कात्यायन

मेरा अतीतहरूले घेर्दै ल्याउँछ मलाई ; हरेक रात / हरेक बिहानी / हरेक दिन ! अथवा, प्रत्येक प्रहर / प्रत्येक घडी ! हरबखत, मात्र एउटै स्मृतिले छोप्दै आउँछ ! लाग्छ, कहिल्यै उम्कन सक्दिन यी सम्झनाहरूबाट, सायद !

कोशिश पनि नगरेको हैन अतीतहरू चुँडाल्ने । जब, बलजफ्ती गर्थें भगाउन अतीतलाई, घाँटी निमोठ्ठिएर आउँथ्यो … श्वास मण्डारिएर … मस्तिष्क चक्कराएर … अनि विचार बहुलाएर … । जब कोशिश वामे सर्न थाल्थ्यो — विष बनिरहेको हुन्थ्यो त्यो आफैंमा । उही छट्पटी ! उही तिक्तता जीवनप्रति ! मृत्यु हाँसिरहे झैँ लाग्थ्यो — दापभित्रको खुकुरीमा … डोरी / दलिन / र, हाँगामा … झ्याल / छाना / र, ईनारमा … जताततै मृत्यु अट्टहास गरिरहे झैँ लाग्थ्यो ! … जब, कसैको व्यथा देख्न थाल्थें !

मनभित्र हुन्थ्यो कि, कतै मृत्यु बरु आफैं आएर च्यापिदियोस् ! निमोठी दियोस् ! अंठ्याई दियोस् गला समेत ! … तर, मृत्यु कसैको पुकारदेखि पग्लँदो रहेनछ … ऊ आएर कहिल्यै मेरो साथ दिएन ! मन हुन्थ्यो — आफैं अङ्गाल्न जाउँ कि उसलाई ? तर, चाहेर पनि सकिन्न रहेछ मृत्युलाई पाउन !

काल भयानक अट्टहास लुकाई रहेको हुन्थ्यो ! हाँसिरहेको हुन्थ्यो — मृत्यु चपाएर !

मुस्कान ! … हो, मुस्कानभित्र स्वागत गरिरहेछ कालले !

विष ! … हो, विष पनि निमन्त्रणापत्र हुन सक्थ्यो मरणको !

तर, … म ? … मात्र विस्मृतिले सताइरहेको थियो मलाई !

लाग्छ, असफलता पनि जीवन रहेछ कुनै क्षणको ! बित्दै गए वाल्यावस्था ! र, बित्न सक्छ यौवनसङ्गै भविष्य पनि ! चर्किँदै गएको समयसङ्गै, समय आफैं विषालु बनिसकेको थियो । र, चाहेर पनि विषको सेवनले, म मृत्युलाई अङ्गाल्न सक्दिन थिएं !

नसक्नु पनि असफलता भयो समयको !

निराशा पनि एक भाग रहेछ बाँच्नुको !

छट्पटी ! हो, छट्पटी पनि अर्को अंश रहेछ जीवनको !

विफलता र अतीतको संमिश्रण गरेर बसिरहेछु, म मृत्यु कुरेर ! तर, वर्तमानले पनि कहिल्यै मलाई पिछा छाडेन । जब म, अतीतै अतीतमा चुर्लुम्म डुबुँ भन्थें — वर्तमान हाँसिरहे झैँ लाग्थ्यो, व्यथा पोख्दै !

यसैले, कोशिश छाडिदिन्छु, अतीत चिम्लने । भग्नावशेष पनि एक इतिहास हो कुनै अस्तित्वको, त्यसले पनि आफ्नो जीवन वर्णन गर्न सक्छ ! व्यथा पोख्न सक्छ ! … तर, म सम्झना कुल्चन खोज्दैछु । कस्तो आश्चर्य ! इतिहास मेटेर कहिँ मेटिन्छ ? घटना बिर्सेर, कहिँ छोट्टिन सक्छ ?

जसैजसै, म प्रयास गर्थें पुराना यादहरू बिर्सन, निराशा अग्रसर हुन्थ्यो सफलता छेक्न ।

यसैले, अब म बितेका दिनहरू बिर्सन छोडिदिन्छु । सताइरहुन् सब दिनहरूले ! सताइनु पनि त एक अनुभव भयो ! धुकधुकीले भ्याएसम्म म, कथाहरूलाई सुमसुमाई रहनेछु !

उफ ! … कति दर्दनाक घटनाहरू समेट्टिँदै आउँछन् … सजिवता देखाउँदै … मस्तिष्क पिउँदै … चुस्की लिँदै ! …

मौसामुनुकूल यी कोठाभित्र, अझ सिरकभित्र गुटमुटिन पाउँदा पनि म, सुखसङ्ग सुत्न सकिरहेको छैन । त्यसै-त्यसै चिसा छर्राहरूले, ताता लपेटाहरूले, ममाथि बज्रपात गरिरहेका छन्; घोचिरहेका छन्; हिर्काइरहेका छन् । … तर, ती सडकमा लम्पसार पर्ने अनाथहरू कसरी मस्त निदाउन सकिरहेका होलान् ? एक जिज्ञासा उत्पन्न हुन्छ । आत्महीनता बोध हुन्छ ! म छटपटाउँछु ! … कारखानामा काम गर्दागर्दै बालकको जन्मदिँदाको आमा जस्तै ! … अथवा, समरमा आफ्नै साथीले प्रहार गरेको शस्त्रले घायल बनाई कुनै योध्दा वीरगति प्राप्त गर्न नसकी, समाधि लिन पुगेका अन्य योध्दाहरूको शरिरहरूमाथि मूढाजस्तै, लम्पसार भएर, मूकतावश, वन्धुहरूको मृत्यु हेर्न पर्दाको झैँ … वा, दिनभरि डुल्दाडुल्दा पनि ज्यालामी नपाएर, लखतरान्न परेर फर्किरहेको जवानलाई आमाको आकस्मिक मृत्युको खबर सुनाई, अझ उसलाई नै आमाको हत्याको आरोपमा सिक्रीले बलजफ्ती घिसार्न खोज्दाको झैँ, … अनि … म चटपटाउन थाल्छु ! … शिथिल हुन्छु !

