✍️ रिदम महेन्द्र

 

गजल – एक

यो रातले दिन्छ चुनौती जुन तरीकाले।
भारी छ उज्यालोमाथि जुन तरीकाले।।

त्यसरी हाँसेको थें म तिमीलाई देख्दा।
फूल देखेर हाँस्यौ तिमी जुन तरीकाले।।

अँगालोमा लिन पर्ने अँध्यारोले मलाई।
बिताएँ रातको अवधि जुन तरीकाले।।

लाग्दैन प्यासी दोबारा फर्केर आउँला।
प्यास मेटाउँछ यो नदी जुन तरीकाले।।

म रहने छैन भोलि तिम्रो दुनियाँ भित्र।
बदलिँदै छ तिम्रो बानी जुन तरीकाले।।

कसरी नपछुताउला शीशाको दुनियाँ।
ढुङ्गा बनाउँदै छ मलाई जुन तरीकाले।।

डाह लाग्छ देखेरै फूलका ओठहरूमा।
बसी रहेका छन् पुतली जुन तरीकाले।।

‘रिदम’ कमाल हुन् हामी जिएका पल।
बितायौँ सम्बन्धै नराखी जुन तरीकाले।।

गजल – दुई

तिम्ले यो मनको बगैंचामा राखेको पत्थर।
यार भन न कुन बहानामा राखेको पत्थर।।

यी आँखासँग मेरो एक जिज्ञासा मात्र हो।
सपना देख्छ र आँखामा राखेको पत्थर।।

कसले चाहन्छ मेरो पाउमा ठेस लागोस्।
कसले हो बीच बाटामा राखेको पत्थर।।

तिमीले बोझ भएको गुनासो गर्यौ होला।
उदास देख्छु त टाउकामा राखेको पत्थर।।

सुरक्षा चाहान्छन् यी जंगली फूलहरूले।
पानी चाहन्छ बालुवामा राखेको पत्थर।।

के गर्न हो यो ओठमा राखेको मुस्कान।
के गर्न हो पछ्यौरामा राखेको पत्थर।।

आँखामा राखेको तस्वीर आँखामा छ।
नक्शामा छैन नक्शामा राखेको पत्थर।।

भित्तामा झुण्डिएको फूलले नदेखेको हो।
बौलाई रहेकोछ कुनामा राखेको पत्थर।।

पत्थर हत्केलामा राख्नेले के सोची रहेछ।
के सोची रहेछ हत्केलामा राखेको पत्थर।।

प्रतिक्रिया

सम्बन्धित खवर