✍️ सुरेन्द्र चौधरी

  मुक्तक – एक

सधैँ साथ दिन्छौं भन्नेहरू आज छुटेर गए
अनि आउने जाने मूल बाटो बन्द गरेर गए
स्वार्थको भोक मेटिए पछी नौटंकीहरूको
जुन थालमा खाए त्यहि थालमा चुठेर गए

   मुक्तक – दुई

खन्नु खनेर जरो बदनाम गर्छन् आफ्नाले यहाँ
अनि हुने नहुने तामझाम गर्छन् आफ्नाले यहाँ
बस् गिराउने अबसर मात्र मिल्नुपर्छ तिनलाई
दुस्मनले नि नगरेको काम गर्छन् आफ्नाले यहाँ

   मुक्तक – तीन

दासी त जनता हुन् देशको मालिक नेताहरू हुन्
राजा महाराजाका दासत्व कालिक नेताहरू हुन्
गरीब जनतालाई दुःख पर्दा मुकदर्शक भएर हेर्ने
जनता जनार्दनका जिउँदा सालिक नेताहरू हुन्

मुक्तक – चार

सुन्दा पनि अचम्म लाग्यो हत्तेरी पाउमा गिरेछ
आफ्नो औकातको धरातल हेरी पाउमा गिरेछ
छाती कुल्चेर काँध टेकेर शिरमा बसेको मान्छे
डगमगाएर उचाईको सिँढी फेरी पाउमा गिरेछ

   मुक्तक – पाँच

देखाएर आफ्नो दम्भ अरूलाई दबाउनु अपराध हो
दुःख कष्ट पीडा दिएर कमजोर बनाउनु अपराध हो
यहाँ सबैको आआफ्नो जीवन जिउने अधिकार छ
अरुको स्वतन्त्रता माथी बन्देज लगाउनु अपराध हो

 

प्रतिक्रिया

सम्बन्धित खवर