सौल – दक्षिण कोरियामा नेपाली कवि तथा कलाकार जीवन खत्रीलाई रात‍ो कार्पेटको सम्मान प्रदान गरीएको छ । गत शनिबार २६औँ जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

काव्य डकुमेन्ट्री मेशिनहरूको देशमा प्रदर्शन हुनुअघि चलचित्रका बारेमा बोल्दै निर्देशक, कलाकार

जीवन खत्री सहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलिप बान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र “मेशिनको देशमा” महोत्सवमा उत्कृष्ट भई समापन समयको बिशेष शो प्राप्त गरेको थियो र आयोजकका अनुसार सुरुवाती चलचित्र र समापनको चलचित्रलाई बिशेष मानिन्छ र यसलाई महोत्सको अनुहार समेत भनिन्छ ।

रातो कार्पेटको सम्मान खत्रीका अलवा डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक इ गिजु मुना र मोहन कार्की लगायत डकुमेन्ट्री चलचित्र निर्माण टिमलाई रातो कार्पेटले सम्मान गरिएको हो ।

जेओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरियाका तीन प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो । २६औँ जोओन्जु अन्तराष्ट्रिय फिल्म फेस्टिभल आयोजकका अनुसार फेस्टिभलका लागि विश्वभरबाट २,४९७ चलचित्रहरू पेश गरिएका थिए र ५७ देशका २२४ चलचित्रहरू (१४८ फिचर चलचित्रहरू र ७६ छोटो चलचित्रहरू) प्रदर्शन गरिएका थिए । ती मध्येबाट उत्कृष्ट दुई चलचित्रलाई सुरुवात र समापनको बिशेष शो प्रदान गर्दै रातो कार्पेटको सम्मान प्रदान गरिन्छ । अप्रिल ३० देखि मे ९ तारिखसम्म १० दिन चलेको फेस्टिभलमा सुरुवाती फिल्म राडु जुड द्वारा निर्देशित कन्टिनेन्टल २५ छनोट भएको थियो भने समापनका लागि काव्य डकुमेन्ट्री चलचित्र ‘मेशिनहरूको देशमा’ले उत्कृष्ट हुँदै समापनको शो पाएको थियो ।

२६ औं जेओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष वू बेओम-गी (जेओन्जुका नगरपालिकाका मेयर) सह-कार्यकारी समितिका अध्यक्ष मिन सेओङ-वुक, जेओङ जे-हो हुन् । अध्यक्ष वू बेओमले भने, -“यस फिल्म महोत्सवले ८५% को टिकट बिक्री दरको साथ अहिलेसम्मकै संस्करणको उच्चतम रेकर्ड हासिल गर्‍यो, र दर्शकहरूको कुल संख्या ७०,००० नाघ्यो ।”

चलचित्रमा कोरियामा काम गर्दै कविता लेखिरहेका नेपाली कविहरूले कोरियालाई कसरी हेर्छन् ? उनीहरूले भोग्ने गरेका कष्टहरू के के हुन्? आफ्ना कविताहरू मार्फत कोरियालाई कसरी प्रस्तुत गर्छन् र कोरियासँग के अपेक्षा गर्छन् भन्ने कुराहरूलाई गहिरोसँग प्रस्तुत गरिएको छ ।

९ तारिख दिउँसो, जेओन्जु डिजिटल इन्डिपेन्डेन्ट फिल्म थिएटरमा “इन द ल्याण्ड अफ मेसिन” को प्रेस स्क्रिनिङ कार्यक्रम आयोजना गरिएको थियो । उक्त प्रेस स्क्रिनिङमा फिल्मका निर्माता तथा निर्देशक किम ओक-यङ, फिल्ममा देखिएका जीवन खत्री र अनुवादक ली गिजु सहभागी थिए । मेशिनको देशमा नामक चलचित्रकी निर्माता तथा निर्देशक किम ओक यङले भनिन्, -“सन् २०२२ मा आप्रवाशी कामदारका रुपमा कोरियामा रहेका नेपाली कविहरूको कविता सङ्ग्रह ‘यो मेशिनको सहर हो’ पढेपछि म छक्क परें । आफू कवि पनि भएका कारणले हुन सक्छ मलाई नेपाली कविहरूले कोरिया र कोरियाली समाजलाई हेरिरहेको दृष्टिकोणले एकदम झक्झक्यायो । उनीहरूले आफ्नो कविता मार्फत आफूमाथि परेको पीडाको आवाज र त्यसका विरुद्ध आलोचना गरिरहेका छन् । जुन कुराले मेरो हृदयमा आघात पर्यो । अनि मैले यही विषयलाई लिएर डकुमेन्ट्री बनाउने निर्णय गरेँ । मलाई आशा छ कि दर्शकहरूले पनि मैले जस्तै आघात महसुस गर्नेछन्,” उनले फिल्म किन बनाइन् भनेर बताउँदै भनिन ।

सन् २०२० मा कोरियामा काम गर्दै कविता लेखिरहेका ३५ नेपाली कविहरूको ७० कविता सङ्ग्रहित संयुक्त कविता सङ्ग्रह ‘यो मेशिनको सहर हो’ प्रकाशित भएको थियो । लि गिजु र मोहन कार्कीले कोरियन भाषामा अनुवाद र कवि पराजित पोमुले सम्पादन गरेको यो कृतिले कोरियामा ठूलो चर्चा र प्रेम पायो । यस कृतिले कोरियाको मजदुर पार्टीको कला संस्कृति समितिले वर्षको उत्कृष्ट कृतिको सम्मान सहित ‘रेड अवार्ड’ र आन्सङ लेखक सङ्घ नामक संस्थाबाट २५ लाख कोरियन वन सहितको पुरस्कार समेत प्राप्त गरेको थियो । उक्त कृति यो मेशिनको शहरमामा कोरिया छिरेर आफूले  महशुस गरेका भावनाहरू कविहरूले व्यक्त गरेका छन् । कविता डकुमेन्ट्री चलचित्र भन्न सकिने यस चलचित्र ‘मेशिनको देशमा’ यही कृतिसँग आधारित छ ।

निर्देशक किम ओक-यङले थपिन “फिल्ममा जसरी प्रत्येक व्यक्तिको विशेषता र व्यक्तित्व प्रकट हुन्छ, मेरो लागि पनि त्यस्तै थियो । यद्यपि तिनीहरूको राष्ट्रियता र परिस्थिति फरक छ, मैले छायांकन गर्दा सिकें कि प्रवासी कामदारहरू पनि हामी जस्तै व्यक्ति हुन् र तिनीहरूले जस्तो पीडा महसुस गर्छन्, र म त्यो भावना दर्शकहरूलाई बताउन चाहन्थेँ ।”

समापनको बिशेष शो पाएको चलचित्र “मेशिनको देशमा” काव्य डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरिएको छ । डकुमेन्ट्रीमा मुख्य भूमिकामा देखिएका तीन नेपाली कविहरू जीवन खत्री, सुनिलदिप्त राई, दिलिप बान्तवाका अलवा नेपाल फर्किसकेका कविहरू, रमेश सायन, ऐश्वर्य श्रेष्ठ, सरोज सर्वहारा, सञ्जय काउचाको पनि कविता सहितको भूमिका रहेको छ । २६ औं जेओन्जु अन्तर्राष्ट्रिय फिल्म महोत्सव ९ तारिख साँझ जेओन्बुक राष्ट्रिय विश्वविद्यालयको सामसुङ सांस्कृतिक केन्द्रमा आयोजना भएको रेड कार्पेट तथा समापन समारोहमा सुनिलदिप्त राई र दिलिप बान्तवाको भने उपस्थिति रहेन ।

रेड कार्पेट पश्चात लगत्तै समापन समारोह भएको थियो । आयोजक र कोरियनहरूको खचाखच उपस्थितिमा डेड घण्टा लामो काव्य डकुमेन्ट्री ‘मेशिनको देशमा’ प्रदर्शन भयो । प्रदर्शनपश्चात चिसा आँखा पारेका दर्शकहरूले लामो सम्म तालीले उक्त चलचित्रलाई सम्मान व्यक्त गरे ।

आफ्नो जिन्दगीको अपेक्षा भन्दा ठूलो रेड कार्पेटको सम्मान पाएको भन्दै कवि जीवन खत्रीले खुसी हुँदै भने -“यो सम्मान  पुस्तककमा समावेश सबै कवि, कोरियामा रहेर कविताकर्म गरिरहनु भएका आम नेपाली कविहरूको पनि हो । यो सम्मान, नेपालकै सम्मान हो ।”

समापन समारोह सकिएपछि आयोजकद्वारा आमन्त्रित पाहुनाहरूलाई रात्रीभोज दिईएको थियो । खत्री सेतोमाटोका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर