लहान – एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ ।

आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याएको हो ।

कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो ।

करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यस ‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र’लाई आकर्षक बनाउने यहाँको हरियाली जङ्गलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन् ।

त्यसैगरी बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यानको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन् ।

कोइरालोखोला सामुदयिक वन तथा हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले एक वर्षअघिमात्र पर्यटकीय क्षेत्रका रूपमा औपचारिक घोषणा भएता पनि छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको बताए ।

उनका अनुसार आजभोलि शनिबार तथा सार्वजनिक बिदाको दिनबाहेक दैनिक दुई सयदेखि तीन सयसम्म पर्यटक आउने गरेका छन् ।

“अरु दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबारका दिन अलि बढी नै पर्यटक हात्तीदह सिमसार तथा पर्यटक क्षेत्रमा घुम्न आउने गर्छन्”, उनले भने, “विस्तारै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।”

पर्यटक आगमनलाई थप आकर्षित बनाउन वन तथा भू–संरक्षण विभाग बबरमहल, काठमाडौँबाट अनुमति लिई केही वन्यजन्तुको समेत संरक्षण गरी उद्यानभित्र राखिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

पार्कभित्र संरक्षित वन्यजन्तुमा जङ्गली कालो भालु, चरीबाघ, दुम्सी, खरायोलगायत रहेका छन्, यसको सजिलै अवलोकन गर्न सकिने छ ।

त्यसैगरी यस सिमसार क्षेत्रलाई आकर्षण थप्न उद्यानभित्र फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन निर्माण गर्नुका साथै पर्यटकका लागि पोखरीमा माछा हेर्दै बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको यस हात्तीदह सिमसार क्षेत्र अवलोकन तथा वनभोज कार्यक्रमका लागि जिल्लाका सर्वसाधारणमात्र नभएर छिमेकी जिल्ला उदयपुर, सप्तरी, धनुषालगायत देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सञ्चालक समितिका सचिव बद्री सदायले बताए । उनका अनुसार नयाँ वर्ष तथा चाडपर्वका बेला छिमेकी राष्ट्र भारतबाट समेत पर्यटककोे घुइँचो लाग्ने गरेको छ ।

हात्तीदह सिमसार पर्यटकीय क्षेत्र विकासका लागि डिभिजन वन कार्यालय सिरहा, बृहत् जलाधार व्यवस्थापन केन्द्र कोशी उदयपुर, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, लहान नगरपालिकालगायतले आर्थिक सहयोग गरेको अध्यक्ष चौधरीले बताए ।

त्यस्तै बौद्धिक नेता तथा तत्कालीन सांसद स्व प्रदीप गिरीले आफ्नो संसदीय कोषबाट पार्कका लागि खानेपानी ट्याङ्की निर्माण गर्न रु १० लाख रकम विनियोजन गरेका थिए ।

“तत्कालीन सांसद गिरीले गर्नुभएको आर्थिक सहयोगले बनेको यस खानेपानी ट्याङ्की उहाँले देख्न पाउनुभएन । बडो अफसोच लागिरहेको छ । उहाँको स्मरण यस पार्क रहँदासम्म सधैँ रहिरहने छ”, उनले भने ।

चाडबाड, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि यस ठाउँको विकासमा स्थानीय सरकारको चासो पनि बढेर गएको छ ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले हात्तीदह सिमसार पर्यटन क्षेत्रको विकासमा उच्च प्राथमिकतादिएको बताए । उनले भने, “यस पर्यटन क्षेत्रको भौतिक विकासका लागि, स्थानीय युवाहरूको रोजगारी सिर्जनाका लागि, आर्थिक विकासका लागि स्थानीय सरकारले भरपूर सहयोग गर्नेछ ।”

नगरप्रमुख चौधरीका अनुसार राजमार्गबाट हात्तीदह सिमसारसम्मको ग्राभेल बाटोको स्तरोन्नति तथा कालोपत्र गर्नका लागि नगरबाट बजेट व्यवस्था गरी निर्माण सुरुआत भएको पनि जानकारी दिए। त्यसैगरी पार्कभित्र ‘सेल्फी बृज’ निर्माणका लागि रु १० लाख रकम छ्ट्याइएको पनि बताए ।

हात्तीदह सिमसार पर्यटकीय क्षेत्रका रूपमा विस्तार भएपछि रोजगारीको सिर्जना एवं यस वरिपरि व्यापार तथा व्यवसाय पनि वृद्धि भएको छ । आफ्नो व्यापार व्यवसायबाट मनग्गे आम्दानी भइरहेको स्थानीय व्यापारी पोषण सदायले बताए ।

आगामी दिनमा अझ व्यवस्थित बनाउने योजनासहित आफू लागिपरेको समितिका अध्यक्ष चौधरीले बताए। यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचार–प्रसार गरी हात्तीदह सिमसार पर्यटन क्षेत्रको पहिचान उच्च बनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर