✍️ तपेन्द्र घोडासैनी

  गजल – एक

म मान्ने छु आगो खरानी जलाए
घिउ तेल के हो र पानी जलाए

मोही पार्न खोज्दा ननिस्केर नौनी
कसैले चुलामा मदानी जलाए

उ श्रीखण्ड बोटा थियो आँगनैको
उखेलेर कसले नजानी जलाए

तँ जा भन्दिदा भो म निस्केर जान्थेँ
अँझै पर्ख भन्दै खुर्सानी जलाए ।

गजल – दुई

लुकाएछन् बडा गाह्रो अवस्थामा लुकाएछन् ।
मणिलाई पनि एकदम अँध्यारामा लुकाएछन् ।

अचेल आँसुहरु पोखी पखाल्ने सोचमा हुन्छन्
कसैलाई कुनै बेला परेलामा लुकाएछन् ।

उडेको के थियो घुम्टो बहुत आश्चर्यमा पर्छु
यहाँ कसले हिरामोती पछ्यौरामा लुकाएछन् ।

लिए फोटाहरू सारा अचेल धूवाँ नियाल्छन् रे
हतारैमा लिएका हुन् अँगेनामा लुकाएछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर