– कुमुदप्रसाद शर्मा

“मरेको भोलिपल्ट दुई´ दिन भन्छन्, समय बित्नलाई कत्ति नै बेर लाग्दो रहेछ र ! हेर्नुस् त ! कति छिटो उमाकान्त बाजेको बुढिया बितेको पनि तेह्र दिन भैसकेछ । ढुक्कुर ढुक्कुर्नीको जोडी जस्ता थिए, बिचरा बुढा मान्छे, एक्लो जस्तो भए अब ।” अफिसबाट आएर चिया पिउँदै थिएँ म, उनले बुढाप्रति सहानुभूति राख्दै भनिन् । उनको कुरा मलाई त्यति चित्त बुझिरहेको थिएन, फरक मत राख्दै भनें, “त्यस्तो कहाँ हुन्छ र ! उनका छोरा, बुहारी, नाति नातिना छँदैछन् नि । एउटी छोरी त हुन्, विदेशमा । गर्लिन् नि, उनले बेला बेलामा फोन । बुढिया नभएपछि त्यस्तो `फिल´ नहोस् भनेर दाजुभाइ खलक र आफन्तले पनि ख्याल राख्लान् । `कठैबरि´ र `बिचरा´ भनेर तिमीहरू उनलाई झन् कमजोर बनाइदिन्छौ क्या ! जसरी पनि बुढाले अब नयाँ परिस्थितिसँग सम्झौता गर्नैपर्छ, आफूलाई `एड्जष्ट´ नगरेर भयो र !” मेरो शब्द भुईंमा झर्न नपाउँदै उनले भनिन्, “जे भने नि `केटाकेटीको आमा नमरून्, बुढाको श्रीमती नमरून्´ भन्छन्, त्यसै त भनेको होइन होला नि !”

पहिले जस्तो कहाँ छ र अहिले, लाटी ! टेलिभिजन र इन्टरनेटको जमाना छ, अझ, हात हातमा मोबाइल पनि छ । घरमै बसेर विभिन्न मन बहलाउने कार्यक्रमहरू हेर्न पाइन्छ, टेलिभिजनमा आउने आस्था, संस्कार जस्ता च्यानलहरू छन्, उता यु ट्युबमा पनि धार्मिक कुराहरू, भजन, मनोरञ्जनका जति पनि कार्यक्रम हेर्न सकिन्छ । मन भुलाउन र बहलाउने थुप्रै कुरा छन् । अझ सामाजिक, धार्मिक कार्यक्रममा सरिक भए पनि भयो, उहाँ जस्ता थुप्रै मानिस त्यतैतिर लागेका पनि छन् । कोही कोही त त्यो आत्मज्ञान प्रचार संघले प्रवचनको कार्यक्रम नियमित रूपमा चलाएको छ रे, त्यता पनि जाँदा रहेछन्, कोही ॐ शान्ति तिर, कोही भजन कीर्तनमा पनि लाग्याछन् क्यारे । यिनले एकदमै सजिलो पो बनाइदिएको छ त, समय बिताउन एकल पुरूषहरूलाई पनि ।

