✍️ उमा शर्मा
विक्रम संवत २०७७ सालमा मधुवन साहित्यिक प्रतिष्ठान, नेपालको ब्यानरमा प्रकाशित कविता संग्रह ‘जङ्गलको यात्रा’ साहित्यकार कमला न्यौपानेको पहिलो प्रकासित कृति हो।आत्माद्वारा अनुभूत गरिएका भावना र विचारको मीठो प्रस्फुरण कविता हो। कवितामा भाव सौन्दर्य, विचार सौन्दर्य, नाद सौन्दर्य आदिको महत्वपूर्ण भूमिका रहेको हुन्छ।लेखनको हिसाबले साहित्यमा धेरै लेखिने विधा पनि कविता नै हो भन्ने पनि गरिन्छ ।
प्रवासमा रहेर नेपाली साहित्यलाई माया गर्ने कवि कमला न्यौपाने आफ्नो लेखनको साथसाथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ‘क्यान्सस च्याप्टर’ को संस्थापक अध्यक्षका रुपमा रहेर पनि नेपाली भाषा र साहित्यको प्रवर्धनमा सक्रिय रहँदै आउनुभएको छ ।
पुस्तकको नामाकरण शीर्षक कविता ‘जङ्गलको यात्रा’ बाट गरिएको छ।पुस्तकमा चार उपशीर्षकहरु रहेका छन्। प्रत्येक उपशीर्षकको पहिलो पृष्ठमा त्यस उपशीर्षकलाई प्रतिनिधित्व गर्ने रङ्गीन चित्रहरु पनि राखिएका छन् जसलाई ‘उपशीर्षक आवरण’ भनेर नामाकरण गरिएको छ। कुल पृष्ठ संख्या ११२ रहेको यस पुस्तकमा जम्माजम्मी ३९ कविताहरु रहेका छन्।
कविता ‘जङ्गलको यात्रा’ कुनै पनि उपपशीर्षक अन्तर्गत पर्दैन र यसलाई सबैभन्दा पहिले राखिएको छ। चिल्लो कागज र कलाको प्रयोगले पुस्तकको कलेवर आकर्षक देखिन्छ। उपशीर्षकका नामहरु र त्यसभित्र रहेका कविताका संख्याहरू यस प्रकार छन् ।
उपशीर्षक १ – ‘यथार्थको धरातल’, १४ कविता
उपशीर्षक २ – ‘पसिनाको निलो’, ६ कविता
उपशीर्षक ३ – ‘प्रेमको फूल’, १३ कविता
उपशीर्षक ४ – ‘सिमानापारि’, ५ कविता
स्वच्छन्दतावादी भावधाराका छोटा फुटकर कविताहरु सङ्कलित यो पुस्तक ‘जंगलको यात्रा’ मा कविले आफ्नो मानवीय संवेदनालाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको पाइन्छ। बिम्ब र प्रतीकहरूको प्रयोगले कविताहरू सुन्दर बनेका छन् ।
कवितामा सौन्दर्यात्मकताको प्रयोग भएको छ।यसमा कल्पनाप्रधान कविताहरू पनि रहेका छन् जसमा प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ।यसको उदाहरण कविता ‘कमलको फूल’ (पृष्ठ १७) मा छ, जसको सानो अंश यहाँ उदृत गरेको छु।
कमलको फूल
दलदल हिलोमा
समयको अनेकन जर्जरता खप्दै
कोमल श्वेत कमलको फूल
लाग्छ , उनी तलाउकै महारानी हुन्
कवितामा वैयक्तिकताको भाव पनि भेटिन्छ। कविता ‘व्हेल मान्छे’ (पृष्ठ २२) मा कविले जमिनलाई समुद्र र मान्छेलाई ह्वेलसँग तुलना गरेको पाइन्छ जुन कुरा कविको नितान्त व्यक्तिगत सोचको उपज हो । यो कविताको सानो अंश यस प्रकार छ,
ह्वेल मान्छे
हाम्रो जमिन पनि त हो एउटा समुन्द्र
हामी पनि त हौँ, साना माछाहरु झैँ साना मान्छेहरू
र हामीलाई पनि त खान खोजिरहन्छन्
ठूला ह्वेल मान्छेहरू
पुस्तकमा मानवताबादी दृष्टिकोण रहेका कविताहरु पनि समाविष्ट छन् –‘बुढि आमा र मकै’(पृष्ठ ५५), ‘काफल बेच्ने दिदी’ (पृष्ठ ५७) ,‘विराटनगरको रिक्सावाला दाइ’ (पृष्ठ ५९)। यि कविताहरूमा समाजका विपन्न वर्गहरुप्रति सहानुभूति दर्साइएको छ। कविता ‘बुढि आमा र मकै’ को सानो अंश यस प्रकार छ,
बुढि आमा र मकै
ढुङ्गो र चिम्टा छन् सहारा
जलिरहेका कोइलामा सपना
मकैलाई वर्काईफर्काई
मकै पोल्ने निपुर्ण कला देखाई
कठै, ती मकै पोल्ने बुढीआमा
भावुकता र देश प्रेम झल्किने कविताहरु पनि पुस्तकमा भेटिन्छन् जस्तै ‘मरुभूमिमा पसिनाको नदी’ पृष्ठ (९७), ‘परदेशीको दसैँ र बाडुल्की’(पृष्ठ १०३), ‘अमिला आँसुहरू’ (पृष्ठ १०७)। मरुभूमिमा पसिनाको नदीको सानो अंश यस प्रकार रहेको छ,
मरुभूमिमा पसिनाको नदी
अलिकति आमाले खाँदेको गुन्द्रुक
एक पोको ताइचिन चिउरा
श्रीमानले दिएको एक अँगालो माया
छोराछोरीको कलिला अनुहारको याद
अनि हत्केलाभरिका भाग्यका रेखाहरू बोकेर
सुन्दर भविष्य खोज्न घर छाड्छन् मुनाहरू
कवि दुइटा सन्तानकी आमा पनि हुन्। सायद त्यसैले होला स्वाभाविक रुपमै मातृत्व भाव बोकेको कविता, ‘छोरा र म’ (पृष्ठ ७१) पनि निकै मन छुने खालको छ, जसको सानो अंश यस प्रकार रहेको छ,
छोरा र म
म चाहन्छु,
ऊ सँधै मेरो अगाडि कुदिरहोस्
कुदिरहोस् ऊ सबलाई जितेर
कुदिरहोस ऊ संसारलाई जितेर
र म परिरहूँ उसको पछाडिपछाडि
शृङ्गारिकताले भरिएका कविताहरू ‘म प्रेमको तूफान ल्याऊँ’ (पृष्ठ ८१), ‘अनुराग’ (पृष्ठ ८३) शीर्षकका कविताहरूले कविको प्रेमभाव व्यक्त गरेको छ भने पुस्तकमा विविधता पनि थपेको छ।
कवितामा भाषा र शैली दुबैको प्रभावकारी भूमिका रहेको हुन्छ। पुस्तकमा रहेका धेरै कविताहरूमा भाव सम्प्रेषण बलियो देखिन्छ भने केही कविताहरु अलि कमजोर हुन् कि भन्ने भान हुन्छ । कवितामा ठाउँ ठाउँमा देखिएका भाषिक अशुद्धताले सम्पादन पक्ष अलि बलियो हुनुपर्ने देखिन्छ भने कतै कतै शब्द चयन अलि हलुङ्गो रहेको देखिन्छ। कही कतै अभिव्यक्तिहरु सोझो ढंगले सम्प्रेषण नगरी अलि घुमाउरो ढंगले गरिएको भए कविताको मिठास अझ बढ्ने थियो भन्ने लाग्छ ।
समग्रमा भन्नु पर्दा कविको पहिलो कृति ‘जंगलको यात्रा’ प्रशंसा योग्य छ। कविताहरु क्लिष्टताबाट टाढा छन्, मिठा छन्, नरम छन्, सरल छन् र सरस छन्। सबै वर्गका पाठकको लागि यो स्वस्थ खुराकको रुपमा पस्किन लायक छ। अन्त्यमा,कवि कमला न्यौपानेलाई धेरै बधाई।
दुई शब्द कविलाई उपहारस्वरुप टक्र्याउछु –
जङ्गलको यात्रामा, तेल बल्ने लाल्टिन निभ्ने डर हुन्छ
त्यसैले आफ्नै आँखाको ज्योति बाल्नु ।
जंगलमा कम्पासको चुम्बक खिइने डर हुन्छ
त्यसैले आफ्नै अन्तर्मनले दिशा पर्गेल्नु।
घना जङ्गल छिट्टै छिचोलेर जङ्गल पारिको सुन्दर सन्सारको लागि कवि कमला न्यौपानेलाई धेरै धेरै शुभकामना ।
प्रतिक्रिया
-
४