यस्तैयस्तै वास्तविकतामा कति उज्याला सूर्यहरू अस्ताए वेदनाले रङ्गिँदै … कतिकति शीतल चन्द्रमाहरू उदाए/अस्ताए … डाहाले रन्थनिँदै !
* * *
रातले घच्घच्याउँछ । गएर म डङ्ग्रङ्ग पछारिन्छु ओछ्यानमा ।

उफ ! … लाग्छ, डनलपका ओछ्यान हैन यो … फलामका ताता झिरहरू राताराता बनाएर गाडिएका छन् बिछ्यौनाभरि ! ओल्टेकोल्टे फर्किएर सहने प्रयासरत हुन्छु । सूइराहरूले घोच्न छाड्दैनन् । अहँ ! अब म बच्न सक्दिन ! तिघ्रा-खुट्टाहरूमा घोच्दै छन् … हातपाखुराहरूमा गड्दै छन् … छाती-मुटुहरूभित्र रोपिँदै छन् … अझ: विचारमा समेत छेड्दै छन् … ?

अधैर्यता पनि एकक्षण देखिँदो रहेछ, जिन्दगीमा !

म जुरुक्क उठ्छु पलङ्गबाट । अनि सारा ओछ्यान र तकिया-सिरकहरू पछार्न थाल्छु चिसा सिमेन्टका छातीमा नै ! मेरा हातहरू सक्रिय भएर जाँगर देखाइ रहेका हुन्छन् … डनलपहरू भूईँमा पछारिन्छन् … उचालिन्छन् … फेरि पछारिन्छन् । तकियाहरू पनि त्यस्तै हुन्छन् मेरा हातहरूबाट । अनि तन्ना च्यातिँदै जान्छ … च्यातिँदै टुकृँदै जान्छ … प्रत्येक तानहरू अलग्गिँदै जान्छन् … धागाहरू स्वतन्त्र हुँदै जान्छन् … अझ सक्दो हूँ त, कपास-कपासमा अलग्याउन सक्ने जाँगर पनि उठ्न सक्थ्यो मलाई !! …

पलङ पनि घिसार्दै, लतार्दै, फुटाल्दै लान्छु र अर्को कुनामा थुपारी दिन्छु, ठड्याई दिन्छु; अपराधीहरूलाई कठघरामा जस्तै ! आराम कुर्सीले नि गिज्याई रहे जस्तो लाग्छ, क्रूरताले हेर्छु र पछारिन थाल्छन् ती पनि । … बजारिन थाल्छन् टेबुल पनि … सके भाँचियोस् खुट्टाहरू, दाँतहरू … र, हाँसिरहुन् गिजा देखाउँदै मेरा असफल पलहरू जस्तै ! … घूँडा टेकेर आराम गरिरहुन् अपाङ्ग जस्तै ! … …

पसिना निकालेँ । केहीबेर सुस्ताएँ ।

मलाई केही बिर्सन सफल भए जस्तै महसुस भयो ! खुसी लाग्यो !

थकित पनि भएँ र निदले घेरे जस्तै भयो । लम्पसार परिदिन्छु भूईँमा नै !

उफ् ! कति मजाक उडाउँछ मलाई समयले अझैसम्म ? सिरक त त्यहीँ नै गुट्मुटिएर रहेको रहेछ … उस्तै काँडाले तलबाट आक्रमण गरे जस्तै, करेन्ट लगाए जस्तै … म बुद्रुक्क उफृन्छु । र, हातहरू पुनः सकृय हुन्छन्, सिरकका हाड र मासु लुछ्दै जान्छु … तर सिर्फ छाला, नसा र बोसो मात्र निस्कँदै जान्छ, च्यातिँदै जान्छ, थुपृँदै जान्छ । मलाई त केवल हड्डी चाहिएको थियो … मासु चाहिएको थियो ! उहूँ ! टुकृँदै, छोट्टिँदै र सिध्दिँदै गए … यहाँ पनि मैले सफलता पाउन सकिन । न हड्डी पाएँ, न त मासु नै !

म गलेँ ! अझ गलेँ !! र, चिसा सिमेन्टमा नै त्यो रात पछारिएँ । लम्पसार परें । भुसुक्क निदाएँ ।

त्यो रात, सुखको रात थियो । विचारमा डुब्न नपरेको रात ! सोचाईमा बग्न नपरेको समय ! मलाई, मृत्युको अभिलाषा पूर्ण भएको, मेरो कल्पनाभन्दा नि धेरै अपूर्व र मीठो लाग्यो त्यो रात ! र, मेरो निद मसङ्ग थियो ! … कुनै भावना थिएन दिमागमा … शून्य-शून्य ! … त्यो रात नै मेरालागि अवर्णनीय रात थियो ! … सम्पन्नताले घोच्न बिर्सेको, पोल्न भुलेको रात ! … त्यही एकरातले नै कथा चिम्लन सक्षम भएको थियो ! मात्र त्यही एकरातले जीवनलाई अकथा बनाउन सफल थियो !
*** *** ***

प्रतिक्रिया

सम्बन्धित खवर