✍️ सुन्दरी घिमिरे खतिवडा

मुक्तक – एक

भदौरे झरीमा पहिरोले बाटो रोकेको सम्झन्छु
हातमा कुटो पिठ्युँमा कोक्रो बोकेको सम्झन्छु
भीर र पाखाको त्यो यात्रा टाढाको थियो आमा
तिम्रो खाली पाउमा कमिलाले टोकेको सम्झन्छु।।

मुक्तक – दुई

पँधेरा, कुवा र धारा बिर्सेको छैन
परिश्रम गर्ने पारा बिर्सेको छैन
उज्यालो दिनपछि आउने रातमा
जून लागे पनि तारा बिर्सेको छैन।।

मुक्तक – तीन

रङ्ग रूपमा लठ्ठ पर्यो मन परायो
दुईवटा मुटु एउटै पार्ने बाचा गरायो
आफ्नो स्वार्थ पूरा नहुने बुझेपछि
मन मुटु दुबैबाट कता हरायो हरायो।।

मुक्तक – चार

कहाँ दुख्छ यो घाउ नभन्दिए हुन्थ्यो
कति बसेछ खाटा नगन्दिए हुन्थ्यो
शितल पार्ने मलम कतै नहुँदा
फेरी खोप्ने मेसिन नबन्दिए हुन्थ्यो।।

मुक्तक – पाँच

सजाउने कला भए जिन्दगी रङ्गिन फूल बनिदिन्छ
जताततै बिछ्याउने सम्भावनाको तूल बनिदिन्छ
भाग्यको प्रतिक्षामा रुमलिँदै कर्मको कलम बिसाए
भित्री आँखाको ज्योति हराई जिन्दगी भूल बनिदिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर