काठमाडौँ – बजारको नियामक निकायमा बस्ने पदाधिकारी नै अनाधिकृत शेयर कारोबारमा जोडिएको विषय सार्वजनिक भएपछि प्रतिनिसभाको अर्थ समितिले चासो देखायो ।
नेपाल धितोपत्र बोर्ड नेपालको शेयर बजारको नियामक निकायको रूपमा स्थापित छ ।
बोर्डले समग्र शेयर बजारमा कानून कार्यान्वयन गराउने काम गर्छ । तर बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरी रेविकाको नाममा साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर खरिद गरेको विषय सार्वजनिक भयो ।
अर्थ मन्त्रालयले गत साउन १३ गते तीन दिनभित्र स्पष्टिकरण पेश गर्न बोर्डलाई निर्देशन दियो । सोही दिन नेपाल स्टक एक्सचेञ्जलाई पनि एउटै व्यहोराको पत्र पठाइ स्पष्टिकरण दिन निर्देशन गरेको थियो ।
सामान्यतः नियामक निकायमा रहने व्यक्तिको एकाघरका सदस्यले शेयर खरिद गर्न पाउँदैनन् । स्वार्थ जोडिन्छ भनेर धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबारका सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गरिएको छ ।
अर्थ समितिको आजको बैठकमा सांसदले कानून कार्यान्वयन गराउने निकायका व्यक्तिले अनाधिकृत रूपमा शेयर खरिद गर्ने विषय कसरी कानून सम्वत् भयो भन्ने जिज्ञासा राखेका थिए ।
सांसदको जिज्ञासा थियो, “हावा नचली पात हल्लिन्छ र ? कानूनको छिद्र खोजेर सञ्चारमाध्यमले गलत समाचार लेखे भन्न पाइन्छ र ?”
बोर्डका पदाधिकारीले धितोपत्र बजारसम्बन्धी विद्यमान कानूनी व्यवस्था र बोर्डका पदाधिकारीको आचारसंहिताले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणलाई पुष्टि गर्न नसक्ने दाबी गरेपछि समिति सभापति कृष्णप्रसाद दाहाल र सांसद रामकुमारी झाँक्री र प्रमिला राईले एकै स्वरमा सोधे, “यस्तो गम्भीर विषयमा टालटुले जवाफ दिने र समाचारमा आएका विषय गलत हुन भनेर पञ्छन मिल्छ ?”
बोर्डका अध्यक्ष ढुङ्गानाले आफू जोडिएको विषयमा नबोल्ने भन्दै आफ्नो धारणा उपकार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले राख्ने बताए ।
उपकार्यकारी निर्देशक श्रेष्ठले पटकपटक सञ्चारमाध्यमले सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण समाचार लेखको र सोही आधारमा अर्थ समितिले वास्तविकता नबुझी स्पष्टिकरण मागेको धारणा राखे ।
उनले भने, “समाचार लेखेकै आधारमा समितिले बोर्डका पदाधिकारीमाथि आक्षेप लगाउन हुँदैन । अनुसन्धानबाट पुष्टि हुन्छ भने हामी कारवाही भोग्न तयार छौँ । के के कागजात चाहिने हो भन्नुस्, हामी समितिलाई उपलब्ध गराउँछौँ ।”
उपकार्यकारी श्रेष्ठले मर्यादा विपरीत प्रस्तुत भएको भन्दै सांसदद्वय भाँक्री र राईले आपत्ति जनाए ।
सांसद राईले, “जनप्रतिनिधले प्रश्न गर्न नपाउने हो रु संसदीय समितिको मर्यादमा आँच पुग्ने गरी जवाफ दिन मिल्छ”, भन्दै प्रतिप्रश्न गरे ।
सांसदले अनेकन कोणबाट प्रश्न गरेपछि बोर्ड अध्यक्ष ढुङ्गानाले भने, “मेरा छोरी ज्वाई अमेरिका बस्न थालेको पाँच वर्षभन्दा बढी समय भयो । उनीहरूले कता लगानी गर्छन् त्यो मसँग जोडिने विषय होइन ।”
धितोपत्र बजारसम्बन्धी ऐन, कानून र आचारसंहिता यो यो विषयमा प्रष्ट पारेको र आफ्नो कुने कसूर नभएको उनको भनाइ थियो ।
धितोपत बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ को नियम २ झ मा परिवार भन्नाले कर्मचारीसँग बस्ने तथा निज आफैँले पालनपोषण गर्नुपर्ने पति, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु आमा वा सौतेनी आमा सम्झनुपर्ने उल्लेख गरेको छ ।
सो शब्दले पुरुष कर्मचारीको हकमा निजको बाबुतर्फको बाजे, बज्यै तथा महिला कर्मचारीको हकमा सासु, ससुरालाई जनाउँछ ।
सो व्यवस्थाले विवाहित छोरीलाई परिवारभित्र समावेश नगरेको हुँदा निजले गर्ने कुनै पनि निर्णयमा बाबुको हक तथा नियन्त्रण नहुने हुँदा शेयर खरिद बिक्रीमा निज विवाहित छोरीको निजी निर्णय लिने हक रहने र स्वतन्त्र रुपले कार्य गर्न सक्ने देखिन्छ ।
“म बोर्ड अध्यक्ष भइसकेपछि अहिलेसम्म ऐन कानूनले परिवारको यी सदस्यले गर्न मिल्दैन भनेको छ । त्यो मान्न म तयार छु”, अध्यक्ष ढुङ्गानाले भने, “मेरो विवाहित छोरा, छोरी ज्वाईलाई पनि राख्ने हो, सासू ससुरालाई राख्ने हो कि अथवा मेरो नाती पनातीसम्म राख्ने । कुन लेभलसम्म जाने भन्ने कुरा ऐन कानून चाहिन्छ भने बनाऔँ ।”
उनले आफ्नो छोरी भएकोे नाताले कुरो उठेको भएकाले यो विषय बढी चर्चामा आएको बताए ।
उनले कानूनअनुसार उनको घर परिवारले प्राथमिक, दोस्रो, ओटीसी बजारमा किन बेच गर्न पाउने जिकिर गरे ।
उनले भने “यो कानूनले दिएको अधिकार हो । यो उनीहरूको सम्पत्ति किनबेच गर्ने संवैधानिक अधिकार पनि हो । यो कारोबार म आफैँले गरेको होइन ।” बोर्डका पदाधिकारीका कुरा सुनेपछि अर्थ समितिले शेयर खरिद बिक्रीका सन्दर्भमा थप जानकारी लिन नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि बोलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया
-
४