
✍️ स्वप्निल नीरव
रहरको पङ्ख उचालेर उड्दै कुन सपनाको दुनियाँमा पुगिस् तँ ?
रहर र सपनाको भिन्नता तैँले गतिलोसँग बताउन सकिनस् । तैँले सपनालाई बाले चढ्ने मोटरसाइकलसँग तुलना गरिस् । रहरलाई आमाले पकाउने परिकारको स्वादसँग तुलना गरिस् । तैँले दिने जिन्दगी, सपना र रहरको ब्याख्यासँग सहमत हुन सकिन । र तेरो अराजक विचारसँग त झन् कहिल्यै सहमत हुन सकिन ।
तैँले पनि थाहा पाइस् होला तँसँग म कहिल्यै सहमत हुन सकिन । तैँले बुझ, तँसँग हैन तेरो विचारसँग सहमत हुन नसकेको हुँ । हुन पनि तँसँग त्यस्तो ग्रहण गर्न लायक विचार नै थिएन ।
तँलाई उसको संगत सबैभन्दा बढी मनपथ्र्याे । उसको इच्छापूर्तिका लागि जस्तोसुकै मूल्य चुकाउथिस् । ऊसँग त्यस्तो के थियो ? तेरो लागि भनेर कुनै दिन एउटा उपहार दिएको थाहा भएन । उस्तो गहिरो संगत पनि त थिएन ऊसँग तेरो । त फेरि किन उसलाई भेटेर आएपछि तँ बकबक गरिरहन्थिस् ।
‘उसले आज दश रुँपैया माग्यो । दिएँ ।’
ऊ दश रुँपैयाँको लागि रुने मान्छे थिएन । ऊ बेकामे मान्छे पनि होइन । दश रुँपैया दिन पाउँदा तँलाई के को खुसी मिल्थ्यो ? सुनेर अचम्म पर्थेँ म ।
‘उसको बाले केटी खोजिदिनुभाछ गरे । हा हा हा ।’
कस्तो बेतुकको कुरा तेरो । उसको बाले केटी खोजिदिनुभाछ त तँलाई हाँसो उठ्नुपर्ने कारण के छ ? तँलाई उसको दैनिकीसँग के को चासो ? उसले के खायो खाएन, के फिल्म हे-यो ? अफिसमा कुन केटीले आँखा मारी, कुन केटीले फेसबुकमा के कमेन्ट गरी सँग तँलाई किन चासो ? उसको बाले केटी खोजिदियो खोजिदिएन तँलाई के को खाँचो ?
‘हामीले अफिसपछि एक एक ओटा चुइगम खायौँ ।’
ए लाटी, यो पनि कुरा हो ? तैँले ऊसँग बसेर चुइगम खानुको सट्टा चिया कफी पिएको भए पो । घण्टौं कुरा गर्दै चिया पिएको भए पो विशेष केही होला भन्ठान्नु । चुइगम त दिएपछि मुखमा हालेर दुइ दिशातिर बाँडिएर चपाए पनि भैगो हैन र ?
‘उसले आज मलाई चकलेट दियो ।’
तेरो कुरा सुनेर हाँस्नु कि रिसाउनु ? तँलाई यस्ता झिना मसिना कुरा सुनाउँदा कस्तो आनन्द आउँछ ?
तेरो अनावश्यक कुरा सुनिरहने म पनि उस्तो ।
‘तँलाई एउटा सिक्रेट बताउँछु ।’
‘तँसँग पनि सिक्रेट छ र ? दोस्रो पक्षबाट कुरा फुत्किन भ्याको छैन तेस्रो पक्षलाई सुनाउन तँलाई हतार भइहाल्छ ।’
‘कसले भन्यो तेस्रो पक्षसँग पनि कुरा फुत्काउँछु भनेर ?’
‘भयो, भयो सुना आजसम्म मसँग लुकेको त्यस्तो सिक्रेट के छ तेरो ?’
‘तँ र उससँग बाहेक कसैसँग कुरा गर्न मनपर्दैन ।’
‘तेरो यो कुरा मन परेन । तेरो यो सिक्रेट हो भने त झनै मन परेन । तँैले मसँग र उसँग मात्रै कुरा गर्न मिल्दैन । तैँले आमासँग कुरा गर्न रुचाउनुपर्छ, बासँग पनि रुचाउनुपर्छ । अरु धेरै नजिककाहरुसँग पनि कुरा गर्नुपर्छ तैँले ।’
तँ फिस्स मुस्कुराइस् त्यो बेला । तँलाई थाहा छ ? तेरो मुस्कान मनपरेन । तँ मुस्कुराएको त झनै मन परेन । तेरो सामान्यपन पनि मनपरेन । तँ सामान्य भएर उसको हरेक कुरा मसँग बाँड्न कसरी सक्छस् ।
ऊ तेरो प्रेमी थिएन, साथी पनि थिएन । सँगै काम गर्नु बाहेक उस्तो घनिष्ठता पनि थिएन तिमीहरु बीच । त तैँले ऊसँग मलाई दाँजेर कसरी भन्न सकिस्, तँ र उसँग बाहेक कसैसँग कुरा गर्न मनपर्दैन भनेर । केही महिना मात्र पुरानो चिनजान भएको मान्छेसँग कसरी मेरो तुलना हुनसक्छ ? तर तँ उसको कुरा नगरी, बस्न सक्थिस् र ?
‘ऊ आज खुब रोयो । थाहा छ ? उसको प्रेमिकाले धोका दिएकी रैछ । ऊसँगै म पनि रोएँ । कोही छोरामान्छेसँग रोएको पहिलो पटक हो । आज हामीले धेरै बेर कुरा ग-यौं । उसलाई पनि मलाई जस्तै जूनेली रातमा आपैmसँग कुरा गर्न मनपर्छ रे । आजैदेखि हामीले जून लागेको रात फोनमा बोल्दै सँगै जून हेर्ने प्रण गरेका छौं ।’
तेरो जिब्रो थुत्न मनलाग्यो । तँ मनमा कुरा राख्न किन सक्दिनस् ?
‘आज खाजा खाने समयमा चुप्पा माग्यो । कस्तो बेसरम के । म त कस्तरी काँपेँ ।’
‘थुक्क । तँ यहाँसम्म पुगिसकिस् ? दिइस् त अनि ?’
‘नदिन्छु होला त ? उसले भनेपछि नाइँ गर्नै सक्दिन । मागिहेरोस् त मात्रै जिन्दगी दिनसक्छु ।’
उफ! कति सजिलै भनिस् ।
‘अनि तेरो लोग्नेले चुप्पा उप्पा माग्दैनन् ?’
तँ फिस्स मुस्कुराइस् । फेरि पनि तँ मुस्कुराएको मलाई मनपरेन । तैँले अफिसको मान्छेलाई चुप्पा दिन सक्छेस् तर लोग्नेको बारेमा गरेको प्रश्नको जवाफ दिन किन सक्दिनस् ।
पर्सिपल्ट साँझ भनिस् –हिजो ऊ घरछेऊसम्म आएको थियो । हात समाएर जूनेली रातमा पुरै चोकगल्ली चहा-यौँ । मलाई उसको सामिप्यता साह्रै मनप-यो ।
‘तँ बहुलाइस् कि के हो ? तँ कता जाँदैछस् ?’
‘जान दे न त । म त उसले जहाँ लैजान्छ त्यतै जान्छु ।’
तेरो कुरा सुनेर हैरान भएँ । तँ तँ नै हैनस् जस्तो लाग्यो । तैँले सामान्य भएर असामान्य कुरा गरिरहेकी थिइस् । तँ उसलाई भेट्नु अघि त्यस्ती थिइनस् । तेरो लागि लोग्ने, आमाबा र म नै सर्वस्व थिएँ ।
तँ हिँडिरहेको बाटो सजिलो थिएन । र त्यो बाटो उस्तो भरपर्दाे पनि थिएन । तँ क्षणिक आनन्दको पछाडि भागेर कहाँ पुग्न आँटेको थिइस् ?
तेरा लागि पिरोलिन्थेँ । तँ उस्तै थिइस् निस्फिक्री ।
एकरात बास बस्न आइस् । दश मिनेटको दूरीमा रहेको माइतीमा बास बस्ने गरी आउन तँलाई थुप्रै महिना कुर्न प¥यो । सबै सुतेपछि भनिस् –सुनिस् ? कहिलेकाहीँ रातीमा पनि हामी सँगै हुन्छौँ । मलाई उसको सामिप्यता साह्रै मनपर्छ । उसले आऊ सँगै रात बिताऔँ भनेपछि नाइँ गर्नै सक्दिन ।
‘छिः तँ के भन्दैछस् ? उसको समीप जाँदा तँैले लोग्नेलाई महशुस गरे जस्तै गर्छस् ?’
‘कसले भन्यो तँलाई म लाोग्नेलाई महशुस गर्छु भनेर । लोग्नेको त समीप हुन्छु र पनि उसको सामिप्यताको महशुस हुँदैन ।’
‘तँ के भन्दैछस् ? तँ लोग्नेलाई महशुस गर्दैनस् ? अनि लोग्नेले नि ?’
‘हो त बिहेकै रातदेखि उसलाई कहिल्यै महशुस गरिन मैले । उसले पनि त मलाई बिश्वास दिलाउन सक्दैन मेरै हो भन्ने । न त सामिप्यताको महशुस गराउन सक्छ । त्यै भएर अचेल उसलाई समीप आउनै दिन्न म ।’
‘अनि समीप नआइ उनी निदाउन सक्छन् त ?’
‘मैले भनिदिएको छु, कि त सामिप्यताको महशुस गराउनु हैन भने छेऊ नपर्नु । तर भावनात्मक निकटताको लागि उसले कोशिस गरेन । अचेल घरमा बास हुँदैन ।’
‘तैँले जुन महशुसको कुरा गर्दैछस् त्यो क्षणिक छ ।’
‘ठीक छ, क्षणिक नै सही । मन नछोइएर छोइनु भन्दा यै ठीक छ ।’
तँसँग यस्तै सजिला जवाफ हुन्थे । तेरो हरेक जवाफ सुनेर हैरान हुन्थेँ म । हरेक पटक छोइनुमा गएर तँ किन सन्तुष्ट हुन्थिस् । लोग्ने कहाँ के गर्दैछन् तँलाई थाहा हुन्नथ्यो तर उसले के खायो खाएन तँलाई कसरी थाहा हुन्थ्यो ? लोग्नेको सन्तुष्टिको ख्याल हुँदैनथ्यो तर उसको सन्तुष्टिको लागि तँ किन बेसरम हुँदै गइरहेकी थिइस् ।
‘हप्तादिनको लागि उसँग जाँदैछु । उसलाई सम्हाल है ।’
तँ उसँग जाँदै थिइस् तेरो उसलाई सम्हाल्नु पनि मलाई नै थियो । उसलाई अर्थात तेरो लोग्नेलाई । तर अचम्म तँ कहाँ गइस् भनेर खोजखबर गरेनन् तेरो लोग्नेले । हप्तादिनपछि आइस् । तँसँग पनि उसले तँलाई एकचोटी पनि कहाँ गएको थिइस् भनेर प्रश्न गरेनन् ।
आएपछि तैँले भनिस् –यो एक हप्ता मेरो जिन्दगीको सबैभन्दा सुन्दर अध्याय हो । आजसम्म यति सुन्दर पल मेरो जिन्दगीमा आएकै थिएन । वर्षाैं सँगै बिताएको मान्छेको साथ पनि यति प्यारो लागेन । उसलाई जति संगत गर्दै जान्छु उति हुरुक्क हुँदै गइरहेछु । मलाई के भइरहेछ ? म कतातिर जाँदैैछु ? तँलाई मसँग रीस उठेको छ ? कृपया फलामको घन उठाएर एकै पटक ढल्ने गरी मेरो टाउकोमा हान् न । यो टाउको झिनिन्न गरेर तातिरहेछ ।
साँच्चै पटक पटक तेरो टाउकोमा हानेर तँलाई ब्युँझाऊँ जस्तै नलागेको होइन ।
तँ भौतिकतामा बिश्वास गर्ने मान्छे थिइनस् । ऊसँग भेटिनु अघिसम्म इमानदारिताको खुब पाठ पढाउथिस् दुनियाँलाई । तँ साह्रै साँढे बनेर निस्किइस् । लोग्नेलाई नटेरेर, नसोधेर ऊसँग जता मन लाग्यो घुम्न जाने गर्थिस् ।
एकदिन तैँले भनिस् –म आमा बन्न चाहन्छु ।
‘ठीक छ, राम्रो कुरा । आमा बनेपछि तेरो बानी सुध्रेला । तेरो लोग्नेस्वास्नी बीचको दूरी पनि कम हुन्छ होला ।’
मेरो कुरा सुनेर तँ फिस्स हाँसिस् । तेरो हाँसोमा हाँसो कम उपहास ज्यादा थियो ।
मैले भनेँ –किन हाँसिस् ?
त्यसै भन्ने भावमा मुन्टो हल्लाएर तँ बिदा भइस् । तँ गएतिर हेरिरहेँ । तेरो हिँडाइको चाल, शरीरको लचकता नै बेग्लै थियो ।
दिनानुदिनु झन्झन् बदलिदै गइरहेको थिइस् । तँलाई देखेर सबै हैरान थिए । तेरो परिवर्तित रुप देखेर तँ आपैm हैरान थिइनस् ? तर म हैरान भन्दा ज्यादा रीसले रन्थनिन्थेँ । तँलाई देखेपछि कन्पारो त्यसै तातिन्थ्यो ।
भाइटीकाको दिन, तँ नआउने खबर आयो । आमाबा, भाइहरु साह्रै निरास भए । टीका र माला लिएर आउँछेस् भनेर तँलाई पर्खिबसेका भाइहरु निधार खाली राख्नु भन्दा काकाको छोरीसँग भएपनि लगाउने भनेर गए । बा फुपुसँग टीका लगाउन जानुभयो । आमा भने आँगन छेउमा गएर टुक्रुक्क बस्नुभयो ।
दस मिनेट पर तेरो घर छ । तँैले फोन गरेर टीका लिएर आउन सक्दिन भन्ने कारणसहित बताउन सक्थिस् । या आपैm आएर तगारोबाट कराएर मलाई बोलाउन सक्थिस् । गाउँलेसँग खबर आउँदा आमाको मन कति रोयो होला । तेरो ब्यवहारले उसै त रोएको आमाको मन पर्वको दिन नआउँदा कति रोयो होला । टीका लिएर तँ नआउँदा यो भाइको मन कति रोयो तँलाई के थाहा । तँ बिनाको पर्व के पर्व ? तँलाई थाहा छ, तँ आउने खुसीयालीमा घरमा थरिथरी परिकार पाक्छ । तँ आउने दिन भनेपछि आमाको चुरीफुरीले आकाश छुन खोज्छ । तँलाई मनपर्ने परिकारले भान्छा भरिएको हुन्छ । तेरो कोठा पनि बेहुली जस्तै सिंगारिन्छ ।
राती दस बजेतिर तैँले फोन गरिस् । तैँले भेट्न बोलाइस् मलाई ।
तँलाई भेट्न तेरो घर नजिकै पुगेँ । लिचीको फेदमा बसेर तँ रोइरहेको थिइस् । भाइटीकाको रात पनि तेरो घरमा बत्ती बलेको थिएन । मलाई भेट्ने बित्तिकै तँ अंगालेर झन् रुन थालिस् । यसरी रोएको तँलाई पहिलो पटक देख्दै थिएँ । दस कक्षामा पढ्दा सँगै पढ्ने केटालाई लवलेटर लेखेको थाहा पाएर हातखुट्टाबाट रगत बगुन्जेल आमाले पिट्दा पनि तँ रोएको थिइनस् । तँलाई मन नपर्ने मान्छेसँग तेरो इच्छाबिरुद्ध बिहे गरेर दिंदा पनि एक थोपा आँसु चुहाएको थिइनस् । तर भाइटीकाको दिन तँ पहिलो पटक आँसु देखाएर रुँदै थिइस् ।
‘आमाबालाई सरी भनिदे है ।’
उफ! तेरो भारी आवाज, गह्रुङ्गो भयो मेरो मन पनि ।
‘सरी ।’
फेरि भनिस् ।
म मौन ।
‘देख्दैछस् ? वरपर छिमेकमा कति उज्यालो छ । हाम्रो घरमा कति अँध्यारो छ ।’
‘तँलाई उज्यालो पार्न कसले छेकेको छ ?’
‘म अँध्यारोमा बाँच्ने मान्छे हो जस्तो लाग्छ तँलाई ? उज्यालो पार्न मैले बत्ती बालिन होला ? तर कतिञ्जेल ? यो घरको मान्छेलाई अँध्यारोमा बस्न बानी लागिसकेको छ ।’
तेरो कुराको भाव बुझ्न सकिन । भनेँ –उज्यालो अँध्यारो छोड् । तैँले किन बोलाको मलाई ?
‘भाइहरुले टीका लगाए ? अनि तैँले पनि लगाइस् ?’
‘यही सोध्न बोलाको तैँले ? मैले टीका लगाको छैन ।’
सुस्तरी भनिस् –यस्तो बेलामा दाजूभाइलाई टीका लगाउन हुन्न । बुझिस् ?
‘बुझेँ । महिनावारीको बेला दाजूभाइलाई टीका लगाइदिनु हुन्न, छुनु पनि हुन्न भनेर सानैमा आमाले तँलाई सिकाउनुभएको थियो ।’
‘छिः ।’ –प्याट्ट पिट्दै तैँले भनिस् –‘मैले नछुने भाको कुरा गरेको हैन । तँ मामा बन्दैछस् । यस्तो बेलामा पनि टीका लगाइदिन हुन्न गरे नि ।’
खुसीले एक हात माथि उफ्रिएँ म । र दगुर्दै घर आइपुगेँ । तँ मलाई रोक्ने कोशिस गर्दै थिइस् । तर यो खबर आमासम्म पु¥याउन पछाडि हेर्दै नहेरी कुँदेँ म । आमा निभेको मैनबत्ती हेर्दै बसिरहनु भएको थियो । बा फुपुको घरबाट फर्किनुभएकै थिएन । आमालाई तँ आमा बन्ने खबर सुनाउन नभ्याउदै तैँले फेरि फोन गरेर भनिस् –तँ कुरा पनि नसुनी किन भागेको ? तल बाटोमा आइजा ।
बाटोमा निस्किएँ । तँ मलाई नै पर्खिइरहेको थिइस् । तेरो हात समाएर भनेँ –हिँड जाम घर । आज यतै बस्लास् ।
तैँले भनिस् –म सधैँको लागि बिदा हुन आएको हुँ ।
झसङ्ग भएँ म ।
तैँले भनिस् –म आमा बन्दैछु । ऊ भन्दा पूर्ण बा मेरो बच्चाको लागि अरु कोही हुनै सक्दैन ।
निसास्सिएँ म । तँैले यो कस्तो नमिठो खबर सुनाइस् हँ ।
‘तँलाई थाहा छ, म लहडी मान्छे । कल्पना र सपनामा मलाई साह्रै बिश्वास लाग्छ । पुरुष र प्रेम बुझ्न थालेदेखि नै आदर्श पुरुष खोजिरहन्थ्यो मनले । लोग्ने साथमा हुन्थ्यो तैपनि मन लोग्नेसँग हुँदैनथ्यो । लोग्ने स्विकार भएन ठीक छ तर लोग्ने त हो नि । बच्चाको बा त बन्न सक्छ भनेर बारम्बार मष्तिस्कले मनलाई सम्झाउथ्यो । तर अँह, मेरो बच्चाको बाको रुपमा पनि मनले स्विकार्न बारम्बार इन्कार गरिहन्थ्यो ।’
‘तेरो त दिमाग नै छैन । दिमाग भाको भा यो दिन आउने नै थिएन ।’
तँ सुस्तरी हाँस्दै बोलिस् –आमा हुँ । गर्भमा आउनु अघि नै आमा हुनुको अनूभव गरेँ । मेरो बच्चाको लागि कस्तो बा चाहिन्छ भन्ने कुरा तँलाई भन्दा बढी मलाई थाहा होला नि ।
‘तेरो बच्चाको बा बन्न लायक थिएन भनेर यसरी भेनालाई अलपत्र छोड्न कसरी सक्छस् ?’ ।
‘यो नभन कि, उसलाई म रुवाएर जाँदैछु । भन्दैछु ऊ मलाई लोग्ने या प्रेमी हुनुको महशुस गराउनै सक्दैन । म महशुस गर्दिन यसको अर्थ ऊ पनि मलाई महशुस गर्दैन । यस्तोमा सँगै रहनुको के अर्थ ? केटाकेटीले पनि आफ्नो रुची विचार मिल्ने साथी रोज्न जानेको हुन्छ । म त म हुँ ।’
‘तेरो कथित बच्चाको बालाई महशुस गर्छस् त ? गर्छस् ठीक छ, तर कतिन्जेल गरिरहन्छस् ?’
‘अनन्त । ऊ कल्पना र सपना भन्दा ज्यादा रहर भएर सधैँका लागि ममा कुँदिएको छ ।’
‘तेरो सपना र रहरको फरक जान्दिन तर यत्ति जान्दछु तेरो रहरले साथ छोडेको दिन पछुताउने छस् ।’
‘सपना बाले चढ्ने मोटरसाइकल हो र रहर आमाले पकाएर खुवाउने खानेकुराको स्वाद । सपना अलग्गियोस् तर रहर अलग्गिने छैन । यदि अलग्गिएछ भने पनि पछ्याइरहन्छु अनन्त ।’
गलत गलत गलत । सपना र रहरको तेरो ब्याख्या नै गलत ।
छुट्टिने बेला कसिलो गरी अंगालिस् । तेरो छातीको न्यानो भन्दा ज्यादा धड्कन महशुस गरेँ मैले । घुँक्क घुँक्क रुँदै पनि थिइस् । छातीबाट छुटाएर पर हुत्याइदिएँ । तँ उठेर मुसार्दै अँध्यारोमा फर्किफर्की हेर्दै सधँैका लागि बिदा भइस् । तैँले बालेको मोबाइलको उज्यालो नहराउञ्जेल मैले पनि हेरिरहेँ ।
हिजै तँ गइस् । तँसँगै तेरो ‘ऊ’ गयो गएन कुन्नि ? तर बिहानै तेरो लोग्ने आए र आमाबासँग झगडा गरेर गए । तर जानु अघि तेरो लोग्नेले भने –हजूरहरुले छोरी मार्न सक्नुहुन्न होला तर म आफ्नी श्रीमती मार्न सक्छु ।
बाले पनि भन्नुभयो –ठीक छ, हजूरले भेटे हजूरले मार्नु मैले भेटे म मारुँला ।
सुनिस् ? तेरो मूल्य यति नै हो ।
तँलाई बाले भेटे बाले मार्नुहुन्छ, लोग्नेले भेटे लोग्नेले । तर दिदी म तँलाई कसरी मारुँ ? अनि फेरि किन नमारुँ ?
तँले भन्थिस् –तँ र ममा कति धेरै समानता छ । तँ र म उस्तै देखिन्छम । मलाई तेरो सबैभन्दा बढी माया लाग्छ । तँ छायाँ होस् मेरो । जहाँ तँ हुन्छस् त्यहाँ म हुन्छु ।
तर भागेर आफ्नै छायाँसँग कहाँ पुगिस् तँ ? अँध्यारोमा साथ हुन सकिन तर छायाँ त छायाँ हो नि दिदी । कसरी अलग्गिइस् आफ्नै छायाँदेखि ?
प्रतिक्रिया
-
४