संखुवासभा – संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या घटनाको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । ४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पनि पक्राउ गरेको छ । प्रहरीले मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की सहित ४ जनालाई सार्वजनिक गरेको हो ।  पक्राउ पर्ने अन्यमा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् ।

गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो । उक्त घटानमा संलग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका चारै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा आरोपीहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइलसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटना खड्गबहादुर कार्कीको योजनामा घटाइए पनि छोरा हस्तबहादुरसहित लोकबहादुर कार्कीको घरमा गई सबै जनाले घटनाको बारेमा कसैले थाहा नपाएको बताउने सल्लाह भएको प्रहरीले बताएको छ । यदि प्रहरी आई घटनाका बारेमा पत्ता लगाएमा लोकबहादुरले मानसिक रोगको औषधि खाइरहेको र उनले नै जिम्मा लिने गरी उनीहरूबीच सल्लाह भएको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर