✍️ नविन नेपाल

गजल – एक

अजम्बरी जवानी न तेरो न मेरो
मरेपछि खरानी न तेरो न मेरो

तँ ठूलै जाती होलास् पानी खान दे
बगेर जाने यो पानी न तेरो न मेरो

मेरो यो बाचा भयो आँखा दान गर्छु
खरानी हुने नानी न तेरो न मेरो

पसिना र माटो हो नि सुनको साटो
ल्हासाको सुन खानी न तेरो न मेरो

आउँदा जस्तो जाँदा त्यस्तै जाने हो
मरेर केही लान’नी न तेरो न मेरो

ढोका खुल्छ तब जब सच्चा पुग्नेछ
बाटो स्वर्ग जानी न तेरो न मेरो

गजल – दुई

व्यवहार गर्छौ अद्भूत शक्ति पाएजस्तो
मलाई लाग्दैन तिमी चन्द्रबाट आएजस्तो

के कस्तो खल्लो माया पस्किएउ तिमीले
भएको छु, नखाए जस्तो, नअघाएजस्तो

धर्ति बनाएर स्वर्ग बस्ने बाठो भगवान्
मनुवा बिचरो बाँच्छ जिन्दगी सजायजस्तो

म डराउछु, आफ्नै देशको मयुर देखेर
किन नाचिरहेछ यो अरुले नचाएजस्तो

छोराले खेलौना उठाउँछ ठूलो जहाजको
लाग्छ अर्को हातमा राहदानी समाएजस्तो

प्रतिक्रिया

सम्बन्धित खवर