✍️ राधिका गुरागाइँ

शब्द शब्दमा पोखिएका रङ्गहरू जस्तै
जीवन परिवेशमा भोगेका शिशिर र बसन्तजस्तै
कहिले नटुङ्गिने अन्त्यहिन यात्रा
सधैँ सधैँ घाम र जुन झैँ लाग्छ

उज्यालो हुनु अगावै
देखेकी थिए मनका आँखाले
घामका सुनौला किरणहरू
फक्रनु अगावै बोटहरू सुम्सुम्याउदै गर्दा
अनुभूत गरेकी थिए
फूलका सुन्दर महकहरू

बिहान नछिप्पिदै
हाल्दोरहेछ फूलले सुगन्धको बिस्कुन
अधेरो भित्रिनु अगावै
छर्दोरहेछ साँझले आकाशको चुल्ठोमा सिम्रिकको श्रृङ्गार

आवाजहरू जसरी प्रतिध्वनित हुदा
त्यहीँ ध्वनिबाट निस्कन्छ झङ्कारका गीतहरू
जब ओर्लन्छन् आकाशको भर्याङबाट
गतिशील पाईलाहरू
अनि बज्न थाल्छ
सङ्गीतमय जीवनको ईन्द्रणी र
बैशालु रहर फुल्ने यौवनको गीत

त्यहीँ जुन र घामसँग सोध्ने गर्छु
कहिले उघारिन्छ बिश्वासको बसन्त र
कहिले हुर्कन्छ बञ्जर छातीमा
सिम्फोनिकको धुन !

प्रतिक्रिया

सम्बन्धित खवर