तपाईंको कुरा पनि गलतै हो त भन्दिन म, तर पनि हेर्नुस् न ! हाम्रो विहे भएको कति भयो ? ……जाबो चार-पाँच वर्ष त भयो नि हैन ? तपाईं कत्ति परनिर्भर भइसक्नुभएको छ, सोच्नु भएको छ कहिल्यै ? त्यहीँ कोठामा भएको गञ्जी, मोजा अनि कट्टु त फेलापार्न सक्नुहुन्न, मलाई नै गुहार्नु हुन्छ । हो कि होइन, भन्नुस् त ! उहाँहरूको त विवाह भएकै पनि पचास वर्ष जति भयो रे । विहे गरेर घर आउँदा बुढियाले खेल्ने पुतली र भाँडाकुटी पनि सँगै ल्याएकी रे ।  माइती टाढा रहेछ, त्यति लामो अवधिमा जम्माजम्मी एकवर्ष जति पनि माइती बसिनन् रे, घरमै रत्तिएर बसेकी रे । मान्छेले आफूलाई नपर्दासम्म हो के, तपाईंले जस्तो सोच्ने ! त्यो टेलिभिजन, इण्टरनेट भन्या पनि तेस्तै हो, त्यो खोल्न, चलाउन, भन्या जस्तो कार्यक्रम निकाल्न आफू पनि त तेस्मा निपुण हुनु पर्‍यो नि । हामीले नै पनि टिभी चलाउन, मोबाइल चलाउन पर्दा कहिलेकाहीँ अरूलाई गुहार्नु पर्ने हुन्छ ! त्यो त अझ निर्जीव हो, अनि तेस्ले अरूको मनको कुरा कहाँ बुझ्छ र, ढङ्ग त आफ्नै चाहियो नि, हैन र ! फेरि ल भैहाल्यो, चलाउनै पनि जान्यो रे लौ ! शान्त मन्, सुखी, हाँसिखुसि हुँदा चाहिँ हो त्यो । त्यतिखेर त्यसमा रमाउन सकिएला पनि । तर, विछोड, वेदना, शून्यता, असन्तोष, उदासी, र खिन्नताले भरिएको मनलाई के ती मध्ये कुनैले एकाग्र हुन देला र ? खै ! मलाई त देला जस्तो लाग्दैन ।

नभनीकनै बुझिदिएर श्रीमान्को आवश्यकता पूरा गरिदिने क्षमता या खूबी हुन्छ, केवल श्रीमतीमा । खै ! तपाईंले पनि मलाई अहिलेसम्म राम्ररी जान्न र बुझ्न सक्नुभएको जस्तो लागेन । म र अरूमा कुनै फरक नै देख्न सक्नुभएन भने त म के भनौं खै ! माया, प्रेम, स्नेह, भक्ति र आदर्शले समर्पित भएर श्रद्धा पूर्वक गरिने सेवा या ख्याल र बाध्यताले पूरा गरिने जिम्मेवारीमा धेरै फरक हुन्छ, यो कुरा तपाईं मान्नुस् या नमान्नुस् ।

आफ्नो स्वभाव, अहङ्कार या अझ भनौं स्वाभिमान्ले गर्दा हो कि, के हो उनीहरु आफ्नो पीडा अरुलाई `शेयर´ गर्दैनन् । गरिदिए त बरु अलिकति हलुका महसुस हुन्थ्यो होला नि, खै ! गर्दैनन् । हुनसक्छ, यी फरक स्वभाव नै महिला र पुरूषको आ-आफ्नै चिनारी । यीनका ठाउँमा महिला भए अरूसँग आफ्ना मनका कुरा, डाहा, पीडा, छट्पटी अरूसँग साटासाट गरेर पनि मन हलुका पार्थे होलान् । अझ एकै परिवारमा पनि महिलाहरू पुरूषहरुको तुलनामा बढी घुलमिल भएर बस्न सक्छन् । पुरुषहरू बरू बिगतमा हराउँछन्, भित्र भित्रै मक्मक्किन्छन् । यस्ले उनीहरुलाई झन्झन् पीडा माथि पीडा थपिरहेको हुन्छ, तर उनीहरु आफ्नो मनको कुरा खोल्दै खोल्दैनन् । शायद प्रकृतिले नै उनीहरुलाई यस्तो बनाएको हुनसक्छ ।

तपाईंले त उनका परिवार छन् भनेर सजिलैसँग भन्नु भयो । तर उनका छोराछोरी, बुहारी, नातिनातिना सधैं बुढाकै छेउछाउमा बसिरहन भ्याउँदा पनि भ्याउँदैनन् । उनको पनि आफ्नो जिम्मेवारी छ, भविष्यको चिन्ता छ, अनि उनले मात्र के गरुन् त ! हो, कहिलेकाहीँ केहिछिन् साथैमा बस्लान् पनि, तर के यो सधैंभरि सम्भव छ त? छैन नि । हो, तपाईंको बुवा, आमाभन्दा चाँडै बित्नु भयो त्यसैले तपाईंलाई यसको अनुभव छैन ।

मैले त मेरो असी वर्षको हजुर बुवा अनि लगभग त्यही उमेरको बुवा एक्लो हुँदाको अवस्था एकदमै नजिकबाट नियालेको छु । त्यसैले भो ! छोड्दिनुस् यस्ता कुरा, म तर्कमा भन्दा यथार्थमा विश्वास गर्छु, किनभने मलाई त प्रत्यक्षै छ नि ! आफ्नै माइतीको ।

आमा बित्नु हुँदा म भरखरै प्रवेशिका पास भएर आइए पढ्दै थिएँ । बुवा जागिरबाट अवकाश हुनु भएको पनि दश वर्षजति भइसकेको थियो । विस्तारै बुवालाई विभिन्न रोगले गाँज्न लाग्यो । तेतिन्लजेलसम्म त उहाँ तपाईंले भनेजस्तै हिँडडुल गर्ने, सामाजिक काममा सरिक हुने गर्नु हुन्थ्यो, उहाँलाई फुर्सदिलो कहिल्यै देखिएन । सुगर र प्रेशरको समस्या त पहिलेदेखि छँदै थियो, थप भएको नयाँ रोगको कारण बिस्तारै हिँडडुल कम हुँदै गयो । यता मेरो विहेको कुरा पनि चलिरहेको थियो, उता दाइको सपरिवार अष्ट्रेलिया जाने प्रक्रिया पनि जोडतोडले चलिरहेको थियो । भन्न त घरमा खुलस्त भन्नु भएको थिएन, तर प्रक्रिया भने लगभग अन्तिम चरणमा पुगेको जस्तो बुझिन्थ्यो । त्यसपछि मैले विवाह गर्ने विचार छोडिदिएँ, केवल बुवाको हेरविचारको लागि । घरको यो वातावरणले बुवाको रोगलाई झन् मलजल गर्यो । दाजु सपरिवार विदेशिनु भएपछि त उहाँ कहिले टोलाइरहने, कहिले बरबर आँसु खसालिरहने गर्न थाल्नु भयो, बोलीचाली ख्वात्तै घट्यो । हुन त बेलाबेलामा दाजु भाउजूले टेलिफोन गरिरहनु हुन्थ्यो, सञ्चो सुबिस्ता खर्चबर्च बारे सोधिरहनु हुन्थ्यो । बुवाको हकमा यस्ले त झन् खाटा परेको घाउ कोट्याएर नुन चुक दलेसरी हुन पुग्यो । उहाँ थला पर्नुभएको थाहा पाएपछि हालचाल बुझ्न भनी बरू कहिले काहीँ आफन्त र छरछिमेकीहरू घरमा आउँथे, तर फर्कदा ती मध्ये कसै कसैले त ढोकासम्म पनि पुग्न पाउँदा नपाउँदै “यस्तो बिजोगले बाँच्नुभन्दा त बरू छिटै गइदिए हुने” भनेर आपसमा कुरा गर्दै जान्थे । त्यो बेला एउटी छोरी जो आफ्नो सबै स्वार्थलाई लत्याई आफ्नो पिताजीको सेवामा लागेकि छे, उसलाई कस्तो लाग्दो हो, अनुमान गर्न सक्नुहुन्छ ?

उहाँको कोठामा टेलिभिजन, रेडियो आदि नभएको पनि कहाँ हो र ! साथमा भनेजस्तो मोबाइल नै पनि थियोे । उहाँले त्यसमा कुनै पनि दिलचश्पी दिनु भए पो ! यो भजन कीर्तन, धर्मकर्म भन्ने चिज पनि उमेर छँदा मात्र रहेछ । अझ तपाईंले एउटा कुरा भन्न छुटाउनु भयो, “योगा” यसले त तन र मनलाई समेत स्वस्थ राख्छ भन्छन् नि ! तर सबै कुरामा मनै मरेर गइसकेपछि त खै………!

