कवि – रेणुका जिसी

तिमीलाई भेटेपछि हो
मैले आफैलाई भेटेको
तिमीलाई चिनेपछि हो
मैले आफूलाई चिनेको

कहिलेकाहीँ तिमीबाट नजर हटाएर
जब आफूलाई नियाल्न थाल्छु,
आफूलाई भन्दा पहिले
भेट्छु तिमीलाई

तिमी मुटुमा बसेदेखि
मेरो मुटु झनै बढी गतिशील भएको हो,
तिमी आँखामा बसेपछि
प्रेमका अनेक आयाम दृश्यमय बनेका हुन्

तिमी मनेर आउँदा
मैले सुनेकी थिएँ पदचाप
र मलाई लागेको थियो
तिमी पूरै ब्रह्माण्डको यात्रापछि मसम्म आइपुगेका हौ।

तिमीलाई स्वागत गर्न
मैले युगौँअघि उनेकी थिएँ,
आकाशका ताराहरूको माला,
तिमी तिनै ताराहरूको उज्यालो बोकेर
मेरा धमनी, नशा
र कोष कोषमा स्थापित भएका हौ

अहँ,
तिमीलाई यी सबै कुराहरू थाहै छैन
र अझै पढिसकेका छैनौ
मेरो यो प्रेम कविता,
भो,कहिल्यै नपढ्नु यो प्रेम कविता,
किनभने तिमीलाई आफ्नो मायाको वजन भारी लाग्नसक्छ
र गर्न सक्छौ नाफाघाटाको हिसाब
हिसाब हुन थालेपछि
निकाल्नु पर्ने हुनसक्छ
मसम्म आइपुगेका तिम्रा पाइला र पदचापको हिसाब ।
र म सोचमग्न हुन सक्नेछु,
यो हिसाबमा कसले जित्यो ?
प्रेमको यो हिसाबमा
म  सदैव जित्न चाहन्छु
तिमीलाई पराजित नगरेर ।

***

प्रतिक्रिया

सम्बन्धित खवर