✍️ जीवन खत्री
प्रिय समय !
तिम्रो चुल्ठोमा सजाउन भनेरै मैले
मुटु च्यातेर निकालेको हूँ अञ्जुलीभरि रगत
र रङ्ग्याएको हूँ, गुलाबको थुङ्गा ।
हेर त, आफ्नै हृदयको बगैँचामा
कति रातो छ गुलाब ।
मन थियो,
प्रेमले फुलाएको यो रातो गुलाब
आफ्नै हातले सजाईदिउँ, तिम्रो चुल्ठोमा ।
मायाको रङ्ले लेखेको कविता
सुनाउँ तिमीलाई आदिम लोरीझैँ ।
र सुम्सुम्याउँ स्नेहले तिम्रा विगतका जम्मै कथा ।
तर,
यी हेर, कती छोटा छन् मेरा हातहरू
म छु, दुःखको गहिरो खाडलमा ।
म छु, पहिरो खसिरहेको पाखामा
स्वयम्, अँध्यारो समेत डराउने अँध्यारोमा छु
आँसु नै आँसुको अन्तिम इनारमा डुबिरहेको छु
र, तिमी छौ
मेरो मन्दिरमा आस्थाको, देउता जस्तै ।
मेरो देउता हाँसी बस्ने, मन्दिर जस्तै ।
मैले पुज्ने मन्दिरमा, गजुर जस्तै ।
तिमी उभिएकी छौ,
मेरो मनमा हिमाल भएर
तिमी मभित्र बहन्छौ, कोमल हावा भएर
तिम्रै कारण मभित्र अलिकति वसन्त बाँकी रहेछ,
थाहा पाएको छु ।
तिम्रै कारण मभित्र अलिकता मुस्कान पलाएको छ,
महशुस गरेको छु ।
प्रिय समय, तिम्रै कारण त हो,
मेरो अनुहारमा उदाउँदै गरेको यो कलिलो घाम ।
टुसाउँदै गरेको यो उत्साहको मुना ।
जीवनमा हरियो हुन थालेको यो सौन्दर्य ।
तर
हामी बीचमा खुब गहिरो छ खाडल
– पुर्छु, केही पर्ख ।
हामी बीचमा बगीरहेको यो नदीमा
– पुल हाल्छु, केही पर्ख ।
र कसैगरी बनाउँनेछु, एउटा सानो घर प्रेमको ।
तर, बिन्ती
कसैगरी नसम्झ धोकेबाज मलाई ।
स्वार्थी नामको मोसो दलेर
नथुक मेरो अनुहारमा ।
प्रिय समय !
तिमीलाई पनि थाहा छ,
म तिमीलाई आफैँलाई भन्दा धेर प्रेम गर्छु ।
प्रतिक्रिया
-
४
