
-कमला भण्डारी ढकाल
१)
विवेकमा घात हुने सोचाइ बार लगाइ राख्नुस्
अस्थिर मन मथिङ्गलमा सार लगाइ राख्नुस्
के थाहा समयले बुद्व बनाउला भृकुटी बनाउला
विचारको तरबारमा खरो धार लागाइ राख्नुस् ।
२)
मान्छे मान्छेलाई फसाउन खप्पिस छन्
कोही तिरिस गोही त कोही शिरीष छन्
पर्दा पछि पद पावरको कारोबार गर्नेहरु
आफै वादी प्रतिवादी आफै न्यायाधीश छन् ।
३)
बाँधिनकै लागि बाँधिन्छन् केही बन्धन पनि
केही लुट्छन्,केही लुटाई जान्छन् सज्जन पनि
निर्बाध मन निरर्थ र निर्लज्ज सोच्ने समाजमा
अनगिन्ती राज दफन गर्ने चिहान हो मन पनि।
४)
खरानी सोचेर भुङ्ग्रोमा पाइताला राख्नु अघि
सहनशीलताको गहिराइ अभिमानले नाप्नु अघि
मुढा जलाउने ल्याकत राख्छन् हाँगाबिँगाले पनि
याद गर्नुहोस पत्करमा फिलिङ्गो फ्याक्नु अधि ।
५)
उही पल कतै उत्सव कतै वैराग छुट्टाछुट्टै हुँदा
प्रारब्ध अनि मेहनतको भाग छुट्टाछुट्टै हुँदा
धड्कन चल्दैछ या रोक्कियो ? बुझ्दैन मान्छे
सिन्दूरको हात, हृदयको माग छुट्टाछुट्टै हुँदा ।
प्रतिक्रिया
-
४