जीवन खत्री सउल, दक्षिण कोरिया – सोई ढोले सोई अर्को ढोले खोई…
सोई सोई ला हो हुर्रा हा हा….

चार सय बढी नेपाली युवा युवती, ढोलक र झ्याम्टाको तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै ५ घण्टा बढी कोरियामा धूलो उडाए । सन्दर्भ थियो किँरातीहरूको माहान पर्व उभौलीको अवसर । यलेदोङ ५०८२को अवसरमा यहाँ रहेका नेपाली बिशेष किँराती राईहरूले हर्षोलासका साथ साकेला नाच नाचे ।

दक्षिण कोरियामा रहेका किराँतीहरूको साझा संस्था किँरात राई यायोख्खा (किराया)ले येलेदोङ ५०८२को अवसरमा राजधानी सउलमा शुभकामना आदान प्रदान तथा साकेला नाच कार्यक्रम आयोजना गरेको थियो । आईतबार सउल दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा बिहान ११ देखि साँझ ६ बजेसम्म कार्यक्रम भएको थियो ।

‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको यस कार्यक्रमले नेपाली, बिशेषत किराँती संस्कार र संस्कृतिलाई परदेशमा फैलाउन र कोरियनहरूका माझमा चिनाउन समेत सहयोगी हुने आयोजक संस्थाका महासचिव जीवन तेप्तास राईले बताए ।

प्रत्येक वर्ष बैशाख पुर्णिमा देखि साकेला नाचिने भए पनि परदेशमा पूर्णिमाकै दिन छुट्टी नमिल्ने भएकाले छुट्टीको दिन पारेर कार्यक्रम गरिएको आयोजक दिपा मेवाहाङ राईले बताईन ।

किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली मनाईन्छ । भूमी पूजा गरी साकेला शिलि नाच नाच्नु किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नका लागि यो नाचको बिशेष अर्थ रहेको कवि शकुन आँसुले बताईन ।

किराती परम्परा अनुसार उभौली सँगै मंसिर पूर्णिमाका दिनबाट उधौली पनि मान्ने गरिन्छ तर परदेशमा सम्भव नहुने भएकाले उभौली मात्र भए पनि निरन्तरता दिएको कवि सुनिल दिप्त राईले बताए ।

अन्नबाली लगाउने समयमा मनाइने उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।

साकेला अर्थात सान्केवा नाचमा हात-खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव-जनावरको नक्कल गरी ढोल-झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य गरिन्छ ।
साकेलसाकेन्वा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिने आयोजक सुष्मा रानाहमा राईले बताईन ।

यहाँ रहेका नेपाली किँरातीहरूले हरेक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला २ वर्ष कोरोनाका कारण रोकिएको थियो ।

कार्यक्रममा कोरियामा रहेका किराँती समुदाय लगायत अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधीहरू, विद्दार्थी, व्यवसायि तथा मजदुरहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर