काठमाडौँ – भारतले साउन ४ गतेदेखि चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । खाद्यान्नको मूल्यवृद्धिलाई नियन्त्रण गर्नका लागि भारतले बासमती बाहेकको सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।

यसका लागि भारतले निर्यात नीतिसमेत शंसोधन गरेको थियो । सूचना जारी हुनु अगाडि नै निर्यातका लागि लोड भइसकेको चामल भने निकासी गर्न दिइने भारतको वाणिज्य विभागले जनाएको छ । चाडपर्वको समयमा आन्तरिक मागमा भएको वृद्धि र खुद्रा मूल्य नियन्त्रणलाई ध्यानमा राखी उक्त निर्णय गरिएको विभागको भनाइ छ ।

पछिल्लो समयमा भारतमा चामलको मूल्य १० देखि २० प्रतिशतले बढेको छ । भारतले उत्पादको कुल २५ प्रतिशत गैर बासमती चामल निर्यात गर्छ । भारतबाट सन् २०२२/२३ मा ४.२ मिलियन गैर बासमती चामल निर्यात गरेको थियो, जबकि सन् २०२१/२२ मा २.६२ मिलियन अमेरिकी डलरको चामल निर्यात गरेको थियो । भारतबाट सबैभन्दा बढी  थाइल्याण्ड, इटाली, स्पेन, श्रीलंका र अमेरिकामा चामल निर्यात हुने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा झण्डै १५ लाख ५४ हजार चामल निकासी भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ११ लाख ५५ हजार टन मात्र थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यातमा ३५ प्रतिशतले वृद्धि भएको हो । भारतका कतिपय राज्यहरूमा कम बर्षा हुन उत्पादन घट्ने भन्दै भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । गत वर्ष भदौ अन्तिमदेखि भारतले कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। बासमती र उसिनाबाहेकका अरू चामल र धान निर्यातमा भने २० प्रतिशत कर लगाएको थियो।

भारत विश्वमा चामलको दोस्रो ठूलो निर्यातक देश हो । भारतले चामल निर्यातमा रोक लगाएपछि विश्वभर खाद्यान्नको मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ।

नेपालमा कस्तो प्रभाव पर्ला ? 

नेपालको छिमेकी मुलक भारतले लगाएको चामल प्रतिबन्धको असर नेपाललाई पनि पर्ने देखिन्छ । नेपाललाई भने वार्षिक ६ लाख मेट्रिक टन धानको कोटा निर्धारण गरी भन्सार छुट दिएको थियो। नेपालमा ठुलो परिणामा भारतबाट खाद्यान्न आयात हुँदै आएको छ ।

भन्सार विभागका अनुसार पछिल्लो ११ महिनामा मात्रै ४५ अर्बभन्दा बढीको धान चामल आयात भएको छ । जसमा भारतबाट मात्रै १४ अर्ब २३ करोड रुपैयाँ बराबरको २० करोड ६५ लाख किलो चामल आयात भएको छ ।

भारतबाट नेपालमा विशेषगरी  जिरा मसिनो र मोटा चामल भित्रिने गरेको छ । त्यसैले भारतको प्रतिबन्धले नेपालमा सोझो असर गर्ने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा विशेषगरी मोटा, मध्यम, मसिनो र बास्नादार चामल भित्रिने गरेको छ । जसमध्ये गैर बासमती चामल बढी छ ।

नेपालमा भारतबाट मात्र नभएर चीन, थाइल्यान्ड, भुटान, क्यानडा, जापानलगायत १७ देशबाट धान चामल आयात हुँदै आएको छ । यी देशबाट गत वर्षको जेठ मसान्तसम्म नेपालमा ३३ अर्ब ६३ करोड ४७ लाख ९१ हजार रुपैयाँको धान चामल आयात भएको छ । १७ देशबाट धान चामल आयात भए पनि भारतको हिस्सा नै बढी रहेको छ ।

मौसमका हिसाबले नेपालमा धान रोपाइँको मुख्य मौसम असार सकिदा पनि ६८ प्रतिशत मात्रै रोपाइँ भएको छ । यसले चालु आर्थिक बर्षमा उत्पादन घट्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो। नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७/७८ मा भएको थियो। यो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको तथ्याङ्क छ।

गत वर्ष असार २९ गतेमसमा ६५ प्रतिशत रोपाईं भएको थियो। यस बर्ष साउन ५ गतेसम्म मुलुकभर करिब ६८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष साउन ५ गतेसम्म करिब ८८ प्रतिशत रोपाइँ भएकोमा यस बर्ष खेतीयोग्य जमिनमध्येमा ६८ प्रतिशत मात्रै रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मुलुकभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । सो क्षेत्रफलमध्ये साउन ५ गतेसम्म असार २९ गतेसम्म ६८ प्रतिशत अर्थात् ९ लाख २७ हजार २ सय ३३ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

गत बर्ष यही अवधिको तुलनामा रोपाइँ करिब २० प्रतिशत विन्दुले कमी हो । पोहोर २०७९ साउन छ गतेसम्म ८८ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ ।

“मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको हुदा गत बर्ष भन्दा यस बर्ष करिब २० प्रतिशत विन्दुले रोपाइ कमी भएको छ । मनसुन सुरु हुने क्रमसँगै रोपाइँ हुने क्षेत्रफल बढ्दो क्रममा छ,” प्रवक्ता सञ्जेलले भने ।

सिजन सकिनै लाग्दा मनसुन सक्रिय नहुनु, रासायनिक मलको अभाव र लम्पी स्किन रोपको प्रभावका कारण यो वर्ष रोपाईंले गति लिन नसकेको मन्त्रालयको भनाइ छ। रोपाइँको मुख्य मौसम सकिन करीब एक साता जति मात्रै बाँकी छ। रोपाइँ ढिला हुँदा धान उत्पादन घट्ने जोखिम हुन्छ ।

-‍ सिता श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर