✍️ सुरेन्द्र कार्की

रातको १२ बजे थेगुको कक्टेल गल्लीमा तिन जिबात्माहरु तिन पेग चियर्स भट्याउन सुरु गर्छन् । यो तामसी रङ्गिन गल्लीको स्वाद मनको जिब्रोमा गाडिएको छ । हरेकको फोक्सोलाई पबित्र बनाएर गल्लीको आकाश धुवाँरूको गुच्छामा तैरिरहेको छ । म यो गल्लीको भिजीबिलिटीलाई काठमाडौँ पर्यावरणसँग मित लगाइदिन्छु मनको अदालतले ठिक भएको फैसला सुनाउदै ठक् ठक्, ठक् ठक् हम्मर बजायो ।

कोरियन पुलिस सय/सय मिटरको दृश्यमा सजिव देखिन्छन् । भिँड मनमगन छ संयमित छ रङ्गिन छ । कक्टेल गल्लिको क्यान्भासमा सबै महाद्विपका भिन्न भिन्न मुहारहरुको कक्टेल पोतिएको छ । गल्लिको मध्यकिनारमा एकहुल साउथ एसियन फेसहरुसंग भेट भयो ( आपलोग पाकिस्तानसें हें, एउटा फेस हामीमाझ पोखियो खगेन जीको आवाज नहि नेपालसे हम भन्दै त्यो हुलको कानहरूसम्म दगुर्यो । साउथ एसियन फेसहरुले एक एक पेग चियर्स गाए । हुल विपरीत ध्रुबमा बग्यो ।

यो मधुमास रात कक्टेल गल्लीमा एक टुक्रो स्वर्ग खसेको छ । धुवाँका डल्लाहरु स्वर्गको आकाशमा मादकता भरेर हल्लि रहेका छन । हामी यानेकी विष्णु वाग्ले उर्फ ‘विवा’ खगेन्द्र पराजुली उर्फ ‘ खगेन जी‘ र म स्वर्गको सबै छेउकुना चाहारी चाहारी स्वर्ग लुटिरहेका छौँ । विश्वका सबैखाले अप्सराहरूको उपस्थितीले अमरापुरी ज्वज्वलमायन देखिएको छ । आँखाहरू यो सुखको चरम उपभोग गरिरहेछन् ।

घडीको मिनेट काँटाले अमरापुरीको छातीमा दुई फन्को नाचे पछि तिनजोडी खुट्टाहरु अन्डरग्राउन्डमा रहेको इन्द्रको मधुशाला तिर अग्रसर भए । बिवाजीले कक्टेलको तिन सट फर्माइस डेडिकेट गर्नुभयो हाम्रा गिलासहरूले पुन एक लय चियर्स बजाए ।

छेउको टेबलबाट एक मानव आकृति आस्चर्य चकित भाव मुहारमा प्रिन्ट गरेर म तिर अङ्कमाल गर्न लम्कियो । ऊ थियो एजेन्टमार्फत गत साल टुरिस्ट वर्करको रुपमा म कार्यरत कम्पनिमा तिन महिना काम गरेर हिंडेको इजिप्सियन नागरिक हमिद अर्मान ।

तँ कहाँ छस उस्ले भन्यो

मैले भनें

म त्यही छु ।

तँ त घर जान्छु भन्थिस गइनछस् किन ?
अहिले कहाँ छस ?

म थेगुमै छु । उ टेबलमा एक्लै थियो हामीसँगै ज्वाइन हुन उस्ले खगेन जी र बिवा जी संग अनुमति लियो । उसैले पुन चार पेग कक्टेलको फर्माईस बजायो ।

म हमिदसँग गफ्फििन थालें । आज यहाँ तँ एक्लै ? खोइ त अल्बिना ? ऊ त ख्यंग्जुमै छ यता आउन मानिन । तेरो कम्पनिमा काम छैन ? एजेन्टसँग सम्पर्क गरि राख्न अर्को महिनाबाट हुने कुरा छ । किन घर गइनछस त ? केही कमाएर मात्रै जाने बिचारमा छु । यसो भनि रहदा उस्को चेहराको भाव संग बोलीको भाषा मिली रहेको थिएन । किन सम्पर्कमा छैनस अझै घरमा ?

तँलाई के लाग्छ भन त – मलाई अतिमले माफ गर्लि त ? त्यो अतिम र अतिमको भोगाइसँग जोडिएको कुरा हो । उनको मनमा कुन गहिराई सम्मको चोट छ त्यो पुरिन समय लाग्न सक्छ ? तर तँ बाट प्रयास नभएसम्म सम्बन्ध यसै सक्किन पनि सक्छ । यहाँ कुनै पनि सम्बन्ध अजम्बरी छैन अजम्बरी त निरन्तरको प्रयासबाट बनाउन कोशिस गर्ने हो । तँ कोशिसबाटै बिमूख छस त कसरी भन्न सकिन्छ ?

गत साल हमिदले आफ्नो पुर्ख्यौली घर अल फायुम बताए पछी मैले पावोलो कोयल्होको द अल्केमिस्ट दिमागको कुनै कुनाबाट निकालेर जमेको धुलो टक्टक्याएँको थिएँ । अल फायुम जहाँ प्राचिन पिरामीडको पछाडी खजना लुकाएको सपना बारम्बार सान्टियागोले देखेको थियो । स्पेनबाट भेंडाहरू साथमा लिएर भ्रमणमा निस्किएको एक कलिलो ठिटो सान्टियागो भेंडाहरू सकाएर इजिप्टको बिशाल मरुभूमी छिचोल्दै गर्दासम्म जीवनका नवै रसहरुबाट परिचीत भइ सकेको हुन्छ ।

बुढी मान्छे जो सपनाहरुको सौन्दर्य चेत बुझाउछे राजा जो निर्णय गर्न सिकाउँछ लुटेराहरू सतर्कता र संघर्ष अझै बाँकी छ दर्साउछन् अङ्ग्रेजले अंहताबाट बाहिर निकालेर ज्ञानको खोजमा अग्रसर गराउँछ एउटा बुढो स्फटिक साहु सबै तिरबाट निस्तेज भइ सकेको हुन्छ उस्ले परिवर्तनलाई अङ्गालेर आत्माविश्वासको आवश्यकता अपरिहार्य छ भन्ने बुझाउछ फातिमा जो मरुभूमीमा प्रेमको महासागर बिच्छ्याइदिन्छे र धैर्यताको पाठको प्रतिमूर्ति बनिदिन्छे अल्केमिस्ट ज्ञान र अध्यात्मको सम्योजनबाट जीवनमा असम्भव केही नरहेको कुरा प्रमाणसहित सान्टियागोलाई बुझाउछन् र उस्ले सम्झिन्छ राजालाई जसले भनेका थिए जब तिमी मनै देखी केही चिजको चहाना गर्छौ तिमीलाई त्यो चिज उपलब्ध गराउन ब्रह्माण्ड नै सम्मिलित हुन्छ । पुनः यही कुरो अल्क्मिस्टले बुझाउछन् र उ आफ्नो लक्ष्यमा अरु दृढ रहन्छ ।

अल अजर युनिभर्सीटीको पहिलो सेमेस्टरमा हाम्रो भेट भयो । उनि वेलकम फंसनमा बेल्दै गर्दा म निकै प्रभावित भए । त्यो प्रभाव निकै अनौठो थियो । त्यसरी जादुमयी बोलीको आकर्षक चक्रमा म पहिले कहिल्यै परेको थिइन । कायरोमा अतिम मेनियाबाट आएकी थिइन म फायुम बाट । अल अजर युनिभर्सिटी कायरोकै पुरानो र नामी युनिभर्सिटीभित्र पर्छ ।

अतिमको कद अलि सानै हो काली काली तर क्युट । बोलीरहनु पर्ने र केही छुच्ची पनि हो तर हक्की स्वभावकी । उनी मेहनती पनि उत्तिकै थिइन । बिहानको कलेज भ्याएर दिनमा ट्युसन क्लासहरू दिन्थिन् । दिदी बहिनी सँगै एउटै क्लासमा थिए उनी बहिनीको खर्च समेत ट्युसन बाटै निकाल्थिन् । उनि माथी कसैले नराम्रो नजर राख्दै छ भने बिना हिच्किचाहट सिधैँ प्रतिकारमा उत्रिहाल्ने बानीले साह्रै सस्ता कुराहरू गर्न प्रायः कसैले हिम्मतै गर्दैन थिए ।

हामी होटल म्यानेजमेन्टका विद्यार्थी भए पनि उनको इतिहस र कला प्रति विशेष रुची थियो । विद्यार्थी राजनीतिप्रति पनि उनको उत्ति नै काब थियो । त्यसमाथि उनको कुशल वाक क्षमताले सबैलाई मोहित पार्थ्यो । उनीमा एक जुनुन थियो कहिल्यै नथाक्ने कहिल्यै नहार्ने । म पनि विद्यार्थी राजनीतिप्रति रुची राख्ने हुँदा हामी बिचमा मैले सोचेभन्दा निकै छोटो समयमा नजिक भयौ । एक बिदाको अघिल्लो दिन उनको इतिहासप्रतिको रुचीलाई मध्यनजर राख्दै मैले गिजा घुम्ने प्रस्ताव राखें उनले सहजै स्विकारिन् ।

गिजाका पिरामिडहरू सम्भवत मानव सभ्यताकै सबै भन्दा पुराना मानव निर्मित कला कृतहरू हुन् भन्दा फरक नपर्ला । म्युजियमा पुरानो सभ्यता ज्यूँका त्यूँ देख्दा उनी निकै रोमान्चित त बनेकी थिइन । चार हजार पाँच हजार बर्ष पुराना राजा रानीका मम्मीहरू देखेर निकै हैरान हुँदै भनेकी थिइन् इतिहास रच्न र बनाउन त्यति सहज छैन । बिशाल एरियामा उभिएका पिरामिडहरूको आर्केट्क्चरलाई नमन गरिन् अतिम ले । हामी दिनै भरी टाँगा उmँट र पैदल हिँडी रह्यौ घुमी रह्यौ । उनको साथमा घुमी रहदा म निकै प्रफुल्लित थिएँ ।

त्यो दिनको गिजा घुमाइ सकेपछि एउटा होटलभित्र पसेर पेटरो भोक मेटेयौ। अन्त्यमा कफि मगाएर कफी चुस्की लिदैँ गर्दा मैले प्रेम प्रस्ताव राखें । उनी अलमल्लमा परिन् र निकै बेरपछि भनिन् “के साँच्चै तिमी मलाई प्रेम नै गर्छौ त ? मलाई लाग्दैन की तिम्रो कुलिन व्यक्तित्व र सुन्दरताको सामुन्ने मेरो कुनै तुलना हुन सकोस्। तिमी निकै अविश्वासिलो कुरा गरिरहेका छौँ । म यस्तो किसिमका जोकहरूसँग परिचित छुइन । सक्छौ भने तिमी परिचित गराउने बाटोमा उन्मूख नहौ हामिद ।”

मैले सबै कुरा सुन्दरता मात्रै नभएको जिकीर गरें । तिमीमा त्यो नारी सुलभता सबै छ जो अरुमा छ । मुख्य कुरा त तिमीमा जुन हिम्मत साहस र निर्णय गर्ने क्षमता छ त्यो अरुमा छैन । म जानी नजानी जुन स्त्रीको कपोकल्पित अपेक्षा गर्थे त्यो भन्दा अझै बढी सहासी तिमीलाई भेटें । म तिमीलाई प्रेम गर्छु र नै यो प्रस्ताव गरेको हूँ । उन्ले भनिन हेर्दै जाउँ बितेको के नै छ र अहिले ?

दोस्रो सेमेस्टरको सुरुवाती चरणमै एक कार दुर्घटनामा मेरो बाँया खुट्टा फ्याक्चर भयो । म अल अजर हस्पिटलमा बाइस दिन बसें । त्यसबेला उनि निकै चिन्तित देखिइन । हप्ता दिन जति बा आमा दिदी पालो गरीगरी बस्नुभयो । उहाँहरू भएको बेला अतिमलाई नआउन सुझाएको थिएँ । केटीहरूसँग सम्पर्क बढाएको खासै मन नपराउने हुदा त्यसमा दखल अन्दाज गर्नु उति ठिक लागेन । उहाँहरु फायुम जानु भएपछि उनी ढुक्कै मेरो साथमा रहिन् । मेरो दिदीको घर पनि फायुममै हो । बा आमाका हामी दुई सन्तान मात्रै हौँ । वास्तवमा हाम्रो प्यारको सुरुवात त्यहीबाट प्रारम्भ भयो । मलाई थाहा थिएन उनी पनि मलाई मन पराउथिन् भन्ने कुरा । तर मेरो प्रस्तावले निकै चकित र रोमाञ्चित बनिछिन् उनी ।

उनको बा हुनुहुहुन्न थियो । एक्ली आमाले निकै संघर्ष गरेर चार छोराछोरी हुर्काउनु सामान्य कुरा थिएन । संघर्षको आरनमा उनी सानै देखी पोलिएकीले हुनु पर्छ निडर र साहस पन आएको । जस्तै परिस्थितीलाई पनि फेस गर्न सक्छे यो केटी भन्ने मेरो पुर्वानुमान थियो । उनी मानव अधिकार र महिला हक अधिकारका बिषयमा पनि आवाज उठाउथिन् । भन्थिन् मिश्रको इतिहास विश्वकै पुरानो मध्यको एक इतिहास हो । इसा पूर्व इजिप्टका महिलाहरू पनि पुरुष सरह नै स्वतन्त्र थिए तर अहिले समय ठिक उल्टो बगिरहेकोमा पुन स्वतन्त्रताको लागी संघर्ष अझै कडा गर्नु पर्छ भन्ने उनको मान्यतालाई म सधैँ सम्मान गर्थे ।

बिस्तारै हाम्रो प्रेमले हामीलाई डुबाउदै डुबाउँदै लग्यो । हामी दिन माया मारी मारी रेड सी तिर तैरिन थाल्यौ नायल नदिबाट बग्दै बग्दै भुमध्य सागर तिर लिन हुन पुग्थ्यौ । नायल नदी जो संसारकै लामो नदिबाट परिचित छ । अफ्रिकाका एघार वटा देसलाई यस्ले जीवनदान दिएको छ । विसाल साहारा मरुभूमीको प्यास मेटाउदै मेटाउदै निरन्तर नायलले आफ्नो दायित्व निर्वाह गरिरहेछ । मरुभूमी र नायल अफ्रिकाका जीवन हुन । आखिर जीवन पनि एक मरुभुमी हो नदि हो जो बगिरहन्छ जली रहन्छ र संघर्ष बाँकी रहेको जनाइ रहन्छ ।

अन्तिम सेमेस्टार सकिनु अगावै परिवारको खिलाफमा हामीले बिहे गर्यौँ पछी सेमेस्टर सकिएपछि मैले फायुम लिएर गएँ उनलाई । घरमा कसैले पनि एक्सेप्ट गरेनन मन निकै दुखी भयो । घर भित्रै उनी माथी दुरब्यबहार सुरु भयो चुपचाप सहि रहन् । उनी एक जागरुक महिला भएर पनि घरभित्रको हिंसालाई बाहिर ल्याइनन् । उनको यो क्षमताले मलाई झन कायल बनायो मेरो साथ उनीसँगै यो ।

म घरको एक्लो छोरो भएर पनि हुनसक्छ परिवारको चाहत केही ज्यादा भएको उहाँहरूको मान मर्यदाको बिषय त छँदै थियो । त्यसमाथि उनी गरिब परिवार र रूप पनि सामन्य भएकाले घरका कसैले उनीलाई मन पराएनन । बिस्तारै समय फिर्ला भन्दा भन्दै दुइ साल बित्यो उनीमाथि कसैको दृष्टिकोण बद्लिएन । उनी पंक्षी झैं उड्न चाहने मान्छेलाई मैले चार दिवारभित्र कैद गरिरहे । उनी घरको काममा बिहानदेखि बेलुकासम्म खटि रहन्थिन् एकैछिन फुर्सद मिल्दैन थियो ।

ठुली छोरी पेटमा आएको छ महिना भएको थियो । कामको प्रेसरले एक बिहान उनि ढलिछिन। म घरमा थिइन जिममा थिएँ । मेरो एउटा जिम हल थियो । बा को एउटा मार्ट थियो ।उनलाई कसैले हस्पिटल पुर्याएनन् । आमाले कल गर्नुभयो र तेरी बुडीको नोकर हैन म यो अपसगुनलाई कहाँ छोडेर आउछस लगि हाल । यस्लाई सुताई सुताई पाल्न सक्दिन भन्नुभयो ।

कहिल्यै नसुत्ने मान्छे के भयो भनेर म झट्ट घर आएँ । उनि अचेत भएर लडिरहेकी थिइन मैले झट्ट अस्पताल पुर्याएँ । प्रेसर निकै घटेछ उनको । ज्यादा काम गर्न नहुने, रेस्टको धेरै जरुरत र हाँसी खुशी राख्नु पर्ने डाक्टरको सुझाब थियो । तर घरमा त्यो सबै सम्भव थिएन । मैले घरमा मान्छे राख्न कुरा गरें तर बा आमाले दिनुभएन ।

बिहानै उठ्नु घर सरसफाई गर्नु ब्रेकफास्ट तयार गर्नु लन्च तयार गर्नु कपडा धुनु पाहुनाको सत्कार गर्नु परिवारको मान मर्यादा राख्नु बजार धाउनु सबै सबै उनैले भ्याउनु पर्थ्यो । मलाई घरभित्रको काम केही नआउने भएकाले म यि सबै काम आफैं भइ रहेको छ भन्ने भ्रमको रोगी रहेछु । महिना एकदमै नजिक आइ रहेको थियो एक साँझ पुरै थाकेर उनले भनिन हमिद निकै गाह्रो भयो केही सोच न डियर म अब कुनै काम गर्न नसक्ने अबस्थामा पुगी सकें ।

यो अवस्थालाई त बुझिदेउ न । उनका आँखाबाट आशु चुहिन थाल्यो मेरो मन कुँडिन थाल्यो । बा आमाको खिलाफ जाउ भनेको हैन सम्झाउ । मेरो कुरा कसैले सुन्दैन घरमा मैले बोल्नै हुदैन काम गर्न सक्ने अबस्था छैन सहयोग कसैले गर्ने हैन । म पनि मान्छे हुँ मेरो लागि नभएनी पेटको बच्चाको बारेमा त सोच । कि हामी कायरो जाऔँ उतै बसौं म सक्दिन यहि तरिकाले यो घरमा बस्न ।

म बा आमालाई बहुतै प्रेम गर्छु उहाँहरूको कुनै कुरा नकारेको पनि थिएन शिवाय बिहे । कायरो जाने कुरामा मैले अतिमसँग सहमति जनाउन सकिन । म बाआमालाई छोडेर कुनै दोस्रो सहर जाने मनसायमा थिइन । यस्तोबेला अतिमको मन दुखाउन पनि भएको थिएन ।

उनलाई गाह्रो भएकै थियो । घरमा एक जना कामदार राख्ने कुरामा बा आमालाई कन्भिन्स त गराएं तर कामदारले काम ज्यादा भएको भनेर १५ दिनमै छोडिदीयो । लगत्तै भोलिपल्टै अतिम र म पहिलो पटक बा आमा बन्यौँ । यहि बेला थाहा भयो की घरको काम देख्दा जति सजिलो छ गर्नमा उतिनै कठिन । वास्तबमै हालत मान्छेको सबै भन्दा ठूलो गुरू रहेछ । मैले यो आत्मसाथ गरें ।

अतिमले हप्ता दिन पनि राम्रोसँग बेडरेस्ट गर्न पाइनन् । करिब साँढे दुइ बर्षमा एक पटक पनि आमा र दाजुको घर गइनन । जाने अबसर र अनुमतिनै मिलेन । भान्जी जन्मिएको खबरले उनको दाइ फायुम आए । बहिनीको हालत देखेर उनि साह्रै नमिठोसंग रोए । मैले छोरो मान्छे त्यसरी रुएको पहिलो पटक देखें । आमाले दाजुकै अगाडी अतिमलाई नानाभाती गाली गर्नुभयो त्यस्ले दाई झनै निरास देखिए । उनी खासमा बहिनी लिन पनि आएका थिए तर जाने भए फर्केर आउनु पर्दैन । मेरो छोराले यस्ता गवाँर भन्दा सयौं गुणा रूपवान धनवान र गुणवान केटी पाउछ । यस्लाई लगे हुन्छ उतै राख्नु पर्छ कि के गर्नु पर्छ । आमाको यस्तो बचन सुनेर दाई चुपचाप उठेर हिंडे ।

छोरि जन्मिएको दुई महिनापछि एक साँझ म उनको बेडमा गएँ । उनले प्रतिबाद जनाउदै थिइन तर मैले केही सुनिन । मेरो त्यो ब्यबहारबाट उनि निकै चिन्तितनिन् । म भित्रको म सकिन थालेको सुचक थियो त्यो । बिस्तारै यो क्रम बढ्दै जान थाल्यो म मा मान्छे हैन दानव प्रवृत्ति हावी हुन थाल्यो । उनीले प्रतिकार गरेको रुएको सुनेर मेरा इन्द्रियहरूले मजा लिन थाले ।

उनलाई रुवाउनकै लाथि आमाले भन्दा ज्यादा मैले सताउन थालें घरै कोलाहल बनाएर तमसा देखाउन थाले । उनी एक मुठीकी न थिइन तै पनि हात पात सुरु हुन थाल्यो । एक दिन बिहानै छोरी बोकेर उनि गायब भइन । पछि थाहा भयो मेनीया गएको । बिहे भइकन पहिलो पटक उनले घरछोडेर हिडींन । केही नभनि गएकोले मलाई यो कुरा उचित लागेन । बाआमाले पनि तेरी बुढि ठिक छैन यस्को अरु कोही साथी छ तँ नभएको बेला कुरा गरिरहन्छे भन्नुभयो । म प्रति बिग्रिदा गएको उनको ब्यबहारले मैले उनि माथी शङकाको अस्त्र प्रहार गर्न थालें । मैले उनको दाईलाई फोन गरेर घर पठाइदिन भने । उनी अरु दुइचार दिन बस्ने कुरा चल्दै थियो मैले हुदैन भनिदीएँ । उनी घर आइन ।

घर आएपछि मैले निकै टर्चर दिएँ उनको केही कुरा सुन्दै सुनीन बोल्नै दिइन । घरमा उनलाई बोल्नै प्रतिबन्ध लगाइयो । मैले उनको मोबाइल सबै चेक गरें फेसबुक म्यासेन्जर सबैबाट केटासाथीहरुलाई डिएक्टिभेट हुन लगाए । कतिलाई त मैलेनै फोन गरेर केरकार सुरु गरें । मेरो यो ब्यबहारबाट अतिम निकै बिक्षिप्त हुन लागिन् । दिनै रुने होस हवास नभएको जस्तो हुन लागिन् । घरमा सबैले उनलाई अलक्षिना भन्न थाल्यौ डाइनी भन्न थाल्यौ । हुँदा हुँदै छोरी पनि कस्को हो सम्म भन्ने अबस्था आए पछी उनिले मलाई घृणानै गर्न थालिन । तर राति उनलाई झन् बढी सताउन थाले । उनको चित्कार जति बढ्दै जान्थ्यो मेरो रोम रोम उति रोमान्चित हुदै आउथ्यो ।

एक दिन उनी भर्यांग पुछ्दै गर्दा आमा चिप्लिएर लड्नु भयो । आमाको पछाडि स्पाइनल कड पुरै ड्यामेज भयो । अप्रेसन गरे पनि ठिक हुन सकेन आमाको सबै कर्म बेडमै हुन थाल्यो । आमा लड्नुमा दोषी उनै देखिइन मैले त्यति बेला साह्रै नमजाले हात लगाएँ । अतिम साँच्चै घरको लागि अपसकुन नै भएको मेरो ठहर हुन थाल्यो । उनी आए देखी मार्टमा आगो लाग्यो मैले जिमखाना बेचीदिएं घरमा सबै बेखुसी आमाको यो हालत । यि सबै हुनुमा प्रमुख कारक तत्व उनकै आगमन देखियो । म झन उनीमाथि पोखिन थाले झम्टिन थाले ।

मैले कुलतका सबै सिमा पार गरिदीएँ । मदिरा सँगसँगै जुवातास र परस्त्रिको भोक ज्यादा बढ्न थाल्यो । अतिमबाट मेरो मन पुरै अघाएको महशुस हुन थाल्यो । जवानीमा पनि बल र रस हुन्जेल आर्षण हुँदो रहेछ । मान्छे ज्यादा वास्नामुखी भएपछि आत्मा र प्रेमको अवमूल्यन गर्दो रहेछ । मेरा बढ्दै गएका हर्कतहरुले अतिम निकै बिचलीत भइ सकेकी थिइन । रोगी सासुको स्याहर सुसारबाट पनि थाकेकी थिइन होला उता बालाई पनि सुगर र प्रेसर बढेको थियो । घरका सबै जनालाई बेग्ला बेग्लै भान्सा तयार गर्नु पर्थ्यो । सबैको रेखदेख एक्लैले भ्याउनु पर्थ्यो ।

ठुली छोरी सजिदा जन्मिएको १५ महिनापछी सानी छोरी अम्दाको आगमन भयो । अतिमले नारकिय जीवनको सबै स्वाद गहिरो संग भोगीन । अम्दा जन्मिएको भोलिपल्टै मैले अतिमलाई रक्सीको तालमा आएर पिटेछु त्यो दिन पहिलो पटक बा ले अतिमको पक्षमा उभिएर मलाई गाली गर्नु भयो ।तर म नशामा धुत थिए होसमा आउदा उनी रगतको आहालमा बेहोस थिइन ।

दिदी पनि आफ्मो घरबाट आइसकिछे मेरो त्यस्तो ताल र घरको बेहाल देखेर त्यसमाथी सुत्केरी अतिमलाई पिटेकोमा खुब दुख मानी रही । दिदीले पनि पहिलो पटक अतिमको पक्ष लिई । बा रोइरहनु भएको थियो दुइ दिनकी अम्दा रुएर बेहोस हुन लागेकी थिइ सजिदा डरले मेरो छेउ पर्दिन थिई । म के गर्ने के नगर्ने भएँ फेरी गएर रक्सीनै पिउन थाले त्यो दिन म घरै आइन । भोली पल्ट घर आउदा अतिम दुइटै छोरी लिएर आमाको घर गइछन । बा र दिदीले रोक्नु भएनछ घर उराठ थियो निर्जीब थियो ।

दिदी र बा ले एक्लो छोरो बिग्रीदै गएकोमा बहुतै दुःख ब्यक्त गर्नुभयो । घरमा अतिमको आवस्यकता र महत्वमाथी छलफल हुन थाल्यो । वास्तबमै उनी घरको मेरुदन्ड भएको निस्कर्ष निस्कीयो । उनी बिना घरको ढोका नखोलीने, अगेनो नतात्ने, कसैको हातमुख नजोडीने, बिरामी आमाको रेखदेख नहुनुको साथै गुहुमुतमै डुबेर बस्नु पर्ने सबै सबै काम उनी एक्लैबाट हुदै आएको तथ्य सबैमाझ उजागर भयो । काम गर्ने मान्छे कोही नपाइने पाइए पनि टिक्नै नसक्ने ।

कलेजमा सबै भन्दा ज्यादा बोल्नु पर्ने मान्छे, अन्या सहनै नसक्ने मान्छे, हक अधिकारको सबलमा सधैं आवाज छेडीरहने मान्छे धारप्रवाह बोल्ने कलाबाट परिचीत मान्छे एकाएक यस्तो ठिक उल्टो जिन्दगी बाँच्नु पर्दा पनि कुनै कदम नचाली सहने क्षमता कहाँबाट आयो उनीमा । एक दिन यी सबै कुरा सेचेर म हैरान भएँ तर मेरो बस बाट समय निकै दुर भागी सकेको थियो ।

उनी आमाको घर १५ दिन बसेर आइन । मैले छोरीहरू प्रति कहिलेयै चासो देखाइन । उनि माथी हातपात गर्न छोडे कमै बोल्न थाले । तर बानी यसै सुधार्न मुस्कील रहेछ बेला मौकामा नखाई नहुने जस्तो भइ जान्थे । स्त्री परगमन सबै भन्दा ठूलो नसा बनेर म भित्र झांगी सकेछ।

यसै सिलसिलामा फायुम घुम्न आएकी रसियन केटी अल्विनासँग सम्पर्कमा आएं । अल्विना पाँच दिनको लागी इजिप्ट आएकी थिइन । म यसै पिरामिडतिर मान्छेहरूको रमझम र रात्रीकालिन लाइट तथा साउन्ड सावर लिन निस्किएको थिएँ । उनी एक्लै आएकी रहिछिन् लोकल केटाहरूले नयाँ टुरिस्टहरुलाई अलि ज्यादै सताउछन यो इजिप्टकै नराम्रो रोगको रुपमा फैलिदै छ । मैले उनीहरूबाट छुटाएर लाइटहरूको रमझममा पुर्याए ।

उनी मप्रति आकर्षित भइन हामी बिच सबै कुरा आदनप्रदान भयो । मैले पुरै फायुम र कायरो घुमाउने बादा गरें हामी बिच घनिष्टता बढ्यो । उनी गएपछि पनि उनीसँग झन् मेरो आत्मिय सम्बन्ध मजबुद हुँदै गयो । हामी दुबै जना एकअर्कामा लिन हुन चाहन्थ्यौ ।

म अब अतिमसँग डिभोर्स गर्न चाहने भएँ । यो कुरा घरमा राखें । तिमीलाई भोग्न मात्रै मैले बिहे गरेको हो । अब तिमीसँग त्यो रस छैन जहाँ म हराइ रहन सकौँ । सबैले मलाई यो गलत हो भनेर सम्झाए । ढिलै सही अतिमको धैर्यता सहनशिलता र लगनशिलताले घरको वातवरण पग्लि सकेको थियो । साँढे दुइ बर्ष सम्म आमाले अतिमलाई यति धेरै सताउनु भयो त्यो कल्पना भन्दा बाहिरको कुरा थियो । मेरै आमा भित्र यति धेरै नकरात्मक चिज घरकी बुहारीमाथि होला भनेर मैले कहिल्यै सोचिन । एउटा दासलाई गरिने ब्यबहार भन्दा चर्को ब्यबहार उनी गरिब, काली र रूप नभएको बहानामा हरदिन खेपि रहन्थिन । उनी भोक लाग्दा खान पाउदिन थिइन प्यास लाग्दा पिउन पाउदिन थिइन बिरामी हुदा रेस्ट पाउदिन थिइन औषधी उपचार पाउदिन थिइन ।

न घाम न पानी न दिन न रात न आइया न आत्थो बेप्रपाह जीवनमा म संग बिहे गरेको एक गल्तीको सजाय भोगी रहिन । तर अहिले उनैले आमा हलचल गर्न नसक्ने अबस्थामा काखको छोरीलाई झैं प्रेम र स्नेहले स्याहार सुसार गरिरहीन । उनको यो लगाबले आमालाई सायद आत्मा ग्लानी हुँदोहो बर्रर आशु खसाउनु हुन्थ्यो । उनि अझ चिन्ता नगर्नुस ठिक हुन्छ हिम्मत हार्नु हुँदैन । मन र सोचाई नै मानिसको सबै भन्दा ठूलो औषधी र रोग हो भन्थिन आमाका आँखा झनै जलमग्न हुन्थे । आमाको मरुभूमी जस्तो मन पग्लिय र मेरो मन बद्लीयो ।

जे गर्नु छ गर्नु डिभोर्स हुँदैन उनले भनिन् बुबा र दिदीले पनि अतिमलाई नै साथ दिए । मेरो उदण्ड स्वभाव झन जाग्रित हुदै आउन थाल्यो । म अशल पति त बन्न सकिन तर छोरो र पिता पनि अशल हुन सकिन । मैले बालखा छोरीहरुकै समुन्ने अतिम माथी अभद्र ब्यवहारको बोर्डर क्रस गरिरहें । कसै गरी उनिबाट छुट्कारा पाउनु थियो । शंकाको मिथ्या तिरहरु बर्साइ रहें फेरी अर्को बाँण छोडें । मैले नसाको तालमा बा र अतिम माथी नै अनैतिक सम्बन्धको …..। बा बेहोसै हुनु भयो । मैले होसमा हुने डोजै दिएको थिइन । मेरा नजर आमाको आँखामा ठोक्किए पहिलो पटक बिरानो महशुस गरें मैले। मेरो त्यो दिनको बास घरमा भएन भोली पल्ट पनि मैले आफुलाई जुवाकै खालमा छोडीदिइ रहें रक्सीकै तालमा डुबाइदि रहें ।

पर्सीपल्ट साँझ पुन पाइला घरको नाप लिन अगाडि बढ्यो । घर सन्नाटमा डुबी रहेको थियो कतै केही चालचुल थिएन । मेरो आगमन आमाको त्यो एकान्त मौनताले थाहा पायो । म आमाको सामुन्ने उपस्थित भएँ एक लाचार उपस्थिती । आमाको कोठाबाट दुर्गन्धको यति चर्को गन्ध मेरा नाकहरुले कहिल्यै थाहा पाएका रहेनछन । घिन मानीमानी कोपरा साफ गरें रुम स्प्रे छरें र नाकलाई अलि सास्तीबाट जोगाएँ ।

म आमालाई औधी प्रेम गर्छु किन गर्छु थाहा छैन तर आमासँग मेरो प्रेम छ । तर पनि यो प्रेम कस्तो ? आमा बिरामी भएको दुइ बर्ष पछी पहिलो पटक म आमाको यति नजिक भएर काम गरिरहेको छु । प्रोम ब्यबहारमा उतारिनु पर्ने तर मनकै तलाउमा मात्रै सिमित भइ रहयो। उसो त म ब्यबहारिक नै कहाँ थिएँ र भावनात्मकनै कहाँ थिएँ र ? म भित्र त सबै असुरी चिजहरुको आत्मा जागृत भइरहेको थियो । म स्वरुपमा मात्रै मान्छे थिएँ ।

खोइत घरमा कोही छैन रु आमाका आँखाहरु ओसीला हुदैँ आए बोलीमा भक्कानो गुजिल्टीन थाल्यो । धन्न त्यो दिन म होसहवासमै घर फर्किएकोले सबै महसुस गरि रहेको थिएँ । आमाको आवाजले बिस्तारै गति समात्यो । हस्पिटल गएका छन आमाले भन्नु भयो । के भयो बालाई रु बालाई हैन अतिमलाई ।

के भएछ ? मेरो उपेक्षित स्वरले आमालाई दुखेको महशुस भयो ।

अतिम धेरै रोइ । अस्ति रातै भरि रोइ हिजो दिनै भरी । मैले बा ले कति सम्झाइम तर उ रुन छोडीन । मैले पहिले त्यत्रो दुःख दिंदा पनि उ कहिल्यै रुदिन थिइ तैले पहिले पहिले पिट्दा नाना भाती भन्दा नि कहिल्यै यसरी रोएको देखिन । रोएकी थिई सजिदा माथि नै प्रश्न उठाउदा पनि तर यति धेरै हैन । भन्दै थिई हमिद यति तल्लो स्तरमा झर्ला र यति ठूलो पाप चिताउला मैले कहिल्यै सोचिन् । सधैं पोजेटिभ सोच राख्नु पर्छ भन्दा भन्दै आज म हारें । अल्लाहले सायद यो घर मेरालागी निर्माण गरेका हैनन । म सबैले भने झैं यो घरको अपसगुन नै रहेछु । यति सानो परिवार हुँदा पनि एकै साथ कसैलाई खुसी पार्न सकिन । सपनामा सजाएको थिएँ एउटा सुन्दर घर सुन्दर परिवार सुन्दर जीवन । सबै चिज सपनामा सोचे जस्तै भयो तर सुन्दर केही भएन । सबै चिज दिए अल्लाहले तर सुख र खुशी दिएनन ।

मैले आमा ठिक भएको हेर्न पाइन अब । गल्ति भयो आमा म यो घरमा बुहारी भएर आउन । मेरै कारणले तपाई यो दुखको सागरमा आइ पुग्नु भयो मेरै कारणले यो घरमा खुशीको दियो सल्किन पाएन, मेरै कारणले तपाइहरुले सोचे जस्तो बुहारी ल्याउन पाउनु भएन, मेरै कारणले हमिद अरुनै संग बिहे गर्न हर प्रयास गरिरहेछ । मेरो एउटै गल्ति भयो यो घरमा बुहारी भएर आउनु र फेरी छोरीहरु जन्माउनु झन अर्को गल्त भयो । गल्तीको सजाय यति चर्को होला सोचेकै थिइन ।

म टुहुरीले ससुरालाई कहिल्यै ससुरा जस्तो मात्रै सोचिन र देखिन । सधैं बा नै सम्झे र एक छोरी हुने हर सम्भव प्रयास गरें तर बा मेरो भागमा लेखेकै थिएन । आज यी बुडा बासँग हमिदले यति तल्लो स्तरको आरोप लगाउला मैले कसरी सोच्न सक्थें ।

मेरो मन भाँचियो । म हमिदलाई कहिल्यै माफ गर्न सक्दिन । उस्ले चाहेको सबै पुगोस म उस्को जीवन बाट पन्छिनुनै उचित देखें मैले । उसका रहरहरू पुरा गर्न सकिन मैले । चाहेको भए यो घरमा म अर्कै तरिकाले बस्न सक्थें आफ्नो हक अधिकार जसरी पनि लिन सक्थे तर मैले परिवार चाहें परिवारको माया चाहें । प्रेमले सबै चिज बदल्न सकिन्छ भन्ने मान्यता मै अगाडी बढी रहें । युद्ध केबल बिनासको बाटो हो प्रेम एक मात्रै त्यो चिज हो जो बाट सृजना सम्भव छ । यही सोचेर प्रेमले सबैको मन जित्न चाहें तर सकिन ।

कहीं कतै म बाटै चुक हुन पुग्यो । गल्ती नचाहादा नचाहदै हजार गरें होला म माफी चाहन्छु बा आमाबाट । उस्का आँखा पुरै सुनिएका थिए राता राता थिए । बा लाई औषधी पानी ख्वाई मलाई पनि ख्वाई मेरा सबै सरसफाई गरी र आमा माफ गर्नु है यो टुहुरीलाई भन्दै आफ्नो कोठा भित्र गइ ।

निकै बेर बा म संगै बस्नु भयो । बाको मन नमजाले कुँडियो । छोराछोरी हुनु ठूलो कुरा हैन रहेछ उनिहरुलाई सहि दिशा निर्देस गर्न सकिएन भने झन ठूलो दुख रहेछ । बोरु नभकै भए नी हुने यस्तो हुनु भन्दा । एउटा छोरो भनेर सबथोक पुरा गरियो अहिले त्यही छोराले मरेको जुनी बनाईदियो । त्यस्को मुख हेर्दीन म अब । बा ले मन दुखाए हमिद । किन यस्तो आरोप लगाइस बाबु रु

किन हो राती झगडा गरी सजिदाले आमासँगै सुत्छु भनेर । बाले फकाउन सक्नु भएन र अतिमको कोठा तिर जानु भयो तर ढोकै खुलेन अतिमको । निकै बेर नखुले पछी शंका लाग्यो कतै केही पो गर्न लागीकी भनेर । बा ले ढोका फोडेर भित्र जाँदा त अतिम सक्किन लागेकी रछे । उस्ले भए भरको औषधी एकै पटक खाइछे । छ महिना देखी मानसिक परामर्श लिदै र औषधी खाँदै आएकी रैछे हामी कसैलाई थाहै थिएन । सधैं मलाई ढाडस दिन्थी सब ठिक हुन्छ मन हार्नु हुदैन भन्दै तर अन्तिममा उसैले मन हारी ।

जब मेरो गुहु मुत एकै ठाउँमा हुन थाल्यो र कहिले सम्म यो अबस्था हो भन्ने पनि निस्चीत नहुँदा बाँच्न बाट मन हटेको थियो मेरो । कति पटक मलाई पैजन ल्याइद्याओ भनेर बा र अतिमलाई भनें तर उल्टै सम्झाई रहे । म हुन्जेल यस्तो कहिल्यै नसोच्नु आमा सब थोक ठिक हुन्छ भन्थी । सबैलाई थाहा छ म कहिल्यै ठिक हुन सक्दिन तर पनि अल्लाहामा भरोसा गर्नुस आमा भरोसानै जीवन जिउने एक मात्रै कडी हो यस्लाई भत्किन दिनु हुँदैन भन्थी ।

तैंले यस्तो मिथ्या आरोप कसरी लगाउन सकिस बाबु ? यो पापीनीको कोखलाई यति ठूलो बदनाम किन गरिस् ?

शरिर त अपाहिच थियो थियो तैंले त मनै पनि अपाहिच बनाइदिइस्। तैँले हामी सबैलाई एकै साथ मारिदिइस् अब एउटा सहयेग गर बाबु म अरु चर्तिकला हेर्न सक्दिन यो पापीनीको प्राण झिकिदे छोरा ।

मलाई पैजन ल्याइदे म अरु बाँचेर यहाँ कसैलाई केही फरक पर्दैन । म हुनु भन्दा नहुनु उचित छ । आँखै अगाडि तँ बिग्रेको म हेर्न सक्दिन मेरो छोरा । त्यो टुहुरीलाई धेरै नसता त्यो पनि मान्छे नै हो । अझ मान्छे भन्दा माथी हो । सबथोक सहि सहनै नसक्ने भए पछी अरु उपाय पनि त नहुदो रहेछ । के गर्नु दुखी कर्म रछ त्यो अतिमको कहिल्यै सुख भोग गर्न पाइन यो घरमा आए देखी ।

बुद्धीमान मानिसहरु अरुको देखेरै पढेरै धेरै कुरा बुझ्छन । तर हामी तुच्छ मानबहरु आफुलाई नपरी केही बुझ्दा रहेनछौ । पिडा के हो दुख के हो यो दुइ बर्षमा धेरै ब्यहोरे । आफुलाई पिडा हुँदा त अरुको दुखाइ पनि महशुष हुँदो रहेछ । अतिमलाई तैले दिएको पिडाले मेरो छाति जल्छ । मैले गरेका पुराना दिनहरुका ति हर्कत ताजा हुन्छन् ।

तैले मलाई झन आत्मग्लानीको अग्निमा हालिदिस् । तैले सुत्केरी बुहारीलाई समेत आफ्नो यौन कुण्ठाको ज्वालाले भष्म पारिदिइस्। अन्ततः म पनि एक महिला नै हुँ न महिलाको त्यो बेदनाले मलाई पनि बगाउदो रहेछ । तँ यसरी नजिक आउँदा पनि मलाई डर लाग्छ । तँलाई आफ्नै छोरो भन्न पनि मलाई डर लाग्छ ।

जब एक मात्रै आफ्नो छोराको कारणले एक निरिह बृद्ध बाउ अपाहिच आमाको सामुन्ने आँशु झार्दछ र ति आँशु पुछ्न आँखा सम्म यि हातहरु नपुग्दा सारा संसार आफ्नै आँखा अगाडि डुब्दै गरेको महशुस हुँदो रहेछ । बिन्ती छ छोरा तँ मेरै छोरो होस भने मेरो प्राण झिकिदे बाबु म यो सब देखेर अरु बाच्न सक्दिन । पिडा हुदो रहेछ पिडा आफ्नै प्रिय सन्तानका कारणले आफ्नै अगाडी लोग्ने धुरुधुरु रोएको दृष्य हेरिरहनु पर्दा ।

राती आठ बजेतिर उनको डिस्चार्ज भयो । बा र उनको दाईले अतिमलाई लिएर घर आउनु भयो । उनलाई बोलाउन चाहें तर हिम्मत पलाएन म मा । उनि सरासर आमा भए ठाउँमा गइन आमाले बर्रर आँशु झार्नु भयो । मलाई मारिदेकी भए नि हुने थियो बरू । उनले आमाको मुख थुनिदिन । म छेउमा गएँ तर उनि तर्कीदै कोठातिर जान लागिन् । एकछिन बस मैले भने उनैले भनिन म तिमीलाई माफ गर्न सक्दिन हमिद । तिमीलाई जे मन लाग्छ गर तर मसँग नजिक हुन नखोज अब । डिभोर्सनै चाहिएको हो भने पनि कागज तयार गर म सहि गरिदिन्छु ।

मलाई तिम्रो एक सुको सम्पती पनि चाहिएको छैन । म तिम्रो सम्पति देखेर आएकी हैन तिमी भनेर आएकी थिएँ तर अब जुन हमिदसँग मैले बिहे गरेर आएँ तिमी त्यो हमिद रहेनौ । समय परिवर्तनशिल छ म मान्छु । समयको कामनै परिवर्तन हुने हो तर तिम्रो परिवर्तन अधोगतीउन्मूख छ र यस्को शिकार अब म हुन सक्दिन मेरा छोरीहरु हुन सक्दैनन ।तिमी मेरो नजिक हुनु परेको छैन । तिम्रो सामिप्यता मलाई दिगमिग लाग्न थालेको छ ।

भन्छौ भने अहिले यो राति नै घर छोडिदिन्छु । तिमी नै बस तिम्रो घरमा । तिम्रा सबै रहर पुरा हुन जो मैले गर्न सकिन । सक्छौ भने मलाई जस्तो अन्याय पूर्ण ब्यबहार अरुमाथि नगर यो मेरो अनुरोध हो । मैले पनि जानी नजानी गल्ति गरें होला तिमीले माफी दिनु पर्दैन र म पनि तिमीलाई माफ गर्न सक्दिन । उनी आफ्नो कोठामा पसिन म भव शुन्य भएँ ।आमा निकै शिथिल देखिनुभयो । मैले अतिमको दाई र बासँग नजर मिलाउन सकिन ।

मैले त्यही रात घर छोडेर कायरो आएँ । भोलिपल्ट अल्बिनासँग सम्पर्क गरेर हप्ता दिन पछि रसिया गएँ । तीन महिना त्यहाँ बसेर अल्विनासँगै म कोरिया आइ पुगे । कोरिया आको दुइ साल भयो यो दुइ सालमा जीवनका ति रङ्ग चिने जुन चिन्नु आवस्यक थियो । कोरिया नआएको भए यी सबैकुराहरू प्रति मेरो चेत खुल्ने थिएन । परिवारको आवस्यकता र महत्वबारे सधैं अनविज्ञ रहने थिएँ ।

सो साल झन बढी घर सम्झें । गएको डिसेम्बरमा अचानक म निकै बिरामी परें । म बिरामी हुँदा आफु भन्दा ज्यादा प्रेम गरेकी अल्बिनाले फ्ल्याटमा अर्को केटा साथी ल्याएर बसिन् । यसो गर्नु ठिक हैन भन्दा मेरो जीवनमा दखल अन्दाज गर्न तिमीलाई कुनै अधिकार छैन भनिन् । मेरो प्रेम प्रतिको भ्रम टुट्यो । म त्यसपछि थेगु आएँ अहिले यी चार महिनामा मेरो अल्बिनासँग केही सम्पर्क छैन । म चाहन्न उनीसँग फेरी कुनै सम्पर्क स्थापित गर्न । म त चाहन्छु अतिमसँग माफी माग्न तर त्यस्को योग्य पनि म हुन सकिन ।

मैले गएकै साल भनेको थिएँ । हमिद, तेरो बितेको जीवन सुन्दा निकै दुखी भएँ म जो अतिम माथी तेरो निकृष्ट व्यवहारले लगतार बाउन्ड्री पार गरे । खुशी यो कुराको हो कि आफुलाई झाँक्ने प्रयास गरिस र बितेकादिनहरुमा तैले आफैंलाई गलत पाइस । अझै झाँक आफूलाई तर परस्त्रीगमनको बाटो त्याग र अतिमले झैँ तैले पनि अतिमप्रति श्रद्धा राख ।

अहिले पनि मैले भनें, तँ माफी गर्न योग्य पात्र हैनस जो आरोपहरुको ज्वालाले अतिमको मन डढाइस । तर पनि मान्छेबाटै हुने हुन् गल्तिहरू। आफु भित्रको सैतानी शक्तिलाई पूर्णरूपमा निस्तेज पार पहिले । जति सक्दो छिटो अतिमसँगको सम्पर्क स्थापित गरिहाल । सबैसँग माफी माग प्रयास्चित पनि परिणाम देखिने गरि गर जो तँ सुध्रिएको अनुभव घरपरिवारले प्रत्यक्ष गर्न सकोस । टाढा भएर सम्बन्धहरू मजबुत हुदैनन् । सम्बन्धमा जरुरी छ हरपलको झुकाब र निरन्तर सम्पर्क । तर गल्तिहरू बारम्बार दोहोरिनुले सम्बन्ध कहिल्यै मजबुत हुदैन ।

मरुभूमीका महिलाहरूसँग त्यो क्षमता छ जो तँलाई माफ गर्न सक्छन् । मरुभूमिका महिलाहरूसँग त्यो क्षमता छ जो अनन्तकाल सम्म प्रतिक्षा गर्न सक्छन । फातिमा जो सान्टियागोलाई पर्खिने कुनै निर्धारित बिन्दु नहुँदा पनि पर्खिएर बसेकी छ । उस्को विश्वास यति मजबुत छ कि त्यो मरुभूमीको आँधीले पनि पुर्न सक्दैन । उस्को सान्टियागो अवस्य एकदिन फर्कीने छ । तँ हमिद बन मात्रै अतिमको हमिद । उनि मरुभूमीकी देवी हुन जो जीवन भरी मरुभूमी बाँचेर आफ्नो हमिद पर्खि रहेकी छिन जो अल अजर विश्वबिद्यालय तिर थियो । तैले आत्मै देखी चाहिस भने हुन सक्छ तेरो इच्छा पुरा गर्न ब्रमाहन्ड नै झुकिदिने छ ।

हमिदलाई उस्कै लोकमा छोडेर हामी तिनथान मानब आकृति फेरी अमरापुरीका गलिली तिर कक्टेलको नविन स्वाद चियर्स ठोक्किन हिँड्यौ । यतिबेला पुरा पुरा ब्रमाहन्ड हाम्रै चाहनामा लिप्त छ ।

प्रतिक्रिया

सम्बन्धित खवर