सेतोमाटो मिडिया डटकम आजबाट १ वर्ष पूरा गरि दोस्रो वर्षमा पाईला राखेको छ । सेतोमाटो ‘खबरको गन्तव्य’ भन्दै ७८ साल श्रावण १ अर्थात आजकै दिनबाट हामीले हाम्रो यात्रा सुरु गरेका थियौँ ।

सीमित स्रोत, साधन र जनशक्ति, महत्वकांक्षी रहर र जस्तै अप्ठ्यारोमा पनि केही न केही निरन्तर गरिरहुनुपर्छ भन्ने अडान र सहकर्मी साथीहरूको साथ । अझ बढी देश भित्र र देश बाहिर छरिएर रहनु भएका तमाम प्रिय मनहरू जसले हामीलाई माया, हौसला र विश्वास गरिदिनुभयो यो न‌ै हामी निरन्तर लागीरहने हाम्रो लागि ताकत भयो ।

हिजो राणा शासन फालियो । पछि पञ्चायत । पछि राजानै फालियो र भित्र्याईयो तामझामका साथ गणतन्त्र । देश संघियतामा गयो । त्यसको अभ्यास गर्दैछौँ हामी । तर जे जे तन्त्र र ब्यवस्था आएपनि खै त परिवर्तनको महशुस गर्न पाएक‍ो हामीले ? देशमा बेथीति, कुशासन, शक्तिको चरम दुरुपयोग, भ्रष्टचारको कहालीलाग्दो अवस्था, बेरोजगार युवाहरूको अगणित भीड, अव्यवस्थित प्रशासन प्रकृया, जताततै महंगी, उद्दोग कलकारखाना ठप्प । जताततै बिचौलियाको बिगबिगी, अधिकांश कार्यालयमा कि भनसुन कि पैसाको खेलो नत्र कुनै काम बन्दैन् । के हामीले खोजेको यहि थियो त ? पक्कै पनि थिएन ।

कृषिप्रधान देश भनेर भनेर चिनिएको मुलुमा खाद्दानकै समस्या छ जहिल्यै । न भनेको बेला बिउबिजन न मल ? उही पुरानो खेती प्रणाली, कहिल्यै ब्यावसायिक हुन सकेन । भएका पनि राज्यको तर्फबाट उचित सहयोग नपाएको गुनासो झन् झन् चर्को सुनिदै छ । कसको कमजोरी हो यो ?

दक्ष युवाशक्ति अवसरको खोजी गर्दै देश छोड्न बाध्य भैरहेको दुःखदायी अवस्था र हातमा हरियो राहदानी बोकेर बिमानस्थलमा उड्न ठिक्क परेका उनीहरूको अघिपछि गर्दै आँसु चुहाउँने आफन्तको आँसु । अझ उनीहरूलाई छोड्न आएका बृद्ध बा–आमा र कलिला छोराछोरीको क‍ोकोहोलो टुलुटुलु हेर्नु सिवाय हामीले केही गर्न सकेनौं। जसले यो देशलाई जुरुक्क काँधमा राखेर बोक्न सक्छ उसकै बिहान बेलुका हातमुख जोर्न धौ धौ परेपछि के गर्ने उसले ?

तर समस्य मात्र हुँदैन समाधान पनि एकै सिक्काका दुई पाटाझैँ भेटिन्छ एकसाथ । खोज्न जान्नुपर्छ । आफ्नो ठाउँबाट जे सकिन्छ सकारात्मक र पवित्र सोचका केही न केही गरिरहनुपर्छ । भलै परिवर्तनको मुश्लो नदेखिएला एकैपटक तर आशाको झिल्को त जोगाउनै पर्छ । जोगाउने यात्रामा लागौँ भन्ने प्रयास हो हाम्रो ।

यो यात्रा सजिलो छैन भन्ने थाहा थियो । तर पत्रकारिता प्रतिको बिशेष अनुराग, केही न केही गर्नुपर्छ भन्ने लगावले हामीलाई उर्जा दिईरह्यो र एक वर्ष सजिलै पूरा भयो । सुरुवाती क्षणमा पनि हामी भयङ्कर काम गर्छौं भनेका थिएनौँ । गर्यौं पनि भन्दैनौँ । तर जे गर्यौं कसैको दबाबमा नपरी पत्रकारिताको धर्मलाई निभाउने कोशिस गर्यौं । पत्रकारीताको सम्पूर्ण मर्मलाई आत्मसाथ गर्न सकिएन होला, तर मूल मर्मलाई सधैँ जोगाईरह्यौँ । कसैको मुखपत्र हुनबाट जौगियौँ । टिआरपी पाउने लोभमा सस्ता र छाडा विषयवस्तुलाई नकार्यौं । आगामी दिनमा पनि यो कुरामा हामी दृढ छौँ ।

१ वर्ष पूरा गरेक‍ो अवसरमा हामीलाई बधाई शुभकामना दिनुहुने सम्पूर्णमा धन्यवाद । सहकर्मी सम्पूर्ण साथीहरूमा आभार । लेख रचना पठाएर सहयोग गर्नुहुने तमाम बौद्धिक व्यक्तित्वहरू प्रति नमन । यहाँहरूको माया हामीले सोचेभन्दा धेरै पायौँ । यो हो हाम्रो सम्पती । बिभिन्न कार्यक्रमहरूमा मिडिया पार्टनरको भूमिका निभाउनु पाएकामा हामी कृतज्ञ छौँ । आयोजक र सम्बन्धित सबैमा आभार । आगामी दिनमा पनि सहयात्रा अझ बिशेष हुँदैजानेछ । विश्वस्त छौँ ।

माथि कतै भनिसक्यौँ, समस्या मात्र देखाएर बस्ने हैन जे सकिन्छ परिवर्तनका लागि सानै किन नहोस् गर्ने हो । कम्तिमा सकारात्मक सोच राख्ने हो र केही गर्छु भन्नेहरूलाई कम्तिमा हौसला दिने हो । हामी त्यही गरीरहेका छौँ । गर्नेछौँ । आफ्नो ठाउँबाट केही गरौं र सुरुवात आजैबाट गरौं ।

यहाँहरूको अमूल्य मायाको हामी सदा ऋणी छौँ । सधैँ माया पाउनेमा विश्वस्त छौँ । समाजका कुनैपनि खबर, लेख रचना पठाउन र पाउनका लागि हामीलाई सम्झिनुहोस् । शभुपल ।

प्रतिक्रिया

सम्बन्धित खवर