एउटा कुरामा चाहिँ उहाँको दिल दिमाग हर हमेसा अडिग भएर बसेको रहेछ, त्यो हो मेरो विवाह । त्यसैले मलाई विवाह गर्न कर गरिरहनु हुन्थ्यो, त्यतिखेर भने म विवाह गर्ने कि नगर्ने भन्ने ठूलो धर्मसङ्कटमा परें । विहे नगर्ने विचारमा अडिग रहुँ भने यो अवस्थामा पुगेको बुवाको मन कसरी दुखाउँ ? “गर्छु” भनुँ भने बुवाको भविष्यको तस्वीर सचित्र आफ्नो सामुन्ने आउँथ्यो । विस्तारै बुवाको विमारी, आमासँगको विछोड र दाइको विदेश पलायनको चोट पीडाले उहाँलाई ओच्छ्यानै पार्यो, उहाँलाई एकछिन पनि छोड्न हुने अवस्था भएन, त्यसपछि मैले पढाइ चटक्कै छोडिदिएँ । लगभग पक्का पक्की जस्तै भएको जागीरको कुरा पनि सेलाएर गयो, अनि विवाहको कुरा पनि तत्कालको लागि लगभग हराएर गयो ।

सबै तपाईंले भनेको जस्तै कहाँ हुने रहेछ र ! न उहाँले आफ्नो कठिनाई मलाई शेयर गरेर, उहाँको आवश्यकता वताइदिएर त्यसको हल खोज्ने अवसर मलाई दिनु भयो, न त आफ्नो मनलाई नै हलुका पार्न सक्नु भयो । कहिलेकाहीँ उहाँलाई भेट्न आउने मान्छेसँग यसको विहे गरिदिन पाएँ भने चैनसँग मर्ने थिएँ, भन्नुहुन्थ्यो रे ।

बुवाको अन्तिम घडि आयो भन्ने भएपछि उहाँलाई आर्यघाट पुर्‍याउने सल्लाह भयो । घरबाट उहाँलाई सबै भएर आर्यघाट लिएर गएपछि उहाँको सास गएको खबर पर्खेर बस्ने घरमा म मात्र एक्लो भएँ । बुवाको हालखबर सोध्नको लागि बज्ने टेलिफोन र मोबाइलको घण्टीले पनि बेला बेलामा मलाई खङ्ग्रङ्ङ पारिदिन्थ्यो । आउन त छरछिमेकीहरु आएका थिए, केही बेर बसे पनि, तर उनीहरु केहीबेर मेरो रमिता हेरेर जान्थे । जब आर्यघाटबाट बुवा स्वर्गबास हुनु भएको खवर आयो, त्यतिखेर मेरो पीडा र वेदनामा सहानुभूति दिनेसम्म पनि कोही थिएनन् ।

अहिले मलाई बुवा बित्नुभएको घटनाले भन्दा उहाँ जिउँदो छँदा तड्पिएको, खुइय्यको सुस्केरा हालेको, टोलाएर बसेको, आँखाबाट बरबर आँसु निकालेको अनि जीवनको अन्तिम घडीमा सासले आमाको नाम लिएको घटनाले बेला बेलामा पीडा दिन्छ । एक्लोपन कतिसम्म पीडादायी हुने रहेछ भन्ने यसरी अनुभव गरेँ मैले । बुवाको हर दु:ख र पीडामा हरदम म सँगसँगै छु नि ! पढाइ छाडें, जागिरको लोभ गरिँन, उहाँकै रेखदेखको लागि भनेर उहाँ छउञ्जेल विहे पनि गरिँन, मैले त्यति गर्दा गर्दै पनि के बुवालाई तेस्ले कुनै राहत मिल्यो त ? खै ! मलाई त मिल्यो जस्तो लाग्दैन । बरु आमा छँदाखेरी कहिलेकाहीँ बुवा आमाको झगडा पर्थ्यो, कति दिन त बोलचालै पनि बन्द हुन्थ्यो, केही दिन पछि फेरी मिल्नु हुन्थ्यो । अहिले आएर यसो सम्झँदा त त्यस्तो एक्लोपनभन्दा त बरू त्यो झगडा नै पो ठीक थियो कि त जस्तो लाग्छ !

***

प्रतिक्रिया

सम्बन्धित खवर