सउल – प्रकृति पुजक भनेर चिनिने किरातीँहरूको महान पर्व उभौलीको अवसर पारेर यहाँ साकेला नाच्ने कार्यक्रम गरिने भएको छ ।

दक्षिण कोरियामा रहेका किराँतीहरूको साझा संस्था किँरात राई यायोख्खा (किराया)ले येलेदोङ ५०८२को अवसरमा राजधानी सउलमा शुभकामना आदान प्रदान तथा साकेला नाच कार्यक्रम गर्न लागेको हो । आउँदो जुन ५ तारिख सउल दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा बिहान ११ देखि कार्यक्रम हुने आयोजकका तर्फबाट दिपा मेवाहाङले बताईन ।

‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको यस कार्यक्रमले नेपाली, बिशेषत किराँती संस्कार र संस्कृतिलाई परदेशमा फैलाउन र कोरियनहरूका माझमा चिनाउन समेत सहयोगी हुने अपे‍क्षा गरिएको छ ।

चुल्होको तीन चम्कालाई बिशेष महत्व दिने किराँतीहरूले हरेक वर्ष महत्वका साथ उभौँली र उधौँली मनाउने गर्दछन् । यहाँ रहेका नेपाली किँरातीहरूले हरेक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला २ वर्ष कोरोनाका कारण रोकिएको थियो । दुई वर्ष देखि रोकिएका कारण पनि यस वर्ष बिशेष हुने आयोजकको भनाई छ ।

कार्यक्रममा कोरियामा रहेका किराँती समुदाय लगायत अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधीहरू, विद्दार्थी, व्यवसायि, रोजगारी गरिरहेका व्यक्ति लगायतलाई पनि कार्यक्रममा आउनहुन आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर