✍️ गोपाल पुन
मुक्तक – एक
अँध्यारोमा तीरको लक्ष्य भेदन सामान्य घटना हुन्थ्यो।
बाह्र सत्ताईसु कुरा गरे ताराको पनि गणना हुन्थ्यो ।
बाहिरी आवरण हेरेर हैसियत निर्धारण केहिगरि हुँदैन,
नत्रभने सुनको पनि पित्तलसँग बराबर तुलना हुन्थ्यो।
मुक्तक – दुई
झर्ने दिन पनि आउँछ फूलको तथापि फूल सम्झेर।
धड्कन तिम्रो भो, राख्छु मुटुमा छापि फूल सम्झेर।
बगैंचा हौ तिमी, बरु गोडमेल गरी श्रिङ्गार्छु सधैंभरि
तिमीलाई चुँडाउने भूल गर्दिन कदापि फूल सम्झेर।
मुक्तक – तीन
ऊ भोकै छ कि, के खाएको छ कस्ले बुझिदिन्छ
कसरी के गरि मन बुझाएको छ कस्ले बुझिदिन्छ
टन्न पैसा कमाएको होलास् भन्छन् साथीभाइ सबै
तर परदेशीले केके गुमाएको छ, कस्ले बुझिदिन्छ
मुक्तक – चार
रोयो, करायो, थोरैदिन सम्झियो, चलिहाल्ला जिन्दगी ।
यहाँ कस्कालागि को पो रोकियो, चलिहाल्ला जिन्दगी ।
मैले छोड्दैमा सबथोक सकिन्छ उसको सोच्दै न सोच,
तिमी बिना पनि त चलेकै थियो, चलिहाल्ला जिन्दगी ।
मुक्तक – पाँच
कस्तो होला र भन्ने हुन्छ चाखिन्छ, सजक रहनुहोला ।
थाहै हुँदैन कसरी कुनबेला फसिन्छ, सजक रहनुहोला ।
जहर हो कुलतमा फस्नु, तपाईसँग जतिजति नजिकिन्छ
उतिउति जिन्दगीसँग टाढा बनाईदिन्छ, सजक रहनुहोला ।
प्रतिक्रिया
-
४