
✍️ कमला भण्डारी
मुक्तक – एक
अध्यारोको पुजारी सानो दियो नै सर्व लाग्छ
मनभित्र सन्तोष होस् हरेक दिन पर्व लाग्छ
तिम्रो बिरासतको महल तिमिलाई जय होस् ,
मलाई आफ्नै संघर्ष झुपडीमा गर्व लाग्छ ।।
मुक्तक – दुई
गन्तव्यमा नपुग्दै बदलिएका सफरहरूको
कसैको लागि त्यागेका कयौं अवसरहरूको
म पनि त एक अघोषित हत्यारा हुँ साहेव,
बारबार हत्या गरेकि छु आफ्नै रहरहरूको ।।
मुक्तक – तीन
चन्द्र,सुर्य झन्डा झुकाई हिमाल खोसिए पनि
पीडै-पीडाको झिरमा जनताहरू रोपिएपनि
तिमी सत्ताको खेल मैमत्त भै खेल्नु सरकार ,
आमा लुटिएपनि देशको भूगोल छोटिए पनि ।।
मुक्तक – चार
जलाएर बाती फुलको बर्षात सबैलाई मनपर्छ
समाइ हात प्रणयको बात सबैलाई मनपर्छ
सानदार चाहिदैन समर्पणमा होस् हार्दिकता,
प्रेममा अनुराग हसिन रात सबैलाई मनपर्छ
मुक्तक – पाँच
अथाह हुन्छ चिन्ता लाग्छ त्रास छुटिने बेला।
मनमा बसेको मान्छेसँग खास छुटिने बेला।
म सम्म आइ दिनु, उनका खबर ल्याईदिनु
बिन्ती नाइ नभन्दे ए ! बतास छुटिने बेला।
प्रतिक्रिया
-
४