमा आफ्ना कुराहरू राख्ने मौका दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद ।

जय मुक्तक !

प्रतिक्रिया

सम्बन्धित खवर